के हो फेसबुकले ल्याउन लागेको डिजिटल मुद्रा लिब्रा ?
फेसबुकले अर्को वर्ष लिब्रा नाम दिइएको एउटा नयाँ डिजिटल मुद्रा सुरु गर्ने योजना सार्वजनिक गरेको छ । उक्त सोसल मिडिया कम्पनीका अनुसार त्यस्तो मुद्रामार्फत् मानिसहरूले उसको आफ्नै एप्स तथा ह्वाट्सएपबाट आर्थिक कारोबार गर्न सक्नेछन् ।
भविष्यमा उबर र भिसाजस्ता कम्पनीले समेत त्यसलाई स्विकार गर्न सक्ने फेसबुकले बताएको छ । फेसबुकका अनुसार इन्टरनेटको पहुँचमा भएका र स्मार्टफोन बोक्ने सबैले लिब्रा प्रयोग गर्न सक्नेछन् ।
चासो
मानिसहरूले पैसाको बचत, लेनदेन र खर्च मोबाइलमा मेसेज पठाए जसरी नै सहज तरिकाले गर्न सकुन् भन्ने आफूहरूले चाहेको फेसबुकले बताएको छ । डिजिटल मुद्रा अस्थिर हुनसक्ने भन्दै कतिपयले चिन्ता व्यक्त गर्ने गरेका छन् ।
फेसबुकले भने अहिले प्रयोगमा रहेका बिट क्वाइन जस्ता डिजिटल मुद्राका अनुभवबाट सिक्दै लिब्रालाई परिष्कृत गरिने बताएको छ । त्यसलाई स्वतन्त्र रूपमा व्यवस्थापन गरिने र वास्तविक सम्पत्तिसँग जोड्ने उसको योजना छ ।
साझेदार
गुगल पे, एपल पे र सामसङ् पे जस्ता भुक्तानी सेवा बजारमा आइसकेको अवस्थामा फेसबुकको त्यस्तो भुक्तानी सेवासम्बन्धी योजना बाहिर आएको हो । फेसबुकले भनेको छ- "कालान्तरमा हामीले मानिस र व्यवसायलाई थप सेवाहरू दिने अपेक्षा राखेका छौं । जस्तो: एउटा बटन थिचेर बिल तिर्ने, कोडको स्क्यान गरेर कफी पिउने अथवा नोट नबोकिकनै सार्वजनिक यातायात वा रेल चढ्ने ।"
भुक्तान गर्न 'न्यूनदेखि शून्य' खर्च हुने बताइएको छ । लिब्रालाई अरू कसले स्विकार गर्नेछन् ?
- मास्टरकार्ड र पेपालजस्ता भुक्तानी सम्बन्धी कम्पनी
- इबे, स्पटिफाई र उबरजस्ता डिजिटल व्यवसायका कम्पनी
- भोडाफोनजस्ता दूरसञ्चार कम्पनी
बजार
फेसबुकले लिब्रालाई खासमा बैंक खाता नहुने विश्वभरका १.७ अर्ब युवाहरूलाई लक्षित गरिएको बताएको छ । यस्तो मुद्रा विश्वव्यापी हुने र लिब्रा प्रयोग हुने एप्स र सेवा सम्बन्धित देशका नियम कानुनसँग जोडिने बताइएको छ ।
अमेरिकाले यो मुद्रा सुरुवातका लागि सकारात्मक सङ्केत दिए पनि त्यसबारे कडा नियमन थालिएका भारतजस्ता ठूला बजारमा के हुने भन्ने निश्चित छैन । मे महिनामा सार्वजनिक गरिएको एक रिपोर्टका अनुसार मुद्रा सार्वजनिक हुँदा १२ वटा बजार मात्र त्यसको लागि तयारी अवस्थामा हुने देखिएको छ । डिजिटल मुद्राको बजारमा जान लागेको यो फेसबुकको पहिलो अभ्यास भने होइन ।
एक दशकअघि नै उसले 'फेसबुक क्रेडिट्स' सुरु गरेको थियो जसले सामाजिक सञ्जालहरूमा एप्समार्फत सामग्रीहरू किन्न सघाउँथ्यो । यद्यपि फेसबुकले उक्त काम खासै सफल नभएपछि दुई वर्षभन्दा कम समयमै बन्द गर्यो । एजेन्सी