बलिउड शैलीको फिल्म काम छैन,नेपालीपन चाहियो

२०७४ भदौ ९ शुक्रबार १२:५४:०० मा प्रकाशित

  यज्ञश मूलत पत्रकार हुन् । उनी फिल्म समीक्षकका रुपमा पनि परिचित छन् । समकालीन पुस्ताका लागि यज्ञश कुनै नयाँ नाम होईन । कला र फिल्मका बारेमा शास्त्रीय टिप्पणी भन्दा फरक शैलीको समालोचना गर्ने यज्ञश एकजना गम्भीर समीक्षक हुन् । उनको तथ्यपरक समीक्षा नेपालका सालाखाला निर्माता र निर्देशकलाई रुच्दैन तर आफ्नोपन झल्कने फिल्मको व्यग्र प्रतिक्षा गरिरहेका दर्शक यज्ञशको फिल्म समालोचना पढेर धीत मार्छन् । कुनै योजनाबिना नै पत्रकारितामा पसेर यसमै अल्झिरहेका यी परिचित पत्रकार र फिल्म समीक्षक यज्ञशले सरल पत्रिकासँगको वार्तामा नेपाली चलचित्रको समग्र हैसियतको चिरफार गरेका छन् । अहिले कान्तिपुर पब्लिकेसनमा कार्यरत यज्ञशको अनुभव उनकै शब्दमा ः


तपाई पत्रकारितामा कसरी आउनु भयो ? 

पत्रकारितामा आउनुअघि म पत्रिकाहरु निकै कम पढ्थें । पढ्दा पनि कि त फिल्मी पत्रिका पढ्थें वा राजनीतिक अखबारहरुमा पनि फिल्मका स्तम्भ मात्र पढ्थें । स्कुल पढ्दा खेरी हामी पत्रिका पढ्थेनौं, किनभने हाम्रो गाउँमा÷स्कुलमा पत्रिका आउँथेन । गाउँमा त्यसबेला बत्ति पुगेको थिएन, टेलिभिजन हुने त कुरै भएन । आइए पढ्न जिल्ला सदरमुकाम दमौली आएपछि भने एउटा ठूलो फिल्महल खुलेको थियो । दमौलीमा फिल्म हलहरु थिए, पत्रिका पसलहरु थिए । मेरो काम भनेको हलमा फिल्म हेर्ने र पत्रिकामा फिल्मका समाचार पढ्ने थियो । पत्रिकाको गम्भीर पाठक बनेको त पत्रकारितामा आएपछि मात्रै हो ।

मैले ‘युगवाणी’ साप्ताहिकमा फिल्मबारे लेख्थें । पछि त्यसमै फिल्मबारे लेख्ने÷अन्तर्वार्ता गर्ने गरी काम गर्न थालें । यो पत्रिकामा एक–डेढ वर्ष काम गर्दा पेशल लुईँटेल, विनय देवकोटासँग मेरो संगत भयो । हामीहरु बीच सल्लाह भयो– आफैं मिलेर एउटा फिल्म म्यागजिन निकालौं । हामीहरु त्यसबेला खासै धेरै कुरा जान्दैनथ्यौं तर जोश र जिज्ञासा चाहिँ थियो । जिज्ञासाले नै मानिसलाई जान्ने बनाउने हो, हामीमा ज्ञान कम भए पनि जिज्ञासा र जान्ने चाहना धेरै थियो । हामीहरु त्यसबेला नेपालका र भारतका थुप्रै फिल्म म्यागजिनहरु पढ्थ्यौं । यसबाटै हामीलाई पनि पत्रिका निकाल्न सक्छौं भन्ने भएको थियो । हामीहरु मिलेर ‘सिने सिमल’ म्यागजीन निकाल्न थाल्यौं । त्यसमा हामी थुप्रै साथीहरु थियौं । नारायण पुरीदेखि बिकास आचार्य, निखिल उप्रेतीहरुको सहयोग थियो । विजयराज सिग्देल र विनय सिग्देल यसका प्रकाशक हुनुहुन्थ्यो । विजय दाई अहिले फिल्म निर्माता हुनुहुन्छ । शुरुमा मासिकका रुपमा निकालेको म्यागजिन ठीकै चलेको थियो । पछि हामीले साप्ताहिक बनायौं । अनि धान्न सकिएन । जम्मा एक–डेढ वर्ष निकालेपछि बन्द भयो ।

