अब शिक्षकलाई अनलाईनबाट तालिम

२०७४ जेठ ३१ बुधबार ११:४२:१० मा प्रकाशित

सरल संवाददाता - भक्तपुर, ३० जेठ । शैक्षिक गुणस्तर बृद्धिका साथै शिक्षामा प्रविधिको विकासका लागि सरकारले शिक्षा शास्त्र नपढिकनै शिक्षक बनेका शिक्षकलाई अनलाईन मार्फत् तालिम दिने तयारी गरेको शैक्षिक जनशक्ति विकास केन्द्रले जनाएको छ ।
सरकारले पहिलोपटक अनलाईन मार्फत् यसरी तालिम दिन लागेको हो । उक्त तालिममा कक्षा ११ र १२ मा अध्यापन गराउने शिक्षक मात्र सहभागी हुन पाउने केन्द्रले बताएको छ ।
कक्षा १ देखि कक्षा १० सम्म अध्यापन गराइरहेका अधिकांश शिक्षकले पेशागत तालिम लिइसकेका कारण कक्षा ११ र १२ मा अध्यापन गराउने शिक्षकलाई मात्र सो तालिम दिन लागेको केन्द्रको भनाइ छ । मोडल लर्निङ म्यानेज्मेण्ट सिस्टम छ, त्यो प्लेटफर्म अन्तर्गत रहेको फ्री सफ्टवेयरको प्रयोग गरेर शिक्षकलाई तालिम दिन लागेको केन्द्रका तालिम संयोजक बौद्ध निरौलाले बताए ।
‘पाइलट प्राजेक्ट’ को रुपमा यो वर्षबाट सुरु गरिएको सो तालिममा विज्ञान, व्यवस्थापन र मानविकी संकाय पढेर शिक्षण पेशामा संलग्न शिक्षकलाई सहभागी गराइने केन्द्रले जनाएको छ । त्यसमा २० जना शिक्षक सहभागी हुने छन् ।

केन्द्रले तयार गरेको तालिमका विषयबस्तुलाई सम्पादन गरेर पाठ्यक्रम तयार गरिएको बताउँदै तालिम संयोजक निरौलाले अनलाईन मार्फत नै विभिन्न कामहरु गराउने खाका समेत तयार भएको जानकारी दिए ।
त्यसका लागि तालिममा सहभागी शिक्षकलाई तीन दिने अभिमुखीकरण समेत सुरु भएको छ । सो अभिमुखीकरणपछि शिक्षकलाई घरमै बसेर तालिमसम्बन्धी काम गराउने र अन्तिममा अनलाईन मार्फत् जाँच दिन लगाउने व्यवस्था गरिएको छ ।
९० दिनको समयावधिको सो तालिमको अवधिका क्रममा प्रशिक्षार्थी र प्रशिक्षक दुबैले अनलाईनमार्फत् तालिमका विषयवस्तुमाथि छलफल गर्ने छन् । अभिमुखिकरणमा काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक गरी ६ जिल्लाका शिक्षकलाई सहभागी गराइएको छ ।

ताजा खबर