अन्तर्राष्ट्रिय विमानस्थल फेरि २१ घण्टा खुल्ने

२०७६ असार ५ बिहीबार १२:१६:०० मा प्रकाशित

काठमाडौं, ५ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई पुनः दैनिक २१ घण्टा संचालन गर्ने तयारी भइरहेको छ ।

विमानस्थलको रनवेको पुनर्निर्माण कार्य सकिन अब करिब १० दिन जति लाग्ने भएकाले आगामी असार १५ देखि नै विमानस्थल २१ घण्टा संचालन हुन लागेको थाहा भएको छ ।

नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुँदै आइरहेको छ । हाल राती १० बजे देखि बिहान ८ बजेसम्म उडान पूर्णरुपमा रोकिने गरिएको थियो । अबको १० दिनपछि अर्थात् असार १५ देखि नै विमानस्थल दैनिक २१ घण्टासम्म संचालन हुने बताइएको छ ।

विमानस्थलको पुनर्निर्माण कार्य चिनियाँ कम्पनीले गर्दै आएको छ । चाइना नेशनल एरो टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङ कर्पोरेशक (सीएनएआईईसी) नाम उक्त कम्पनीले गरेको यस कार्यको लागत तीन अर्ब ७८ करोड रुपैयाँ छ ।

यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा बेलाबेला खाल्डाखुल्डी पर्ने र त्यसले गर्दा विमानहरूलाई उडान र अवतरण गर्न समेत समस्या हुँदै आएको थियो। त्यस्तो बेला धावनमार्गलाई टालटुल गरेर फेरि उडान नियमित गर्ने गरिएको थियो।

समस्या बढ्दै गएपछि गत एप्रिल १ देखि धावनमार्गको पुरानो कालोपत्रलाई फालेर नयाँ कालोपत्र गरिएको छ ।

रनवेको काम सकिएको एक महिनापछि नयाँ ट्याक्सी वे र पार्कीङ वे निर्माण गर्ने योजना रहेको विमानस्थलले जानकारी दिएको छ । आगामी सेप्टेम्बर १ देखि उक्त निर्माण कार्य शुरु गर्दा फेरी रातीको समयको उडान प्रभावित हुने बताइएको छ ।

त्यसबेला अहिलेको भन्दा कम अर्थात् राती ११ः३० देखि बिहान ६ः३० सम्म (कुल ७ घण्टा) मात्र बन्द हुने बताइन्छ । नयाँ बनाइने पार्किङ वे मा दुईवटा वाइडबडी जहाज र एउटा ७२ सिटे एटीआर जहाज अट्ने जानकारी दिइएको छ ।

हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक १ सय अन्तर्राष्ट्रिय र ३ सय आन्तरिक उडान संचालन भइरहेको छ । पुनर्निर्माण कार्य सम्पन्न भएसँगै विमानस्थलको भिडभाड कम हुने बताइएको छ । नयाँ पार्किङ वे निर्माण भएपछि विमानस्थलको क्षमता पनि बढ्ने जानकारी दिइएको छ ।

 

ताजा खबर