विद्यालयलाई ल्यापटप वितरण

२०७६ जेठ २४ शुक्रबार ११:३१:०० मा प्रकाशित

म्याग्दी, २४ जेठ । म्याग्दीको रघुगङ्गा गाउँपालिकाका पाँच वटा विद्यालयलाई बिहीबार ल्यापटप उपलब्ध गराइएको छ । 

    सामुदायिक विद्यालयमा आधुनिक सूचना प्रविधिको पहुँच वृद्धि गरी प्रशासनिक र शिक्षण विधिमा सुधार गर्न सहयोग पु¥याउने उद्देश्यले १५ थान ल्यापटप वितरण गरिएको हो । 

    दक्षिण कोरियाको अम हङ गिल हुमन फाउण्डेशनले महादेव मावि बेगलाई चार, अमर मावि चिमखोलालाई तीन, मुक्तिधाम मावि भगवतीलाई चार, ज्ञानोदय मावि मौवाफाँटलाई दुई र रघुगङ्गा मावि पिप्लेलाई दुई थान ल्यापटप उपलब्ध गराएको हो । 

    भगवतीको मुक्तिधाम माविमा आयोजित समारोहमा महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाले विद्यालयका प्रधानाध्यापक तथा व्यवस्थापन समितिका अध्यक्षहरुलाई ल्यापटप वितरण गरेका थिए । 

    बेनीको प्रकाश माविलाई चार र म्याग्दी सामुदायिक पुस्तकालयलाई एक थान ल्यापटप उपलब्ध गराइने मन्त्री थापाका स्वकीय अधिकृत हस्तकुमार थापाले जानकारी दिए । 
    यसैगरी मन्त्री थापाले बिहीबार नै भगवतीमा शुरु भएको निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै सामाजिक रुपान्तरणका लागि महिलाको आर्थिक सशक्तीकरणमा सरकारले जोड दिएको बताइन्। 
 
    “महिला आयआर्जनको माध्यमबाट आर्थिक रुपमा सक्षम बन्न आवश्यक छ,” थापाले भनिन्, “त्यसका लागि सरकारले पिछडिएका महिलाहरुको आयआर्जन सुधारमा जोड दिएर बजेट, नीति तथा कार्यक्रम ल्याएको छ ।”
 भौगोलिक रुपमा दुर्गम, विकट र पिछडिएका क्षेत्रका विपन्न समुदायका गर्भवतीहरुलाई सुरक्षित प्रसूति सेवाका लागि हेलिकप्टरबाट उद्धारको व्यवस्थासमेत मिलाएको उनले जानकारी दिइन् । रासस

ताजा खबर