यसकारण गायत्रीलाई ‘वेदमाता’ भनिन्छ

२०७६ जेठ ३० बिहीबार १२:१०:०० मा प्रकाशित

एजेन्सी । आज अर्थात् जेष्ठ शुक्ल एकादशीको दिनलाई गायत्री जयन्तीको रुपमा मनाइने गरिएको छ । हिन्दु धर्मावलम्बीहरुले गायत्री मातालाई विशेष रुपमा पँुज्ने गरेका छन् । दैनिक रुपमा गायत्री मन्त्रको उच्चारण मात्रले पनि मानिसमा नयाँ तथा सकारात्मक उर्जा प्राप्त हुने विश्वास गरिँदै आएको पनि छ ।

यसरी हिन्दु धर्ममा उच्च मान दिइएको देवी गायत्रीलाई वेदमाता पनि भन्ने गरिएको छ । सम्पूर्ण वेदको उत्पत्ति नै गायत्रीबाटै भएकोले पनि वेदमाता भन्ने गरेको शास्त्रमा उल्लेख रहेको बताइन्छ ।

हिन्दू धर्मअनुसार गायत्रीलाई पञ्चमुखी मानिएको छ । यसको अर्थ पाँच तत्व अर्थात् जल, वायु, सूर्य, आकाश र भुमि रहेको बुझिन्छ । यो प्रकृतिको संरचना यिनै पाँच तत्वबाट बनेको छ । सोही कारण पनि यस प्रकृतिमा रहेको सम्पूर्ण प्राणीमा गायत्रीको बास रहेको विश्वास गरिने गरेको छ ।

‘भासते सततं लोके गायत्री त्रिगुणात्मिका’ भन्ने श्लोक गायत्री सहितामा उल्लेख भएको छ । यसको नेपाली अर्थ लगाउँदा, गायत्रीले सरस्वती, लक्ष्मी र काली तीनै देवीको प्रतिनिधित्व गर्छिन् । यसकारण पनि गायत्रीलाई हिन्दुहरुले विशेष रुपले पुज्ने गरेको बताइन्छ ।

त्यस्तै गायत्री मन्त्रको व्याख्या गर्दै, ‘सर्वदेवानां गायत्री सारमुच्यते’ उल्लेख भएको छ । यसको नेपाली अर्थ गायत्री मन्त्र सबै वेदहरुको सार हो भन्ने बुझिन्छ । सोही कारण पनि गायत्रीलाई वेदमाता भनिने गरेको बताइन्छ ।

हिन्दु धर्मशास्त्रअनुसार गायत्रीको उत्पत्ति सविताको मुखबाट भएको मानिँदै आएको छ । भगवान सूर्यले गायत्रीलाई ब्रम्हाजीमा समर्पित गरिदिएको बताइन्छ । सोही कारण गायत्रीलाई ब्रहायणी पनि भन्ने गरिन्छ ।

यिनै ब्रहायणीको भक्तिमा लिन हुने तथा यिनको मन्त्र जप्नेहरुलाई कहिल्यै दुख नपर्ने बताइन्छ ।

 

 

ताजा खबर