केपी ओलीहरुको पूर्व कर्मको फल

२०७६ जेठ २६ आइतबार १६:३८:०० मा प्रकाशित

पूर्व कर्महरूको उल्लेख, चर्चा र समीक्षा राजनीतिमा र सामाजिक जीवनमा भैरहन्छ !
हामी भाग्न पाउन्नौ !
*****
*****
पछि आएर बाल्मिकीलाई भगवान भन्न थालियो , 
महर्षि भनिए , 
संस्कृत भाषाका त आदि कवि नै मानिन्छन I 
तर पहिला उनी रत्नाकर डाँकु थिए भनेर हामी उल्लेख गरिरहन्छौं I

*****
सिङ्गो एसिया महादेश त के विश्वमा नै बुद्ध प्रतिष्ठित छन् तर नेपालमा उनी जन्मिएका थिए भनेर दावी गरिरहेका छौं !
बुद्ध कसैका होइनन, सबैका हुन् ! 
किन बुद्ध नेपालमा जन्मिएका थिए भनेर हामी रडाको गर्दछौं त ?

*****
पहिलो पटक सगरमाथाको शिखरमा पुगे , 
विश्व विख्यात भए , 
लगत्तै भारतको नागरिकता लिए र उतै बसे तर हामीले " हाम्रो तेञ्जिङ शेर्पाले चढे हिमाल चुचुरा" भनेर गीत गायौं I

*****
पछि गएर पन्जावका राजा रणजित सिंहको सेनामा रहेर उतै मृत्य्यु प्राप्त गरेका बलभद्रलाई पूर्ब कार्यकै आधारमा हामी राष्ट्रिय विभूती मानिरहेका छौं I 
मर्यादा पुरुषोत्तम भनिने भगवान रामले किन सीताको अग्नीपरीक्षा लिए ? भनेर हामी अझै प्रश्न गरिरहेका छौं I 
इतिहास -इतिहास हो !
राम्रो-नराम्रो उल्लेख भइरहन्छ I

*****
बाबु बाजेले गरेको राम्रो र नराम्रो दुवै कुराको उत्तराधिकार र सो बापतको दायित्व सन्तान दर सन्तानले बेहोर्नु पर्दछ I 
रोग पनि वंशानुगत हुन्छन र गुण र दुर्गुण पनि - जिनमा आउँछ भन्छन त !

*****
तथ्य, प्रमाण र तर्क कुनै आधारमा पुष्टि गर्न सकिने अवस्था छैन तर अढाई सय बर्ष अघि पृथ्वी नारायण शाहले किर्तिपुरका मानिसको नाक काटेको उल्लेख गरिरहन्छौं ,
भने !!!
क्रान्तिको नाउमा हाम्रै जीवनकालमा झापामा आफ्नै घरमा सुतिरहेका ढकाल परिवारको घाँटी रेटेर हत्या भयो !
पार्टीको नाउमा भयो, विचार र दर्शनको नाउमा भयो !
हत्यामा संलग्न मानिस अझै राजनीतिमा सम्मानित हैसियतमा छन् !

*****
व्यक्तिगतरूपमा आज आएर म पनि केपी ओली र सीपी मैनालीलाई अत्यन्त श्रद्धा गर्दछु !
केपी ओलीलाई मैले आज सम्मान गर्नुको पछाडि पनि उनको पूर्व कर्म नै हो - अघिल्लो कालको उनको प्रधानमंत्रीत्व मलाई स्वागत योग्य र ऐतिहासिक लाग्यो I 
तर क्रान्तिको नाउमा धर्मप्रसाद ढकाल र शिवप्रसाद ढकालहरूको परिवार. मारिएको प्रसङ्ग त आइरहन्छ ! 
केपी ओली र सीपी मैनालीहरूको नाउ त्यो हत्यासँग जोडिएर आइरहन्छ ! उनीहरू, उनीहरूका परिवारले र कार्यकर्ताहरूले त्यसको भार नबोकेर कहाँ सुख पाइन्छ र ? 
हो आफ्नो व्यवहारले बिर्सने पार्न सकिन्छ ! 
वाल्मिकी बन्न सकिन्छ तर रत्नाकरलाई इतिहासबाट मेट्न र त्यसको उल्लेख नै नआउने त गर्न सकिन्न I

*****
सबैको आँखा अगाडि झल्झली छ -- 
हिजो माओवादीले कस्तो हत्या, हिंसा र लूट मच्चायो !
हजारौं होनहार युवा -युवती मारिए ! 
कर्मठ राजनीति कर्मीहरू मारिए !
इमान्दार शिक्षक र सुयोग्य विद्यार्थीहरू मारिए !
हात खुट्टा भाँचिए !
------
दुवै तर्फबाट मेरा अनेकौं शिक्षाक साथी मारिए !
मेरा प्रिय विद्यार्थीहरू मारिए ! 
साथी -संगातीहरू मारिए !
गाउँले भाइ -बहिनी, भतिजा-भतिजीहरूको हत्या भयो I
मेरा परिवार - नाताका पनि मारिए !
जव ती घर परिवारको सन्दर्भ आउँछ -
अनि ------???

