संस्कृत शिक्षाप्रति आकर्षण बढ्दै

२०७६ जेठ २३ बिहीबार १०:४१:०० मा प्रकाशित

गलेश्वर, २३ जेठ । पूर्वीय सभ्यता, दर्शन, धर्म र विज्ञानको जननी (आमा) मानिने संस्कृत शिक्षाको अध्ययनप्रति पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दै जान थालेको छ । विसं २०५२ पछि जनयुद्धका क्रममा विस्थापित भएको संस्कृत शिक्षा देशमा शान्ति पुनःस्थापनासँगै आध्यात्मिक चेतनाको विस्तार हुन थालेपछि पुनःपठनपाठन हुन थालेको हो । 

समाजमा हुने विभिन्न किसिमका धार्मिककार्य, अनुष्ठान र पूजापाठमा ब्राह्मण तथा पुरोहितको उपस्थिति घट्दै गएको अवस्थामा संस्कृति विषयप्रति विद्यार्थीको आकर्षण बढ्दै गएकामा सरोकारवालाले खुशी व्यक्त गरेका छन् । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरधाम परिसरमा सञ्चालन गरिएको शालग्राम गण्डकी वेद विद्याश्रममा पछिल्लोपटक विद्यार्थीको आकर्षण बढ्दै गएको हो । गलेश्वर शिवालय क्षेत्र विकास कोषद्वारा सञ्चालन गरिएको संस्कृत विद्यालयमा बसेर संस्कृत तथा आधुनिक विषय अध्ययन गर्नका लागि म्याग्दी जिल्लासहित देशका विभिन्न जिल्लाबाट विद्यार्थी आएका छन् । 

अहिले मुगु, रामेछाप, स्याङ्जा, पाँचथर, पर्वत, बागलुङ र म्याग्दीका गरी सात जिल्लाका विद्यार्थीले यहाँ अध्ययन गर्दै आएका छन् । शालग्राम कालीगण्डकी वेद विद्याश्रमका प्रधानाचार्य चिरञ्जीवी आचार्यले दिएको जानकारीअनुसार उक्त विद्यालयमा हाल २८ विद्यार्थी अध्ययनरत छन् । विद्याश्रमको ६ कक्षामा १२, ७ कक्षामा आठ र ८ कक्षामा पनि आठ विद्यार्थीले संस्कृतसहित आधुनिक विषय अध्ययन गर्दै आइरहेको उनले जानकारी दिए । 

सनातन÷वैदिक धर्मको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यसहित सञ्चालन गरिएको विद्याश्रममा संस्कृततर्फ संस्कृत व्याकरण, शुक्लयोजुर्वेद, संस्कृत भाषा र कर्मकाण्ड विषय रहेको छ । यसैगरी आधुनिक विषयतर्फ नेपाली, सामाजिक, अङ्ग्रेजी र गणित विषयको अध्ययन अध्यापन भइरहेको प्रधानाचार्य आचार्यले बताए । उनका अनुसार मुख्य विषय भने संस्कृतलाई नै जोड दिइएको छ ।

वेद विद्याश्रममा अध्ययनरत सबै विद्यार्थीलाई गलेश्वर शिवालय क्षेत्र विकास कोषबाट निःशुल्क रुपमा आवासीय सुविधासहित अध्ययन गर्ने व्यवस्था मिलाइएको छ । त्यस्तै अध्यापनरत तीन शिक्षकको तलब पनि क्षेत्र विकास कोषले नै व्योहोर्दै आइरहेको छ । शालग्राम वेद विद्याश्रममा चालू शैक्षिक सत्र २०७६ को वैशाखदेखि कक्षा ८ सञ्चालन गरिएको कोषका कार्यालय सचिव रामबहादुर बानियाँले जानकारी दिए ।

विगतमा संस्कृत विद्यालय सञ्चालन गरिएको भए पनि बीचको समयमा आएर केही समय बन्द भएपछि विसं २०७३ बाट पुनः संस्कृत अध्ययन गराउने उद्देश्यका साथ गलेश्वरमा वेद विद्याश्रम शुरु गरिएको थियो । गलेश्वर मन्दिर परिसरमा केही समययता विभिन्न पूर्वाधारसमेत थपिएका छन् । प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वारका रुपमा रहेको गलेश्वर मन्दिरको चौतर्फी विकासका लागि क्षेत्र विकास कोषबाट आवश्यक पहल थालिएको कोषका अध्यक्ष रुद्रबहादुर केसीले बताए ।

विसं २०४४ मा स्वामी श्रीधराचार्यले  गलेश्वरमा आश्रम बनाई संस्कृत शिक्षा र आध्यात्मिक ज्ञानको प्रचारप्रसार गरेका थिए । उनले आफ्नै व्यक्तिगत लगानीमा गलेश्वरमा संस्कृत पाठशाला स्थापना गरेका थिए । सोही संस्कृत पाठशाला बीचमा केही समय बन्द भएपछि हाल पुनः सञ्चालनमा ल्याइएको हो । रासस

ताजा खबर