ओलीको युरोप भ्रमण आवश्यकता कि रहर?

२०७६ जेठ २७ सोमबार १६:३१:०० मा प्रकाशित

काठमाडौं । अन्तरराष्ट्रिय श्रम संगठन (आइएलओ)को कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली शनिवार युरोप प्रस्थान गरेपछि उक्त भ्रणमबारे विभिन्न खाले टिकाटिप्पणी हुन थालेका छन्।

कतिपयले प्रधानमन्त्री ओलीको उक्त भ्रमणले अन्तर्राष्ट्रिय जगत्‌मा नेपालको उपस्थितिलाई थप बलियो बनाउने टिप्पणी गरिरहेका छन् त कसैले चाहिँ पर्याप्त कूटनीतिक तयारी विनै भ्रमण भएको भन्दै आलोचना गरेका छन्।

झण्डै दुई तिहाई बहुमतका साथ २०७४ फागुनमा प्रधानमन्त्रीका रूपमा सत्तारोहण गरेयता ओलीको यो नवौँ विदेश भ्रमण हो।

यस अवधिमा उनले छिमेकी मुलुकहरू भारत र चीन सहित चार देशमा राजकीय भ्रमण गरे भने अन्य भ्रमणहरू विभिन्न कार्यक्रममा सहभागी हुनका लागि गरिएका थिए।

आइएलओ स्थापनाको सय वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रमममा सहभागी हुन स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका ओलीले त्यहाँबाट ब्रिटेन र फ्रान्सको पनि भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमण हुने अन्तिम समयसम्म द्विपक्षीय भेटघाटका कार्यक्रमहरू तय हुन नसकेको खबरहरू सार्वजनिक भएपछि कतिपयले सामाजिक सञ्जालमा प्रधानमन्त्रीको भ्रमणलाई लिएर कटाक्ष समेत गरेका छन्।

तर परराष्ट्र मन्त्रालयद्वारा शनिवार जारी विज्ञप्तिमा भने ब्रिटेन र फ्रान्स दुवै देशमा द्विपक्षीय भेटवार्ता हुने जनाइएको छ।

भ्रमण तालिका

परराष्ट्र मन्त्रालयका अनुसार यसपटकको भ्रमणका क्रममा प्रधानमन्त्री सबैभन्दा पहिले जेनेभा जानेछन्।

उनले सोमवार आईएलओको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

ओलीतस्वीर कपीराइटRSS

त्यसक्रममा उनले टर्कीका उपराष्ट्रपति र नर्वेकी प्रधानमन्त्रीलगायतसँग भेटघाट गर्ने कार्यक्रम रहेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सोमवारै ओली जेनेभाबाट ब्रिटेन प्रस्थान गर्नेछन्। उनले त्यहाँस्थित अक्फोर्ड विश्वविद्यालयमा "शान्ति, लोकतन्त्र र विकास" विषयक प्रवचन दिने कार्यक्रमा रहेको मन्त्रालयले जनाएको छ।

आगामी मङ्गलवार उनले ब्रिटेनकी प्रधानमन्त्री टरिजा मेसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्।

बुधवार उनी फ्रान्सका लागि प्रस्थान गर्ने र बिहीवार फ्रान्सका प्रधानमन्त्रीसँग द्विपक्षीय भेटघाट गर्ने मन्त्रालयले जनाएको छ।

त्यस्तै शनिवार ओलीले युरोपस्थित नेपाली राजदूतहरूसँग छलफल र उनीहरूलाई निर्देशन दिने कार्यक्रम रहेको मन्त्रालयको भनाइ छ।

त्यसै दिन उनी नेपालका लागि प्रस्थान गर्ने र आइतवार काठमाण्डू आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

यस अघिका भ्रमण

ओली प्रधानमन्त्री बने लगत्तै उनले भारतबाट आफ्नो विदेश यात्रा शुरुवात गरेका थिए।

उनी २०७४ चैत २३ गते भारत गएर २५ गते फर्केका थिए।

भारतको अघोषित नाकाबन्दीको डटेर सामाना गरेको र राष्ट्रवादी अडान लिएको भनिएका ओलीले उक्त भ्रमणका बेला जलमार्ग, रक्सौल-काठमाण्डू रेलमार्ग र कृषिसँग सम्बन्धित सम्झौताहरू भएका थिए।

