सलमान खानसँग फिल्म खेल्दै कपिल शर्मा

२०७६ जेठ ३० बिहीबार १२:५१:०० मा प्रकाशित

एजेन्सी । बलिउडका स्टार सलमान खानसँग फिल्म खेल्न पाउनु धेरै कलाकारको लागि ठुलो कुरा हुने गरेको छ । सलमानको औसत फिल्मले पनि सजिलै करोडौं कमाउने भएकोले पनि सलमानलाई अझै स्टारडम भएको नायक मानिने गरिएको छ ।

यस्ता स्टार सलमानसँग कमेडियन कपिल शर्माले पनि फिल्म खेल्न पाउने भएका छन् । सलमानको पछिल्लो फिल्म ‘भारत’ मा सुनिल ग्रोवरलाई मौका दिइएको थियो भने आगामी फिल्म ‘शेरखान’ मा भने कपिल हुने लगभग पक्का रहेको बताइन्छ ।

यो फिल्ममा कपिल छानिनुको पछाडी सलमान मात्र कारण नरहेको बुझिएको छ । फिल्मका निर्देशक तथा सलमानका कान्छा भाइ शोहेल खानले यसअघि कपिललाई यहि फिल्म ‘शेरखान’ मा लिने बचन दिएका थिए ।

केहि वर्षअघि ‘कमेडी सर्कश’ नामक रियालिटी शोको विजेतालाई शोहेलले आफ्नो फिल्म ‘शेरखान’ मा लिने घोषणा गरेका थिए । उक्त शो कपिल शर्माले जितेपछि उनले शोहेललाई फिल्म कहिले बनाउने भन्दै मजाक गर्ने गरेका थिए ।

त्यतिबेला फिल्मको कथावस्तु तयार नभएकोले फिल्म नबनेको शोहेलको भनाइ रहेको छ । हाल भने उक्त फिल्मको कथावस्तु तयार भएकोले यसमा फिल्म बनाउन लागेको बताइन्छ । खबर अनुसार फिल्मको कथावस्तु सलमानले पनि मन पराएकाले पनि फिल्म बन्ने पक्का भएको हो ।

कपिलले यसअघि फिल्म ‘किस किस से प्यार करुँ’ र ‘फिरङ्गी’ मा काम गरेका थिए । ‘शेरखान’ मा काम गरेमा उनको करियरको चौथो फिल्म हुनेछ ।

 

 

ताजा खबर