एकै कक्षाका सबै बालबालिकाको अभिभावकत्व ग्रहण

२०७६ जेठ २९ बुधबार १३:२४:०० मा प्रकाशित

काभ्रेपलाञ्चोक, २९ जेठ । सरकारका प्रधानमन्त्री, मन्त्री, सांसद तथा केही सर्वसाधारणले भर्ना अभियानअन्तर्गत बालबालिकाको अभिभावकत्व ग्रहण गरिरहेका बेला पनौती नगरपालिका–७ अघाटोलका युवा अच्युत भट्टराईले स्थानीय एक विद्यालयको कक्षा ६ मा अध्ययनरत् सबै विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका छन् । 

    उनले पनौतीस्थित पुण्य माध्यमिक विद्यालयको कक्षा ६ का २६ विद्यार्थीको हालै अभिभावकत्व ग्रहण गरेका हुन् । भट्टराईले कक्षा ६ का विद्यार्थीको भर्ना, विद्यालय पोशाक (ट्रयाकसूट समेत) र स्टेशनरीको व्यवस्थापन गरेका हुन्  । “एउटा कक्षाका सबै विद्यार्थीको अभिभावकत्व गरेको छु, भर्ना, पोशाक र स्टेशनरी व्यवस्था गरे, अब विद्यार्थीको खाजाको लागि व्यवस्थापन गर्दैछु”, उनले भने । उनले आगामी शैक्षिक सत्रमा थप एक कक्षाका विद्यार्थीको पनि अभिभावकत्व ग्रहण गर्ने बताए ।
 
    उनले आफूलाई बाल अवस्थादेखि नै बालबालिकाको शिक्षाप्रति विशेष चासो रहने गरेकाले सामाजिक क्षेत्रमा केही गर्ने उद्देश्य अनुरुप प्रारम्भिक चरणमा एउटा कक्षाकै विद्यार्थीको हाललाई कक्षा १० सम्मका लागि अभिभावकत्व ग्रहण गरेको बताए । उनले भने, “शिक्षा बालबालिकाको भविष्य उज्यालो पार्ने स्वर्णीम बाटो हो, त्यसैले सोही क्षेत्रमा केही सहयोग गर्ने प्रयास गरेको हुँ ।” 

    भट्टराईले कक्षा ६ का विद्यार्थीका लागि आवश्यक पर्ने स्टेशनरीका लागि एकमुष्ट रकम विद्यालयलाई प्रदान गरेका छन् । उनले विशेष गरी असहाय बालबालिकाको शिक्षामा सुधार होस् भन्ने हेतुले सहगोग गरेको बताए । उनले आफ्नो एक संस्थामार्फत काभे्रपलाञ्चोक र सिन्धुपाल्चोकका ३१ जना अन्य बालबालिकालाई निजी विद्यालयमा छात्रवृत्तिसेमत प्रदान गरेका छन् ।
 
    उनले अभिभावकत्व गरेको कक्षामा अध्ययनरत् अधिकांश विद्यार्थी असहाय एवं काभ्रेपलाञ्चोकको दुर्गम मानिएको डाँडापारी क्षेत्रका विद्यार्थी छन् । युवा पण्डित (भागवत वाचक)समेत रहेका भट्टराईले कक्षा ६ का २६ विद्यार्थी तथा स्थानीय एक संस्थामा आश्रित ‘ह्याप्पी फेमिली’का पाँच बालबालिकाको पनि अभिभावकत्व ग्रहण गरेका विद्यालयका प्रधानाध्यापक सरस्वती कँडेलले बताएकी छिन् । 

    प्रअ कँडेलका अनुसार भट्टराईले नयाँ शैक्षिक सत्रमा विद्यालयमा आएका थप नयाँ विद्यार्थीका लागि टिसर्ट वितरण गरेका छन् । विद्यालयमा हाल २१० जना विद्यार्थी अध्ययनरत् छन् । उक्त विद्यालयको कक्षा ८ मा अध्ययनरत् मिना गोलेलाई पनौतीका रामकृष्ण बञ्जारा, कक्षा ९ मा अध्ययनरत् सम्झना श्रेष्ठलाई सन्तोष राउत, राधिका कँडेलले कक्षा ४ का अभिषेक लामाको तथा हाल अष्ट्रेलिया निवासी सिर्जना पन्तले कक्षा ८ का आदित्य राई र कक्षा ४ का प्रदीप घिसिङको अभिभावकत्व ग्रहण गरेका छन् । रासस

ताजा खबर