पहिलो शैक्षिक महोत्सव सम्पन्न

२०७६ जेठ १९ आइतबार १३:३१:०० मा प्रकाशित

बेनी, १९ जेठ  । मुलुकको विकास र समृद्धिको लागि दक्ष जनशक्ति उत्पादन आवश्यक रहेकाले स्थानीय तहले समेत शिक्षा नीति बनाउँदा उपयोगी र प्राविधिक शिक्षालाई जोड दिनुपर्ने आवश्यकता औँल्याइएको छ ।  

    बेनी नगरपालिका–६ अर्थुङ्गेस्थित जामुनाखर्क माविद्वारा आयोजित जिल्लामै पहिलो शैक्षिक महोत्सवका अवसरमा आयोजित ‘बृहत् शैक्षिक बहस’ कार्यक्रममा प्राडा कर्णबहादुर बानियाँले स्थानीय स्रोत साधनलाई सदुपयोग गर्ने लक्ष्यसहित शिक्षाको नीति बनाउनुपर्नेमा जोड दिए । उनले नेपालको सङ्घीय संरचनामा स्थानीय तहको शिक्षासम्बन्धी अधिकार र अङ्गिकार गर्नुपर्ने नीतिको खाँचो औँल्याए ।  

    सो अवसरमा प्राडा होमबहादुर बरुवाल र प्रा किरण सापकोटाले टिप्पणी गर्दै स्थानीय तहको सम्भावना उजागर गर्ने, प्राविधिक शिक्षालाई सर्वसुलभ बनाउने खालको शिक्षा नीति निर्माणमा स्थानीय तहले बृहत् छलफलमार्फत शिक्षा नीति निर्माण गर्नुपर्नेमा जोड दिए ।

     ‘शिक्षा, विज्ञान, प्रविधि, कला र साहित्यको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ चार दिनसम्म सञ्चालन भएको महोत्सवमा विविध शैक्षिक प्रतियोगिता, शैक्षिक बहस, बृहत् अन्तरक्रिया र गतिविधि समावेश गरिएको थियो । महोत्सवमा अन्तर मावि जिल्लास्तरीय हाजिरी जवाफ, ‘समृद्धिको लागि शिक्षा’ विषयक वक्तृत्वकला, खुला कविता प्रतियोगिता, कवि गोष्ठी, विद्यार्थी र युवाको प्रतिभा प्रदर्शनलगायतका कार्यक्रमलाई समेत समावेश गरिएको थियो ।

    महोत्सवमा विभिन्न विद्यालयका विद्यार्थीद्वारा निर्माण गरिएका शैक्षिक सामग्रीको प्रदर्शनसहित विद्यालयमा अध्ययन गरेर उच्च शिक्षा हासिल गर्दै विभिन्न सरकारी सेवा र बैंक तथा वित्तीय संस्थाको माथिल्लो तहमा पुग्न सफल भूतपूर्व विद्यार्थी, अभिभावक र सरोकारवालासँग समेत बृहत् अन्तरक्रिया गरिएको विद्यालयका प्रअ सोमनाथ ढुङ्गानाले जानकारी दिए ।
 
    महोत्सव समापन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले जिल्लामा पहिलोपटक आयोजना गरिएको शैक्षिक महोत्सवले शिक्षा क्षेत्रमा सरोकार राख्नेहरुका लागि महत्वपूर्ण सन्देश प्रवाह गरेको बताए । सो अवसरमा नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेल, कृषि वैज्ञानिक डा टीका कार्कीले विद्यालयको शिक्षा नीति र पढाउने शैलीलाई परिवर्तन गर्न स्थानीय सरकारले चासो दिनुपर्नेमा जोड दिएका छन्  । रासस

ताजा खबर