किन सुत्नै सकिनन् केटरीना ? यस्तो छ कारण

२०७६ जेठ २१ मंगलबार १२:३९:०० मा प्रकाशित


एजेन्सी । बलिउड नायिका केटरीना कैफले फिल्मको चिन्ताले सुत्नै नसकेको बताएकी छिन् । नायक सलमान खानसँगको उनको फिल्म ‘भारत’ बुधबार रिलिज हुँदैछ । ‘भारत’ को प्रबद्र्धनमा व्यस्त उनी सोही फिल्मको कारण रातमा निदाउन नसकेको बताएकी छिन् ।

फिल्ममा केटरीना र सलमान बाहेक, तब्बू, दीशा पटानी र ज्याकी श्रफ रहेका छन् । फिल्ममा केटरीनाले अहिलेसम्मकै गम्भिर भुमिकामा काम गरेको र यसको लागि उनले थुप्रै मेहनत पनि गरेको बताइन्छ । फिल्म ‘भारत’ को कथा लेखन र निर्देशन चर्चित निर्देशक अली अब्बास जाफरले गरेका हुन् ।

केटरीनाले मिडियासँग कुरा गर्दै भनिन्, ‘पछिल्ला केहिदिन देखि म सुत्न सकिरहेको छैन । म फिल्म ‘भारत’ को लागि एकदम उत्साहित छु । फिल्ममा मेरो कामको बारेमा दर्शकले कस्तो प्रतिक्रिया दिने हुन् भनेर म अति व्यग्र भएको छु । जस्तो फिल्म बनेको छ, म सन्तुष्ट छु । ’

फिल्मले बक्स अफिसमा कस्तो कारोबार गर्ला भन्ने प्रश्नमा उनले भनिन्, ‘यसबारे अहिले अनुमान गर्न कठिन छ । हामीले दर्शकको माया र साथ पाउन्जेल, हामीले दर्शकको अपेक्षा पुरा गरुन्जेल, राम्रो नै हुन्छ । ’

बलिउडमा थुप्रै फिल्ममा काम गरेपनी अभिनयको कारण चर्चित हुन नसकेकी केटरीनाले यस फिल्मलाई आफ्नो जीवनको कोशेढुंगा मानेकी छिन् । पछिल्लो समय आमिर खान र शाहरुख खानसँग फिल्म खेलेपनी फ्लप भएको कारण यस फिल्मबाट भने उनले गुमेको साख फर्काउने प्रयास गरेको बुझिएको छ ।

पछिल्लो समय कार्यव्यस्तता बढेकी केटरीनाले रोहित शर्माको फिल्म ‘सूर्यवंशी’मा पनि काम गर्ने पक्का भइसकेको छ । उक्त फिल्मको नायक भने अक्षय कुमार रहेका छन् ।

 

ताजा खबर