सलमान खानले बडिगार्डलाई थप्पड हानेपछि...

२०७६ जेठ २४ शुक्रबार ११:५५:०० मा प्रकाशित

एजेन्सी । आफ्नो व्यवहारका कारण सधैंजसो चर्चित भइरहने बलिउड स्टार सलमान खान फेरी एकपटक चर्चामा आएका छन् ।

बुधबारमात्र उनको फिल्म ‘भारत’ रिलिज भएको थियो । सोही कारण पनि उनि मिडियामा छाइरहेकै थिए । अहिले उनको चर्चा ह्वात्तै चुलिनुमा उनको फिल्म मात्र कारण नभइ उनले बडिगार्डलाई थप्पड हान्नु रहेको थाहा भएको छ ।

बुधबार रिलिज भएको उनको फिल्मको ‘प्रिमियर शो’ पश्चात उक्त घटना घटेको बताइन्छ । यसको एउटा भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा देखिएअनुसार सलमान खान आफ्नो गाडी तर्फ गइरहँदा बडिगार्डहरुले बाटो खाली गराइरहेको हुन्छन् । सोही क्रममा एक बडिगार्डले एउटा बालकलाई धकेलेको देखेपछि सलमानले ति गार्डलाई थप्पड हानेको उक्त भिडियोमा देखिन्छ ।

उक्त भिडियो अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ । उक्त भिडियोमा मिश्रित प्रतिक्रियाहरु आइरहेको बुझिएको छ ।

केहिले उनको आलोचना गर्दै सलमानको व्यवहार घमण्डी भएको भनेका छन् । यहि काम उनले भद्र रुपमा गर्न सक्ने भन्दै झापड हान्ने कदमलाई स्वीकार्य नभएको भनेका छन् । त्यस्तै केहिले भने गार्डले आफ्नो काम गरेको, तर सलमानले उक्त कामलाई सम्मान गर्न नसकेको भनेका छन् ।

त्यस्तै केहिले उनको समर्थनमा कमेन्ट गरेका छन् । ‘विरोधीहरु नकारात्मक कुरा गरिरहन्छन्, तर सलमानले ति गार्डलाई थप्पड हाने, जसले एउटा बालकलाई भिडमा लडाउने गरि धकेलेका छन् । सलमान यस्तै छन्, त्यहि कारण हामी उनको फ्यान हौं ।’ एक समर्थकले प्रतिक्रिया दिएका छन् ।

यस्तै खाले प्रतिक्रियाको घम्साघम्सीका कारण अहिले सामाजिक संजालमा उनको चर्चा चलिरहेको छ ।

सलमान खानको यस्तो किसिमको चर्चा आइरहनु नै सामान्य भइसकेको छ । छिटो रिसाउने र छिटै खुशी हुने उनको स्वभावले पनि उनलाई चर्चित बनाएको बुझिन्छ ।

उक्त घटनाको चर्चा चल्नु आफ्नो ठाउँमा छ, घटनाको भोलीपल्ट अर्थात् ईदको दिन सलमानको घर अगाडी शुभकामना दिन हजारौं दर्शक आएको बताइएको छ ।

 

ताजा खबर