ओली बिरोधी मोर्चा कस्दै नारायणकाजी

२०७६ जेठ ३२ शनिबार ०७:४२:०० मा प्रकाशित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा एकीकरणको एक वर्ष एक महिना बित्न लागेको छ । तर, अहिलेसम्म पार्टी एकताले पूर्णता पाउन सकेको छैन । दुई पार्टीका गरी बनाइएका चार सय ४१ सदस्सीय जम्बो केन्द्रीय समितिको बैठक एकपटक भन्दा बढी बस्न सकेको छैन । केन्द्रीय समितिको एकतिहाई सदस्य कायम गरेर बनाइने १ सय ४७ सदस्सीय पोलिटव्युरो गठन गर्न नसकेर नेताहरु हैरान भएका छन । पोलिटव्युुरोमा पर्न नेताहरुको दौडधुप यतिसम्म चर्केको छ कि यसले पार्टीमा बढिरहेको गुटलाई बढवा दिइरहेको छ ।

बास्तवमा भन्ने हो भने नौ सदस्सीय सचिवालय बाहेकका स्थायी समिति र केन्द्रीय समितिका सरकारी सेवा सुबिधा पाएका बाहेक सबै नेताहरु ‘बेरोजगार’ छन । पार्टी सञ्चालनमा महत्वपूर्ण हुने ठानेर बनाइएका ३२ वटा विभाग अहिले आफैं बेखवर छन । जनबर्गीय संगठनमा संयोजक र सह–संयोजक तोकिएको भएपनि केन्द्रीय समिति निर्माण हुनसकेको छैन । जनबर्गीय संगठनको सचिवालय गठन झनै पेचिलो बनिरहेको छ । त्यहाँ गुट–गुटको लडाईंले मारामारको अवस्था रहेको बताइएको छ । यहि पार्टी भित्रको भद्रगोलको अवस्था छोडेर यतिबेला पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नौ दिने युरोप भ्रमणमा निस्केका छन । आगामी असार १ गते प्रधानमन्त्री ओली स्वदेश फर्किएपछि नेकपाको एकता प्रक्रिया टुंगोमा पुग्न छिटोमा असार महिनाको पहिलो साता पुग्ने देखिएको छ ।

त्यसो त एकता टुङ्ग्याउन प्रधानमन्त्री ओली युरोप भ्रमणमा निस्कनु अघि तीनदिनसम्म प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालयको बैठक बसेको थियो । तर दोहोरो जिम्मेवारीका बिषयमा कुरा नमिलेपछि बैठक निष्कर्षमा पुग्न सकेको छैन । प्रधानमन्त्री ओली दोहोरो जिम्मेवारी दिने पक्षमा रहेको तर, नेता माधवकुमार नेपालले दोहोरो जिम्मेवारी दिन नहुने अडान राखेपछि बैठकबाट निष्कर्ष निस्कन नसकेको बताइएको छ । प्रधानमन्त्री ओली र नेपालबीचको बिमतिमा अर्का खेलाडी पुष्पकमल दाहालले ‘गोल’ हानिरहेको नेकपामा चर्चा व्याप्त छ । बिशेष गरी पछिल्ला दिनमा ओलीसँग असन्तुष्ट बनेका पाचौं बरियताका सचिवालय सदस्य वामदेब गौतमले एक व्यक्ति एक पदको मुद्दा जोडदार रुपमा उठाइरहेका छन । यसले सवैभन्दा बढी प्रधानमन्त्री ओलीलाई अप्ठयारो पारिरहेको छ ।

