बिजुली विहीन बैतडीका स्थानीय तह

२०७६ जेठ ३० बिहीबार १४:२९:०० मा प्रकाशित

बैतडी, ३० जेठ ।  देश सङ्घीय संरचनामा गइसकेपछि बैतडीमा चार नगरपालिका र छ गाउँपालिका 
नगरपालिकामध्ये  पुर्चौडी र मेलौली नगरपालिकामा अझै बिजुली पुगेको छैन । देशको पुनःसरचनापछि नगरपालिका बनेका ती दुई नगरमा मात्र होइन पाटन नगरपालिकाको केही वडामा समेत बिजुली पुग्न सकेको छैन । विद्युत् विस्तार नहुँदा यहाँका बासिन्दाले  सास्ती भोग्दै आएका छन् । स्थानीय तहमा जनप्रतिनिधि आएको करीब दुई वर्ष बित्न लाग्दासमेत विद्युत्लगायत आधारभूत सेवासमेत गाउँमा पुग्न सकेको छैन ।

 जिल्लाका शिवनाथ, पञ्चेश्वर र सिगास गाउँपालिकामा पनि विद्युत् सेवा विस्तार हुन सकेको छैन । विद्युतीकरण नहुँदा कुटानी पिसानीका  लागि मिलसम्म स्थापना गरिएको छैन । साँझमा आफ्ना छोराछोरीलाई राम्रोसँग पढ्न र गृहकार्य गराउन कठिन हुँदा पढाइमा समेत गणस्तर वृद्धि हुन नसकेको स्थानीय वासिन्दा बताउँछन् ।

 जिल्लाका केही स्थानीय तहका खोलाबाट लघु जलविद्युत् सञ्चालन भए पनि पटकपटक उपकरणमा खराबी आउँदा समस्या हुने गरेको छ  । स्थानीय खोलाको बिजुली राति मात्र आउछ, पुर्चौडी नगरपालिका–१, हाटका गणेश जोशीले भने, “दिनमा पनि बिजुली आए विद्युत्बाट गर्ने काम सहजरुपमा हुन्थ्यो ।”विद्युत् नहुँदा केहीले सौर्य उर्जाको सहायताले काम गरिरहेका छन् । बिजुली नहुँदा धेरै समस्या खेप्नुपरेको सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताए । राष्ट्रिय प्रसारणको पहुँच नहुँदा सौर्य उर्जाको भरमा गाउँपालिकाले  काम गरिरहेको र विजुलीको अभाबमा अरु कार्यालयका काम पनि प्रभावित भएका उनले बताए ।

 मेलौली नगरपालिकाको एउटा वडामा बिजुली पुगेको छ तर अन्य वडामा बिजुली नपुगेको नगरपालिका प्रमुख कृष्णसिंह नायकले बताएका हुन् । पुर्चौडी नगरपालिकाका वडामा  बिजुली नहुँदा सञ्चार सेवाबाट पनि वञ्चित हुने गरेका छन् । नेपाल टेलिकमको टावरसमेत सोलारकै भरमा चलिरहेको छ । विद्युत् सेवा नहुँदा स्थानीय तहले कार्यसम्पादन गर्ने कामसमेत प्रभावित हुने गरेका छन् । 

 पञ्चेश्वर गाउँपालिकामा पनि सौर्य उर्जाबाट विद्युतीय कामकाज हुने गरेको छ । कम्प्युटरबाटै सबै कार्यसम्पादन गर्दा घाम लागेको बेला मात्रै कम्प्युटर खुल्छ, गाउँपालिकाका नासु कमलापति भट्टले भने, “पानी परेको बेला सेवाग्राहीलाई रित्तै फर्काउनुपरेको  छ । विद्युतीय उपकरणबाटै कामका गर्नुपर्ने भएकाले सौर्य उर्जाले धान्न सकेको छैन ।

जिल्लामा १९ वटा लघु जलविद्युत आयोजना छन् । ती आयोजनाबाट १८६ किलोवाट विद्युत् उत्पादन हुँदै आए पनि अहिले भने आधाभन्दा बढी आयोजना बन्द हुँदा विद्युत् उत्पादन पनि घटेको छ । कुनै बेला झलमल्ल हुने ग्रामीण क्षेत्र अहिले अन्धकारमय बनेका छन् । लघु जलविद्युत्बाट बिजुली बालेका सर्वसाधारण अहिले सौर्य उर्जा बाल्न थालेका छन् । आर्थिक अवस्था राम्रो भएको घरमा सौर्य उर्जा बले पनि विपन्न समुदाय भने टुकी र झरोमा निर्भर छन् । लघु जलविद्युत् आयोजना बन्द हुँदा ती आयोजनाबाट सञ्चालन गरिएका मिल, आटाचक्की, स्वास्थ्य संस्थाका ल्याव, विद्यालयका कम्प्युटर पनि बन्द भएका छन् ।

राष्ट्रिय जनगणना २०६८ अनुसार बैतडीमा ४५ हजार एक १ घरधुरी छ । तीमध्ये साढे १२ हजार घरमा मात्रै बिजुली पुगेको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ । जिल्लाका केही ठाउँमा विद्युत् विस्तारको काम भइरहेको वितरण केन्द्र प्रमुख मोहनदेव जोशीले बताएका छन् । रासस

ताजा खबर