प्रचण्डले विप्लवका कार्यकर्ता तान्नुको अर्थ

२०७६ जेठ २४ शुक्रबार १४:२५:०० मा प्रकाशित

काठमाडौं । पूर्व माओवादीभित्र नेत्रविक्रम चन्दलाई सौखिन नेताका रूपमा चिनिने गरिन्छ । ठकुरी बाबुसाहेबसमेत भन्थे कतिपयले उनलाई । उनको ठाँटबाँठ त्यस्तै थियो । कुनै पनि युद्धमोर्चा राम्ररी नसम्हालेका उनलाई पार्टीभित्रका विद्रोही मानिन्थ्यो । आखिर उनको शैली अझै त्यस्तै छ । चन्दले पूर्व माके सत्तामा रहँदा झन् ठूलो विद्रोह गरे । 

देशभर चन्दा आतंक मच्चाएर नयाँ द्वन्द्व सृजना गरिरहेका छन् चन्द । सरकार उनीमाथि दमनको नीति लिएर अघि बढेको छ । प्रधानमन्त्री केपी ओलीले चन्दलाई आतंककारी भनिसकेका छन् । उनले सार्वजनिक रूपमै भने– ‘आतंककारीले के खोजेको हो ?’ सरकार पेलेर गलाउने नीतिमा लागे पनि चन्द गलेका छैनन् । उनका कार्यकर्तामाथि प्रहरी प्रशासनले कडा नीति लियो । यस क्रममा प्रहरीको गोली प्रहारबाट चन्दका एक कार्यकर्ताको मृत्यु भयो । सरकारको कठोर नीति हुँदाहुँदै पनि चन्द झन् कडा रूपमा प्रस्तुत भएका छन् । यसबाट उनलाई कसले उचाल्यो भन्नेबारे खोजबिन सरकारी निकायबाट हुन थालेको छ । सत्तारूढ नेकपाका मुख्य नेतामा यसको चासो बढेको हो । 

चन्दलाई देशभित्र मात्र नभई बाहिरबाट कुनै न कुनै साथ रहेको आशंका सत्तारुढ नेकपाभित्र छ । सर्पले सर्पकै खुट्टा देख्छ भनेजस्तै भएको छ पूर्व माओवादी केन्द्रभित्र । पूर्व माओवादी केन्द्रले कुनै न कुनै रूपमा अन्तर्राष्ट्रिय साथ र सहयोग पाएका थियो । जानकार सूत्रका अनुसार, रिम र कम्पोसा जस्ता वामपन्थीहरुको अन्तर्राष्ट्रिय संस्थासँग पूर्व माओवादी केन्द्रको साँठगाँठ थियो । ती संस्था अन्तर्राष्ट्रिय रूपमै विवादमा परे ।

माइक्रोम्यानेजमेन्टका लागि शक्तिराष्ट्रले तयार गरेका थिए ती संस्था । पूर्व माओवादी केन्द्रका नेताको मुख्य बसाइ भारतमा हुन्थ्यो । प्रचण्ड र बाबुराम भट्टराईजस्ता नेता लामो समय भारतमै बसेका थिए भन्ने कुरा जगजाहेर नै छ । उनीहरुले भारतबाट सेल्टर पाएको विषय नउठेको होइन । भारतको समर्थन तत्कालीन माओवादी केन्द्रले पाएको विषय उठिरहँदा उसका केही नेता भारतमा पक्राउसमेत परेका थिए । सैद्धान्तिक रूपमा कम्युनिष्ट पार्टी भएकाले चीनको साथ रहेको चर्चा पनि चल्यो । त्यसबाहेक नेपालमा सांस्कृतिक आक्रमणको योजना सफल बनाउन पश्चिमाहरुले तत्कालीन माओवादी केन्द्रलाई उचालेको विषयसमेत बाहिर आयो । 