त्यसपछि मैले देशान्तर, विमर्श र विमोचनमा अलिअलि लेख्न थालें । पछि विमर्श रंगीन भएपछि निकै छोटो समय काम गरें । त्यसको केही समयमा नै देशान्तर पनि रंगीन भयो । अनि म यसमा गएँ । देशान्तरमा एक वर्षभन्दा बढी काम गरियो । देशान्तरमा म फिल्मको मात्र लेख्दैनथें । राजनीतिक अन्तर्वार्ताहरु पनि गर्थें । देशान्तर छाडेपछि फेरि युगवाणी निकाल्ने कुरा भयो । तेजप्रकाश पण्डित, बिष्णु निष्ठुरी र प्रकाश अधिकारी दाईहरु मिलेर युगवाणी निकाल्ने कुरा भयो । म फेरि युगवाणी गएँ । त्यहीबीचमा ब्रिटिस गोर्खा सैनिकहरुले प्रकाशन गरेको म्यागजिन ‘नेपाल फोकस’मा कोमल भट्टराई र कवि पदम गौतमसँगै मैले पनि काम गरें । २०६२÷६३ को जनआन्दोलनपछि जब ‘नयाँ पत्रिका’ दैनिक शुरु भएपछि म दैनिक पत्रिकाहरुतिर आएँ ।

तपार्इं एउटै पत्रिकामा धेरै समय टिक्न नसक्नुको कारण ?

मलाई पत्रिका र पत्रकारितामा क्यारियर बनाउँछु भन्ने थिएन । म कुनै विचार लिएर, योजना बनाएर पत्रकारितामा आएको थिइनँ । यसैले पनि होला, म छिटोछिटो हिँडिरहन्थें । मलाई यहाँबाट कहाँ जाने भन्ने पनि थाहा थिएन । नियमित दश–पाँचको जागिरले पनि मलाई कहिल्यै आर्कषित गरेन । ठूलो लगानी गरेर कुनै व्यवसाय गर्ने हैसियत मेरो थिएन । त्यसैले होला कहिले एउटा, कहिले अर्को गर्दै पत्रिकाहरुमै चहार्दै रहें । एकै ठाउँमा टिक्न गाह्रो हुनुको अर्को कारण मलाई जे कुरामा पनि चाडै दिक्क लाग्ने र एउटै काम दोहोराएर गरिरहँदा एकदमै गाह्रो लाग्थ्यो । अर्को पत्रिकाहरुको आर्थिक र अन्य हिसाबले हेर्दा पनि राम्रो अवस्था थिएन । हामीले आफै निकालेको म्यागजीन पनि हामीले धेरै टिकाउन सकेनौं । त्यसबाट हाम्रो तलबै भन्ने पनि थिएन । हामीले खाली गुजारा मात्रै गर्ने हिसाबले काम गरेका थियौं । अरु साप्ताहिक पत्रिकाहरुमा पनि गाह्रो नै थियो ।

फिल्म समीक्षा र गम्भीर खालको लेखनचाहिँ कसरी शुरु भयो ?

पत्रिकाहरुमै रहँदा फिल्म फेस्टिभलहरु र अरु कार्यक्रमहरुमा विस्तारै मानिसहरुसँग भेट हुनथाल्यो । देशान्तरमा फिल्मबारे लेख्न थालेपछि चाहिँ अलि धेरै मान्छे चिन्न थालियो । त्यसै क्रममा नविन सुव्बा, अनुप सुवेदी, नारायण अमृत, अनुप बरालहरुको सर्कलमा पुगियो । अनि बल्ल फिल्म भनेको बलिउड मात्र होइन, यसभन्दा बाहिर राम्रा फिल्म छन् भन्ने थाहा भयो । फिल्म सम्बन्धी किताबहरु पनि पढ्न थालियो । त्यसपछि बल्ल समीक्षा लेख्न थालेको हो । यसैमा म बिस्तारै रमाउन थालें । एउटा राम्रो फिल्म हेर्दा एकदमै आनन्द आउने, एउटा फिल्ममाथि राम्रो चिज लेख्न पाउँदा धेरै आनन्द आउने भएपछि मलाई यो धेरै गाह्रो चाहिँ भएन ।

कति भयो यो क्षेत्रमा लाग्नुभएको ?

‘युगवाणी’ मा फिल्म सम्बन्धी मेरो पहिलो लेख २०५६ सालमा छापिएको हो । त्यसको अर्को वर्षदेखि म त्यसको रिपोर्टर बनेको हुँ ।

यत्रो समय पत्रकारिता गर्दा के हासिल गर्नुभयो त ? 