यो भ्रमणले नेपालले पछिल्लो संविधान जारी गरे पश्चात् चिसिएको नेपाल-भारत सम्बन्ध पुन: सुधार भएको कतिपयको विश्लेषण रहेको थियो।

भारत भ्रमणको केही महिनापछि नै ओलीले चीनको पनि राजकीय भ्रमण गरेका थिए।

उनले गत वर्ष असार ५ देखि १० गतेसम्म चीनको भ्रमण गरेका हुन्।

त्यसक्रममा ओली पहिलो पटक प्रधानमन्त्री बन्दा भएका कतिपय समझदारीहरूमा थप सम्झौताहरू भएका थिए।

त्यसपछि गत असोज ८ देखि १२ गतेसम्म ओलीले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिनका लागि अमेरिका भ्रमण गरेका थिए।

त्यसक्रममा उनले विभिन्न मुलुकका समकक्षीसँग भेटवार्ताहरू समेत गरे।

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी भएर ओली अमेरिकाबाटै कोस्टारिका गएका थिए।

ओली

उनले असोज १३ र १४ गते कोस्टारिकाको भ्रमण गरेका हुन्।

त्यसक्रममा उनले त्यहाँस्थित 'युनिभर्सिटी फर पिस'मा सम्बोधन गर्नुका साथै मानार्थ विद्यावारिधी उपाधि ग्रहण गरेका थिए।

ओलीले त्यसपछि विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन गत माघ ६ देखि १२ सम्म स्वीट्‌जरल्याण्डको भ्रमण गरेका थिए।

उनी उक्त मञ्चमा सम्बोधन गर्ने नेपालको पहिलो प्रधानमन्त्री बने।

त्यसपछि ओलीले भियतनाम र क्याम्बोडियाको राजकीय भ्रमणमा गए।

उनले गत वैशाख २६ देखि ३० सम्म भियतनामको राजकीय भ्रमण गरेका थिए भने वैशाख ३० देखि जेठ १ गतेसम्म क्याम्बोडियाको भ्रमण गरे।

दुवै देशसँग उनको भ्रमणका बेला आर्थिक र पर्यटन विकासबारे छलफल र केही सम्झौता समेत भएको थियो।

तर धेरैले ती देशहरूका भ्रमणको खासै अर्थ नरहेको र फलदायी समेत नहुने भन्दै आलोचना गरेका थिए।

ओली केही अघि मात्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन एकपटक फेरि भारत भ्रणममा गएका थिए।

के भन्छन् कूतनीतिज्ञ?

प्रधानमन्त्री ओली एकसाता लामो युरोप भ्रमणमा निस्किएका बेला कतिपय कूटनीतिज्ञहरूले यो भ्रमणलाई "खासै अर्थ नरहेको र उद्देश्यहीन यात्रा" भनेका छन्।

अर्काथरीले भने "कूटनीतिक यात्राहरूको असर दीर्घकालिन हुने" भन्दै प्रधानमन्त्रीको यो भ्रमणलाई सकारात्मक रूपमा लिएका छन्।

प्रधानमन्त्रीको विदेश भ्रमणमा नेपालको सम्मान र हित जोडिएको हुन्छ। मूल हेक्का राख्नुपर्ने पनि त्यसैलाई हो। नेपालका दुई ठूला छिमेकीहरूले नेपालतर्फ आँखा ठूलो पारेर हेरिरहेका बेला नेपालको प्रधानमन्त्रीले थप विवादमा आउने गतिविधि गर्नु हुदैँन। तर प्रधानमन्त्रीले त्यस्तो हेक्का राखेको देखिएको छैन।

रमेशनाथ पाण्डे, पूर्व परराष्ट्र मन्त्री

एकजना पूर्व परराष्ट्र मन्त्री रमेशनाथ पाण्डे अहिलेको प्रधानमन्त्रीको भ्रमणको उद्देश्य नै स्पष्ट नभएको बताउँछन्।

आइएलओको कार्यक्रममा श्रम मन्त्री जाँदा हुने भए पनि प्रधानमन्त्री किन जानुपर्‍यो भन्ने ओलीले सार्वभौम जनतालाई सूचित नगरेको पाण्डेको तर्क छ।