*****
काङ्ग्रेसलाई दुधले धोएको कसले भनेको छ र ? 
होइन-थिएन !
काङ्ग्रेसको नाउमा पनि ज्यादती भएकै थिए I 
लूटपाट भएको थियो I 
एकाध हत्या पनि भएको हो I 
विमान अपहरण र सरकारी रकम पनि लुटिएको हो I 
ती इतिहासमा अभिलेखबद्ध छन् !
२०४६ पछिको राजनीतिमा काङ्ग्रेसले पनि विकृति, विसंगति, मूल्यहीनता र अवशवादिता भित्र्याएकै हो I 
राजनीतिक दृष्टिहीनता देखाएकै हो I

*****
कसैलाई सराप दिँदा "तेरो घरमा काङ्ग्रेस पसोस" भनेर भनेको सुनेर नै हामी पनि हुर्किएका हौँ !
कसैलाई गाली गर्दा " काङ्ग्रेस मोरो " वा "काङ्ग्रेस जस्तो" भनेको सुनेकै हौँ !
गाउँ-घरमा यता-उता, वारी पारी काङ्ग्रेसको पक्षमा संगठन गर्दा यसले पनि 
काङ्ग्रेसका सम्वन्धमा धेरै स्पष्टिकरण दिनु परेको क्षमा याचना गर्नु परेको थियो I 
तर आफ्नो आफ्नो व्यवहारबाट त्यो छाप मेट्न सकिँदो रहेछ भनेर सिक्दै र बुझ्दै पनि जाइने रहेछ I

*****
राजाहरूका पालामा पनि धेरै नराम्रा काम भए !
गैर न्यायिक हत्या भए ! 
भ्रष्टाचार भए !
मुलुकको प्रजातान्त्रिकरण र विकासको गति अवरूद्ध भयो I 
सबै देखियो, भोगियो र बेहोरियो पनि !

*****
तर अव निष्पक्ष समीक्षा गरौं त राजाले सम्पूर्ण सत्ता हातमा लिएको बेलामा कतिको हत्या भयो ? 
कति भ्रष्टाचार भयो ?
अनि निर्वाचित, प्रजातान्त्रिक / लोकतान्त्रिक सरकारको पालामा कति हत्या भयो ? 
शासनमा अनैतिकता कति आयो ? 
भ्रष्टाचार कति भयो ?

*****
अनि कुनै प्रसङ्गमा ती उल्लेख हुँदा तिनले यथास्थान चर्चा पाउँछन !

राजा , काङ्ग्रेस, पूर्व माले, एमाले , माओवादी सबैका प्रसङ्ग सन्दर्भ अनुसार आउने हुन् !

झापा काण्ड, धर्मप्रसाद, शिवप्रसादहरु बेगर त केपी ओली , सीपी मैनालीहरूको राजनीतिक जीवन आरम्भ नै हुन्न !
१७ हजारको हत्या, भारतमा प्रचण्ड र बाबुरामहरूको निर्वाध बसाई , ब्रजेश मिश्र ( भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार ) सँग भारतको तोकिएको हितको रक्षा गर्नमा प्रचण्ड र बाबुरामहरुले सघाउने र भारतले राजा हटाइदिने सहमति, अनि दिल्लीमा भएको १२ बुँदे बेगर प्रचण्ड र बाबुरामहरूको राजनीतिक जीवनी पूर्ण हुन्छ र भन्या ?

*****
वीपी कोइराला र गणेशमान हरूले नेपाल भारत सीमानाको १०० किलोमिटर क्षेत्र पर नै रहनु पर्ने तर प्रचण्ड र बाबुरामहरू निर्वाध सबैतिर      आउ -जाउ गर्न पाउने , हतियार ओसार्न पाउने कुरा इतिहासबाट मेटिन्छ र भन्या ? 
"हाम्रो कुरा आयो "भनेर रिसाउन, भाग्न पाइन्छ र भन्या ? 
इतिहासले हिसाव त राखिहाल्छ नी !
तिनलाई बिर्सन सकिन्न !

****
राजनीतिमा र सामाजिक जीवनमा वास्तविक कुरा गर्दा 'स्तर' को कुरा हुन्न ! 
मान्छे मार्न हुने ,मार्यौ भन्न नहुने हुन्छ र भन्या ?
भएको कुरा गर्दा उतर्सिएर, रिसाएर हुन्छ ? 
देखेको कुरा नगरेर आफैंलाई ढाँट्नु र ?

(नेपाल शिक्षक युनियनका पूर्व अध्यक्ष तथा राजनीतिक विश्लेषक केशबप्रसाद भट्टराईको फेसबुकबाट)

ताजा खबर