सबभन्दा पहिला पत्रिकामा आफ्नो नाम र आफूले लेखेको कुरा छापिएको देखेर नै आनन्दित भइन्थ्यो । म यो क्षेत्रबारे जाने बुझेर आएको मान्छे परिनँ, यसैले मलाई यसका धेरै आयामहरु थाहा थिएन । तैपनि, केही प्राप्त गरेजस्तो चाहिँ लाग्थ्यो । पछि त दैनिक पत्रिकाहरुमा आएपछि ठूलो पाठक पाइयो । पत्रकार÷लेखकका लागि सबभन्दा ठूलो भनेको उसको पाठक हो । पाठकले पढेन भने पत्रिकामा छापिएका कुराको मूल्य हुँदैन । समय र संयोगले होला मैले धेरै पाठकले विश्वास गरेका पत्रिकाहरुमा काम गर्ने अवसर पाएँ । र, सँधै आफ्नो रुचि भएका विषयमा लेख्न पढ्न पाएँ । फिल्म हेर्न र साहित्य पढ्न, देशको सामाजिक र राजनीतिक अवस्थालाई नजिकबाट नियाल्न पाएँ । यो अवसर पत्रकारिताले नै दिएको हो ।

सिनेमा कला इत्यादिमा लेख्नुहुन्छ, नेपालको सिनेमा पत्रकारिता कस्तो छ त ?

अहिले सिनेमा पत्रकारिता धेरै क्षेत्रमा बाँडिएको छ । पहिला जस्तो पत्रिकाको मात्र एकाअधिकार छैन । सकारात्मक हिसाबले हेर्ने हो भने अनलाइनहरुको ठूलो हस्तक्षेप छ । अनलाइनहरु धेरै बढिसकेका छन् । म सबै अनलाइन हेर्दिनँ यसैले सबैबारे त भन्न सक्दिनँ तर केही मुख्य–मुख्य अनलाइन र मुख्य–मुख्य पत्रिकाहरु दैनिक हेरिन्छ÷पढिन्छ । सिनेमा वा कलाबारे हाम्रोमा दुई तीनखाले लेखन छ । एउटा फिल्मको समीक्षा, त्यसको कला पक्षमाथि गरिने टिप्पणी गम्भीर अन्तर्वार्ता अथवा त्यही किसिमका लेखहरु । अर्को चाहिँ सेलिब्रिटी पत्रकारिता । जस्तो कलाकारहरुबारे लेख्ने गसिपहरु, टुक्रे समाचारहरु । कुन फिल्मले कति पैसा कमायो भन्ने पनि लेखिन्छ । केही त पाठक बढाउने चक्करमा अलि बढी नै निजी कुराहरु पनि लेखिएको देखिन्छ । तर, हाम्रो ध्यानचाहिँ व्यक्तिमाथि भन्दा पनि विचार र प्रवृत्ति, कलाका विविध आयामको चर्चामा जानुपर्छ भन्ने मलाई लाग्छ ।

सिनेमा र नाटकका राम्रा–नराम्रा दुबै किसिमका समीक्षा भइरहेका हुन्छन्, यहाँ आलोचनात्मक किसिमले लेख्ने वर्ग छ कि छैन ? 