त्यस्तै ब्रिटेन आफैँ आन्तरिक राजनीतिक उथलपुथलमा रहेका बेला त्यहाँ नगई नहुने बाध्यता किन पर्‍यो भन्ने पनि प्रधानमन्त्रीले भन्न नसकेको पाण्डे बताउँछन्।

उनका अनुसार फ्रान्समा सहसचिव स्तरको कर्मचारी गएर गर्न सकिने सम्झौताहरू गर्न प्रधानमन्त्री जानु अझ हास्यास्पद देखिन्छ।

उनी भन्छन्, "प्रधानमन्त्रीको विदेश भ्रमणमा नेपालको सम्मान र हित जोडिएको हुन्छ। मूल हेक्का राख्नुपर्ने पनि त्यसैलाई हो। नेपालका दुई ठूला छिमेकीहरूले नेपालतर्फ आँखा ठूलो पारेर हेरिरहेका बेला नेपालको प्रधानमन्त्रीले थप विवादमा आउने गतिविधि गर्नु हुदैँन। तर प्रधानमन्त्रीले त्यस्तो हेक्का राखेको देखिएको छैन।"

कुनै उद्देश्य विना विदेश भ्रमण गर्दा त्यसले मुलुकलाई फाइदा नगर्ने उनी बताउँछन्।

उच्चस्तरको भ्रमणको दीर्घकालिन प्रभाव हुन्छ। त्यसले गर्दा भ्रमणहरू महत्त्वपूर्ण हुन्छन्। नेपालको भू-राजनीतिक कारणले गर्दा अहिले सबैको चासोमा रहेकाले यस्त भ्रमणहरूको महत्त्व हुन्छ।

शम्भुराम सिम्खडा, संयुक्त राष्ट्रसंघका लागि पूर्व स्थायी प्रतिनिधि

पाण्डे भन्छन्, "भियतनाम र क्याम्बोडियमा पनि उद्देश्य स्पष्ट थिएन, त्यसैले ती भ्रमणहरू हास्यास्पद भए। अहिले पनि अवस्था त्यस्तै छ। हाम्रा प्रधानमन्त्रीहरूलाई विदेश घुम्न जाने लत लागेको छ। त्यसले गर्दा मुलुकको भलो होइन, मुलुक हास्यको पात्र बन्ने गरेको छ।"

संयुक्त राष्ट्रसंघ (जेनेभा) का लागि पूर्व स्थायी प्रतिनिधि शम्भुराम सिम्खडा चाहिँ यस्ता उच्चस्तरका भ्रमणहरूको प्रभाव तत्कालै नदेखिने भन्दै प्रधानमन्त्रीका भ्रमणहरूको वचाउ गर्छन्।

उनी भन्छन्, "उच्चस्तरको भ्रमणको दीर्घकालिन प्रभाव हुन्छ। त्यसले गर्दा भ्रमणहरू महत्त्वपूर्ण हुन्छन्। नेपालको भू-राजनीतिक कारणले गर्दा अहिले सबैको चासोमा रहेकाले यस्त भ्रमणहरूको महत्त्व हुन्छ।"

उनी आइएलओको कार्यक्रममा प्रधानमन्त्री जानुलाई सकारात्मक रूपमा लिन्छन्।

त्यसको कारणबारे उनी भन्छन्, "हामी विशेषगरी आप्रवासी कामदार पठाउने मुलुक भएकाले उक्त फोरमलाई प्रधानमन्त्रीले सदुपयोग गर्न सक्नुहुन्छ र विश्वभरका श्रममन्त्रीहरू भेला हुने ठाउँ भएकाले त्यसको फाइदा हामीले लिनसक्छौँ।"

उनले नेपालमा भ्रमणहरूको गृहकार्य गर्ने चलन भने कम रहेकाले समस्याहरू देखिने गरेको बताए।

त्यसलाई सुधार गर्न सरकारले कूटनीतिक प्राथमिकता तय गर्नुपर्ने र भ्रणमहरूको पूर्व तयारी गर्नुपर्ने उनले बताए।  (बीबीसी नेपाली सेवाबाट)

ताजा खबर