अहिले चन्दले जुन ऊर्जा बटुलिरहेका छन्– त्यसमा आशंका गर्ने ठाउँ धेरै छन् । चन्द अपत्यारिलो ढंगले आक्रामक बन्दै गएका छन् । उनका कार्यकर्ता मर्न र मार्न तयार हुनेगरी प्रस्तुत भइरहेका छन् । आत्मघाती शैलीका तयारीसमेत चन्द समूहबाट भएको छ । यसका लागि आन्तरिक तयारीले मात्र पुग्दैन भन्ने ठहरमा सरकार पुगिसकेको बुझिन्छ । उनलाई कुन बाह्य शक्तिले किन उचालिरहेको छ भन्नेबारे तथ्य भेट्न मुश्किल छ । नेपालमा चासो राख्ने मुख्य शक्ति भारत, चीन, अमेरिका र युरोपेली युनियन हुन् । रुसको चासो खासै देखिँदैन । चन्दलाई ऊर्जा दिन यीमध्येका कुनचाहिं शक्ति किन लागे ? कतै चन्दलाई देखाएर प्रचण्ड नै शक्तिशाली बन्न खोजेका त हैनन् भन्नेसम्मका चर्चा सुरु भएका छन् ।

प्रचण्डले चन्दप्रति लचिलो हुनेगरी अभिव्यक्ति दिँदै आएकाले पनि यस्ता टिप्पणी भएका हुनसक्छन् । जसरी प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली चन्दविरुद्ध कडा रूपमा प्रस्तुत भइरहेका छन्– त्यसरी प्रचण्ड प्रस्तुत भएका छैनन् । चन्दको कारणले नै प्रचण्डलाई ओली सरकार कमजोर बनाउन साथ मिलिरहेको त छैन ? चन्द जति सरकारविरुद्ध कडा बन्छन्– त्यति नै सरकारमाथि दबाव बढ्छ । चन्दको अपत्यारिलो सक्रियता र शक्ति विस्तार आन्तरिक सत्ता परिवर्तनसँग जोडिन खोजिएको बारेसमेत राजनीतिशास्त्रीहरुले केलाउन थालिसकेका छन् । 

मुठभेडको मुडमा चन्द

यसैगरी, चन्द नेतृत्वको नेकपा सशस्त्र गतिविधिमा सक्रिय हुँदै गएको छ । प्रहरी चन्दप्रति कठोर बनेपछि उक्त समूहले प्रतिक्रिया जनाउन सक्ने भएकाले प्रहरी कार्यालयलाई सतर्क रहन निर्देशन दिइएको प्रहरी स्रोतले जनायो । चन्द समूहप्रति कडाभन्दा कडा नीति लिन सरकारबाट प्रहरीलाई निर्देशन भएपछि पक्राउको क्रम बढेको छ । चन्दका कार्यकर्ता प्रहरी कारबाहीमा मारिइसकेका छन् । राजधानीको घट्टेकुलोमा १२ जेठमा चन्द समूहले बम विष्फोटको तयारी गरिरहँदा विष्फोटमा परी चारजना चन्द समूहका कार्यकर्ता मारिए । उक्त घटनापछि चन्द समूहले विभिन्न स्थानमा बम विष्फोट र आगजनी गरेको थियो । 

चन्द मुठभेडको मुडमा पुगेपछि सरकारले ऊप्रति झन कठोर नीति लिने संकेत गरिसकेको छ । प्रम ओलीले चन्द समूहलाई ‘आतंककारी’ भनिसकेका छन् । प्रचण्ड चन्द कार्यकर्तालाई दलमा भित्र्याइरहेका छन् । ओलीले वार्तामा ल्याउने बाध्यात्मक परिस्थिति बनाउन खोज्दा चन्दले नटेरेपछि कडा रूपमा प्रस्तुत हुने संकेत दिएको बताईन्छ । विमर्श साप्ताहिकले लेखेको छ– चन्दको आक्रामक शैली र सरकारको कठोर नीतिमा देश मुठभेडमा जान सक्ने खतरा बढेको विश्लेषकहरुको ठम्याई छ ।
 

ताजा खबर