छ तर सानो छ । यही कुरा सिनेमा नाटकमा मात्र नभएर, राजनीति र अर्थ वाणिज्यबारे पनि लागु हुन्छ । पाठकहरु धेरै किसिमका हुन्छन् । सबैको रुचि एउटै कुरामा हुँदैन । एउटा पाठकले पत्रिकामा प्रकाशित सबै चिज पढ्दैन होला । फिल्म, नाटक, पुस्तक वा राजनीति जुनसुकै विषयको समीक्षा लेख्ने हो त्यसबारे ज्ञान चाहिँ हुनुपर्छ । लेख्ने मान्छेले जहिले पनि आफ्नो ज्ञानको दायरा फराकिलो बनाउने प्रयास गर्नुपर्छ भन्ने मलाई लाग्छ । तर, फिल्म कस्तो सजिलो विषय भइदियो भने फिल्म हेर्नका लागि कुनै कुरा खोज्न वा जानी राख्न पर्दैन । फिल्म हेर्ने हरेक दर्शक त्यसको समीक्षक बन्न सक्छ, धारणा बनाउन सक्छ । यही सजिलो विधा भएकैले होला, फिल्मको प्रभाव पनि अरुको भन्दा व्यापक छ । आफ्नो धारणा बनाउन त सजिलै सकिन्छ तर समीक्षा लेख्नका लागि त केही सैध्दान्तिक कुरा र प्राविधिक कुरा पनि जान्नुपर्छ होला । त्यो विधा र कलाबारे ज्ञान हुनुपर्छ होला ।  
म कहिलेकाहीँ फिल्ममेकरहरुले समीक्षकको योग्यतामाथि प्रश्न उठाएको पनि देख्छु । यस्तो प्रायः आलोचनात्मक समीक्षा लेख्नेहरुबारे हुन्छ । समीक्षा लेख्न योग्यता चाहिँदैन भन्ने गलत कुरा हो । समीक्षा लेख्न योग्यता चाहिन्छ र त्यो योग्यताको मापन गर्ने काम मिडिया हाउसको वा सम्पादकको हो, फिल्ममेकरको होइन । पत्रिका वा सम्पादकले निश्चित योग्यता भएर नै कसैलाई कुनै विटमा लगाउने हो । र, सम्पादकले त्यसरी दिएको जिम्मेवारीमा पत्रकार÷समीक्षक साँच्चिकै योग्य हो कि होइन भनेर जाँच्ने काम चाहिँ पाठकले गर्छन् । कुनै पनि समीक्षकले आफूलाई लागेको कुरा लेख्ने हो दुनियाँले के सोचेको छ भनेर सबैको ठेक्का लिएर लेख्ने होइन । संसारले मानेभन्दा उसले उल्टो सोचेको पनि हुनसक्छ । तर, उसलाई विषयको ज्ञान चाहिँ हुनुपर्छ । अरुको मनको कुरा त कसले लेख्न सक्छ र ? उसको लेखाइको सिप र विषयको ज्ञान यस्तो हुनुप¥यो कि उसका पाठक त्यसमा विश्वस्त होउन् । जसले त्यो विश्वास जगाउन सक्दैन, उसले जे लेखेपछि पाठकले वास्ता गर्दैनन् ।

अहिले सिनेमा र नाटकको रिर्पोटिङ त्यति खारिएको छैन भन्छन नि, कतै यसको स्तरको कारणले त होइन ? 

अहिले धेरैवटा माध्यममा धेरैजनाले लेखिरहेकाले त्यस्तो लागेको पनि हुनसक्छ । केही समीक्षकहरुले राम्रो लेखिरहेका छन् । खारिनका लागि समय पनि लाग्छ । नेपालमा कला÷साहित्य बिटलाई धेरै महत्व दिइँदैन । प्रायः नयाँ आउनेले अभ्यास गर्ने विटका रुपमा यिनलाई लिइन्छ । यसले गर्दा पनि खारिन समय लागेको होला । फेरि पाठकले कुनै लेखक वा समीक्षकलाई पछ्याउन समय पनि लाग्छ होला । उसलाई विश्वास गर्नुअघि पाठकहरुले उसलाई तौलिन्छन् । तर पछिल्लो समयमा टुक्रे समाचारको तुलनामा समीक्षा र गम्भीर लेखरचनाको संख्या चाहिँ घटेको हो कि जस्तो लाग्छ ।

सिनेमा बन्ने क्रम एकदमै बढेको छ, यसको प्रभाव कस्तो देख्नुहुन्छ ? 

फिल्म त पहिले पनि निकै बन्थे । बीचमा घटेको थियो । अहिले डिजिटल क्यामेरा र मल्टीप्लेक्सको उदयपछि फेरि संख्या बढेको छ । फिल्म धेरै बन्दा यसमै निर्भर मानिसहरुका लागि पक्कै राम्रो होला । कलाकार प्राविधकदेखि वितरक र हलवालासम्मका लागि यो राम्रो कुरा हो । संख्या धेरै हुँदा प्रतिस्पर्धाले गुणस्तर बढ्छ भन्ने पनि छ । तर, म चाहिँ त्यसमा विश्वास गर्दिनँ । संख्या धेरै भएर राम्रो फिल्म बन्ने भए नेपालमा चाहिनेभन्दा बढी संख्यामा फिल्म बनेको धेरै भइसक्यो । तर, कुनै पनि पुराना फिल्ममेकरले नयाँ खाले फिल्म बनाएको देखिएन । नयाँ काम त नयाँ मान्छेले नै गरेका छन् ।

