दिगो विकासका लागि शिक्षामा लगानी गर्नुपर्छः राष्ट्रपति

२०७६ जेठ २२ बुधबार १२:३६:०० मा प्रकाशित

बाँके, २२ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको दिगो विकासका लागि शिक्षामा लगानी वृद्धि गर्न आवश्यक रहेको बताएकी छिन् । 
वैजनाथ गाउँपालिका–५ जीगाउँस्थित प्रभात माध्यमिक विद्यालयको ५० औंँ वार्षिकोत्सव तथा स्तम्भ अनावरण कार्यक्रममा राष्ट्रपति भण्डारीले सामुदायिक विद्यालयको स्तर वृद्धिसँगै गुणात्मक शिक्षा दिनुपर्नेमा जोड दिइन् । 
बालबालिकाको शैक्षिक गुणस्तरमा ध्यान दिन शिक्षक तथा अभिभावकलाई आग्रह गर्दै उनले भनिन्, “शैक्षिक लगानीले बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने अवसर प्रदान गर्छ । राज्यले शिक्षामा गरेको लगानीको प्रतिफल जनताले पाउनुपर्छ ।” राष्ट्रपति भण्डारीले शिक्षालाई व्यावहारिक, जीवनोपयोगी र गुणस्तरीय बनाउन सामुदायिक विद्यालय र अभिभावकको भूमिका महत्वपूर्ण रहेको बताएकी हुन् । 
    सामुदायिक विद्यालयलाई बालमैत्री क्षेत्रका रुपमा विकास गर्दै आवश्यक भौतिक पूर्वाधारमा समेत सरकारले लगानी गर्नुपर्नेमा जोड दिँदै उनले सामाजिक विकृति र विसङ्गतिको अन्त्य गर्न पनि गुणस्तरीय शिक्षा जरुरी रहेको बताइन् ।   
    उनले सबै नागरिकले अनिवार्य र आधारभूत शिक्षा पाउनुपर्नेमा जोड दिँदै सामुदायिक विद्यालयको गुणस्तर सुधार गरी रोजगारमूलक शिक्षा प्रदान गर्न आवश्यक रहेको बताइन् । 
    अर्को एक प्रसङ्गमा राष्ट्रपति भण्डारीले यस क्षेत्रका राष्ट्रिय गौरवका आयोजनालाई पूर्णता दिन सरकारलाई सुझाव दिँदै सिक्टा सिंचाइ आयोजना, भेरी बबई डाइभर्सनलगायत यहाँको राष्ट्रिय गौरवका आयोजना निर्माणमा सरकारले चासो देखाउनुपर्ने बताइन् ।  राष्ट्रपति भण्डारीले आजै अपराह्न २ बजे नेपालगञ्जमा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठीको उद्घाटन गर्ने कार्यक्रम छ । रासस

ताजा खबर