ज्याकी चानसँग भेटेर दंग छन् ऋतिक

२०७६ जेठ १९ आइतबार १३:२९:०० मा प्रकाशित

एजेन्सी । बलिउड नायक ऋतिक रोशन अहिले चीनमा रमाइरहेका छन् । यामी गौतमसँगको उनको फिल्म ‘काबिल’ को प्रबद्र्धनको लागि त्यहाँ रहेका उनले शनिबार ज्याकी चानसँग भेट गर्न मौका पाएका छन् । ज्याकीसँग भेट पछि दंग परेका उनी अहिले चर्चामा पनि रहेका छन् ।

ऋतिकले ज्याकीसँग खिचिएको आफ्नो तस्विर सार्वजनिक पनि गरेका छन् । इन्स्टाग्राममा शेयर गरेको उक्त फोटोमा उनले उत्साहित हुँदै लेखेका छन्, ‘ज्याकी चानसँगको भेटबाट धेरै स्तरमा धेरै कुरा सिक्ने अवसर प्राप्त भयो । यो अद्भुद अनुवर रह्यो । म यसबाट प्रेरित छु । ’

उनको फिल्म ‘काबिल’ चीनमा आगामी जुन ५ मा रिलिज हुँदै छ । चीनमा रहेका उनले त्यहाँ अपार माया पाएको कुरा उनले फोटो र भिडियोमा पनि शेयर गरेका छन् ।

ठुलो संख्यामा उपस्थित फ्यानले उनको अटोग्राफ लिन तथा फोटो खिचाउन रस्साकस्सी गरेको उक्त भिडियोमा देखिन्छ ।

फिल्म ‘काबिल’ बाहेक ऋतिकको फिल्म ‘सूपर ३०’ पनि आगामी जुलाई १२ मा रिलिज हुँदै छ । त्यसबाहेक ऋतिक र टाइगर श्रफको फिल्म पनि आउने खबर बाहिरिएको छ । नाम जुरिनसकेको उक्त फिल्ममा यि दुई चर्चित नायकको काम देख्न पाइने भएको बताइन्छ ।

 

 

ताजा खबर