बलिउडको प्रभावबाट बाहिर निस्कने प्रयास भइरहेको छ, त्यो ठीक हो तर त्यति मात्र गरेर पुग्दैन । हाम्रो आफ्नो पहिचान र शैली भएन भने बलिउडबाट मुक्त भएर हलिउड वा कोरियाको शैलीमा पुग्ने खतरा हुन्छ । यसैले हामीले आफ्नोपनको खोजी गर्नु आवश्यक छ । बिहारी शैलीको राजनीतिले हामीलाई हुँदैन भनेको निकै सुनियो, बलिउडी शैलीको फिल्म पनि हामीलाई हुँदैन । हामी समीक्षकहरुले सँधै भनेको यही हो । हाम्रो पन भनेको के हो ? फिल्मको कथामा कसरी मौलिकता खोज्ने, त्यो कथालाई भन्ने शैलीमा कसरी आफ्नोपनको खोजी गर्ने ? नयाँ आविष्कार गर्ने भनेको यही हो । पछिल्लो समय सेतो सूर्य, कालो पोथीजस्ता फिल्महरु बनेका छन्, जसले हाम्रै नेपालीपनका कथाहरुलाई समेटेका छन् ।

तपाईको किताब ‘भुइयाँ’ आउन लागेको छ । के हो ‘भुइयाँ’ भनेको ? 

‘भुइयाँ’ थारु भाषाको शब्द हो । यसको अर्थ भूमि, धर्ती हो । मेरो यो किताबमा पछिल्लो १०–१५ वर्षमा नेपालमा भएका सामाजिक गतिविधि र आन्दोलनमा जोडिएका महिलाहरुको कथा छ । यसमा कोही भूमि आन्दोलन कोही सुकुम्बासीको अन्दोलन कोही दलित आन्दोलनमा लागेका मानिसहरु छन् । सिरहा सप्तरीको सिनो बहिष्कार आन्दोलनका नेता बलदेव रामको पनि कुरा यसमा छ । कसैको चाहिँ व्यक्तिगत जीवन नै सामाजिक संरचनाका कारण एकदमै खलबलिएको छ । वा जीवनको आकार नै बदलिएको छ । नेपालमा थुप्रै यस्ता मानिसहरु छन् जो सामान्य जीवन बाँच्न पाइयोस् भनेर अधिकारको लडाइ लडिरहेका छन् । कति मानिसहरु छन्, जो जंगलको बीचमा बसिरहेका छन्, सामुदायीक वनको जग्गामा । जसको घरमा वर्सेनी आगो लगाइन्छ । उनीहरु त्यही जमिन मलाई देउ भनिरहेका छैनन्, यहाँबाट बाहिर जान पाउँ प्रभु भनेर आन्दोलन गरिरहेका छन् । उनीहरु त्यो वनबाट निस्किन चाहन्छन्, तर समाजमा उनीहरुलाई नै वन कब्जा गरेको आरोप लागेको छ । सिरहा सप्तरीका दलितहरु छन्, उनीहरुले सामान्य कुरा भने– अबदेखि हामी मरेका पशुका मासु खादैनौं । तर, उनीहरुलाई नाकाबन्दी लगाइयो । यस्ता धेरै कथाहरु छन् । कञ्चनपुरदेखि मोरंगसम्मका महिलाहरुको कथा यसमा छ ।

समाज परिवर्तनका लागि ससानो आर्थिक–सामाजिक हैसियत भएका मानिसहरुका ससाना प्रयासको ठूलो भूमिका हुन्छ । तर, तिनका बारे खासै लेखिदैन । यी मानिसहरुले आफ्नो जीवनभर श्रम गर्छन् । तर त्यसको फल अरु नै कसैले लिइरहेको हुन्छ । मैले किताबका लागि गरेको यात्रामा बर्दियामा एकजना दम्पति भेटें– पार्वती राजी र काशिनाथ राजी । आफ्नो जीवनकालमा उनीहरु कमैया कमलरी बनेर पनि बसे । करिब ५० वर्ष निरन्तर श्रम गरेका उनीहरु अहिले पनि सुकुम्बासी छन् । ५० वर्षसम्म गरेको श्रम कहाँ गयो त ? यसको कुनै मूल्य हुँदैन ? ५० वर्षसम्म काम गर्दा पनि मान्छेले एउटा बस्ने ठाउँ पनि पाउँदैन भने हाम्रो न्याय र समानताका कुरा त खाली गफ मात्र भए नि । मैले यो किताबमा ठूला सिद्दान्तका कुरा नगरीकन यस्तै सामान्य मानिसहरुका कथा ल्याएको छु । 
सुकृत नेपालसँगको वार्तामा  आधारित 


 

ताजा खबर