पार्टीमा यो मुद्दा स्थापित भएमा ओली निकट मानिएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री अथवा पार्टीको प्रदेश इञ्चार्जमध्ये एक पद छोडनुपर्ने हुनसक्छ । दोहोरो जिम्मेवारीको बिषयमा बढी नै पेल्न थालेपछि प्रधानमन्त्री ओलीले गत जेठ १८ मा पुगेर पार्टी एकता भाड्नेहरु सकृय भएको उजागार गरेका थिए । बिषेशगरी अर्का अध्यक्ष दाहालले प्रधानमन्त्री बाँडफाँडका बिषयको कुरा उठाएपछि प्रधानमन्त्री ओली ‘रुष्ट’ बनेको बताइएको छ । दाहालले यो बिषय उठाएपछि ओली निकट सातौ बरियताका सचिवालय सदस्य एंव उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले पार्टीको बैचारिक नीति जनताको बहुदलिय जनवाद हुनुपर्ने र अध्यक्ष र प्रधानमन्त्री एकै व्यक्ति हुनुपर्ने धारणा सार्वजनिक गरेका छन् । जसलाई पूर्व माओवादी र पूर्व एमालेकै धनश्याम भुषाललगायतका नेताहरुले पचाइरहेका छैनन् । यसले पनि नेकपाभित्र एकता प्रकृया टुङ्गोमा नपुग्दै आन्तरिक गुटबन्धी कसरी मौलाइरहेको छ प्रष्ट हुन्छ ।

नेकपामा गुटगत प्रवृति हावी भइरहदा छैठौँ बरियताका सचिवालय सदस्य तथा प्रबक्ता नारायणकाजी श्रेष्ठ भने पार्टी अध्यक्ष तथा प्रधानमन्त्री के पी शर्मा ओली इतरको मोर्चाबन्दी कस्न लागिपरेको थाहा भएको छ । प्रबक्ता श्रेष्ठले यो मोर्चाबन्दीमा पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, रामबहादुर थापा वादल र आफूलाई समाहित गराउन खोजेको समाचार स्रोतले बताएको छ ।

प्रबक्ता श्रेष्ठ निकट स्रोतका अनुसार यो मोर्चाबन्दीका लागि पटक पटक उल्लेखित नेताहरुबीच वार्तालाप गराइसकेका छन् । पार्टी प्रबक्ता भएपनि पार्टीको विचार खासै सम्प्रेषण नगरिरहेका श्रेष्ठले आफू निकट कार्यकर्ताहरुसँग प्रधानमन्त्री तथा पार्टी ओली र अर्का अध्यक्ष दाहालको चर्को आलोचना गर्ने गरेका छन् । यद्यपी, अब दाहाल र माधव नेपाल मिलेर अघि बढ्दा मात्रै नेकपाको साख जोगिने धारण श्रेष्ठले राख्ने गरेका छन् ।
ओली इतरको मोर्चाबन्दी कस्न पटक पटक गोप्य भेला गरिसकेका श्रेष्ठले भन्ने गरेका छन्–‘प्रचण्डमा रहेको नयाँ विचार बोकेर छलाङ मार्ने क्षमता माधव नेपालमा रहेको संस्थागत पद्दतीमा चल्ने गुण झलनाथ खनालमा रहेको वैचारिक शालिनता, वामदेव गौतमको दृढता, रामबहादुर थापामा रहेको भद्रता र सांगाठनिक क्षमता र मेरो नयाँ विचारसहितको गतिशीलतालाई जोड्ने हो भने मात्र नेकपा साच्चैको कम्युनिष्ट पार्टी बन्छ । नभए यो कतै विघट्न तर्फ जाने त होईन भन्ने चिन्ता छ ।’

केही दिन अघि आफू निकट नेता तथा पत्रकारसँगको भेटमा प्रबक्ता श्रेष्ठले पार्टी अध्यक्ष ओली जति प्रधानमन्त्रीमा टिकिरहन्छन् त्यति नै पार्टी र मुलुकलाई घाटा हुने विश्लेषण गरेका थिए । उक्त भेट उधृत गर्दै स्रोतले भने अनुसार त्यसबेला प्रबक्ता श्रेष्ठले केपी ओलीमा विचारको बहस समाप्त भइसकेको पार्टी सञ्चालन पद्दतीमा पूरै एकात्मक सामन्तबादी चरित्रको र गुट मात्र होईन उपगुटमार्फत पार्टी मात्र होईन पूरै देश सञ्चालन गर्न खोजेको विश्लेषण गर्दै भनेका थिए–‘त्यसैले ओलीलाई जतिदिन सरकारमा राखिन्छ त्यति नै पार्टी मात्र होईन देशै बरवाद हुनेवाला छ । किनभने उनको सामन्ती राष्ट्रवादी धोती खुस्किएको छ । त्यसैले मैले प्रचण्ड र माधव नेपाललाई मिलाउन खोजिरहेको छु । यसमा तपाइँहरुले सहयोग गर्नु होला ।’

प्रबक्ता श्रेष्ठले त्यसवेला माधव नेपाल पद्दतीमा विश्वास गर्ने भएकाले छलाङ हान्ने प्रचण्डलाई त्यहाँ समाहित गर्नुपर्ने तर्क राखेका थिए । त्यसवेला प्रबक्ता श्रेष्ठले पचण्डको पनि चर्कै आलोचना गरेका थिए । प्रचण्ड पनि पद्दती त मान्दैनन, तर नयाँ विचार बोकेर छलाङ हान्न माहिर छन् । अहिले पनि प्रचण्ड युद्धकालिन कृष्णबहादुर महरा, जर्नादन शर्मा, वर्षमान पुन, चक्रपाणी खनाल, शक्ति बस्नेत, अग्नी सापकोटा, हरिवोल गजुरेल, लेखराज भट्टको कोटरी चलाएर आफू र आफ्नो परिवारको शर्तमा कसरी पार्टी निर्माण हुन्छ । प्रबक्ता श्रेष्ठले भनेका थिए –‘त्यसैले पूर्व माओवादी र पूर्व एमालेभित्रको एउटा कोर ग्रुप निर्माण गरेर अघि बढ्न सक्दा मात्रै राम्रो हुन्छ । त्यसैले प्रचण्ड, नेपाल, खनाल, वामदेव र वादललाई मिलाउनुको विकल्प छैन ।

त्यति मात्र होईन, श्रेष्ठ यसवेला निकै आक्रोशित भाषामा प्रस्तुत भएका थिए । अहिले मुलुक पशुपति शर्माको लुट्न सके लुट कान्छा शैलीम चलेको छ । ओलीलाई मात्रै गाली गरेर पनि हुँदैन । समस्या हाम्रो पक्षमा पनि छ । आक्रोशित बन्दै श्रेष्ठले भनेका थिए–‘शक्ति बस्नेत, बलदेव बुहारी, बीना मगर जस्ता गाउँपालिका अध्यक्ष चलाउन नसक्ने पात्रलाई मन्त्री बनाएर कसरी देश चल्छ ?’

माओवादीले आफ्नो धरातल बिर्सिएकै कारण ओली हावी भएको तर्क राख्दै रोल्पा र रुकुम बिर्सिएका कारण पार्टीमा समस्या आएको उनको विश्लेषण थियो । ‘हामी पनि सुध्रिएनौ । जनयुद्धकालमा माओवादीले पश्चिम फर्क भन्दै रोल्पा र रुकुमलाई आदर्श बिम्बका रुपमा प्रस्तुत गरे । तर, आज त्यहाँका जे जति नेता भएका छन् । ती भौतिक उत्पे्ररणबाट मात्र प्रभावित छन् । ठेक्का पट्टा, सरुवा बढुवा, गिट्टी वालुवा, होटल, एनजिओ, आइएनजिओमा लागेर पश्चिम फर्क भन्नेहरु रोल्पाकै पञ्चे मन्त्री वालाराम घर्ती मगर भन्दा पनि अधिक रुपमा वदनाम भएर लाजमर्दो अवस्था भएकाले माओवादी आन्दोलन प्रति नै वितृष्णा जागेको ब्यङ्ग्य गरेका थिए ।

प्रकाश खबरले लेखेको छ- आफू निकट कार्यकर्ता सामु श्रेष्ठले दनक यतिमै सीमित थिएन पूर्व एमाले प्रति लक्षित गर्दै भनेका थिए एनजिओ आइएनजिओ, निजी विद्यालय, अस्पताल र सहकारी सञ्चालनमार्फत देशभरी साम्राज्य खडा गरेकाले त्यहाँ पनि यो क्रोनिक जस्तै भएको अवस्था छ । यस्तो वेलामा पार्टी निर्माणका लागि नयाँ ढंगबाट बहना हुनुपर्नेमा खवरदार जनताको बहुदलिय जनवादबाट दायाँ बायाँ हुँदैन भनिदै छ । त्यसैले मुहानै फोहोर भएकोले पार्टी निर्माणको बहस ओझेलमा परेको छ ।

ताजा खबर