बाबु अमिताभ र छोरा अभिषेकको फिल्मको भिडन्त हुने

२०७६ जेठ १५ बुधबार १०:४६:०० मा प्रकाशित

एजेन्सी । बलिउड नायक अभिषेक बच्चनले अघिल्लो वर्ष फिल्म ‘मनमर्जियाँ’ गरेपछि उनको व्यस्तता बढेको थाहा भएको छ ।
 
लामो समयको अन्तरालपछि फिल्ममा फर्किएका उनले उक्त फिल्ममा गरेको कामको प्रशंसा भएको थियो । हाल उनी अनुराग बाशुकोे फिल्ममा काम  गरिरहेका छन् । फिल्मको नाम भने अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

फिल्ममा अभिषेकका साथ राजकुमार राव, आदित्य रोय कपूर, सान्या मलहोत्रा, पंकज त्रिपाठी र फातीमा शेख लगायतका कलाकार रहेका छन् ।

उक्त फिल्म सन् २०२० को फेब्रअरी २१ मा रिलिज हुने बताइएको छ । यसअघि जनवरी २४ मा रिलिज हुने भनिएपनि कंगना रनौटको फिल्म ‘पंगा’ सोही मितिमा रिलिज हुने भएकोले अनुरागले फिल्मको मिति सारेको बताइन्छ ।

कंगनाको फिल्मसँग जुध्नबाट पछि हटेको अभिषेकको फिल्म भने उनको आफ्नै पिता अमिताभ बच्चनको फिल्मसँग भने भिड्नुपर्ने भएको छ । अमिताभको फिल्म ‘चेहेरे’ पनि फेब्रअरी २१ मा रिलिज हुने यसअघिनै घोषणा गरिसकेको छ । फिल्ममा अमिताभको साथै इमरान हास्मी, कृती खरबन्दा, अमृता पुरी लगायतका कलाकार छन् । फिल्मको निर्देशन भने रुमी जाफरीले गर्दैछन् ।

यसरी बाबु र छोराको फिल्म रिलिजको मिति जुध्ने भएपछि यसबारे चर्चा चल्न थालेको छ । तथापी खबरहरुका अनुसार अमिताभको फिल्मको मिति सर्न सक्ने सम्भावना भने रहेको छ । यि दुई बाबु छोराको फिल्म जुध्नु दुबैको हितमा नभएकोले फिल्मको मिति सर्ने सम्भावना आँकलन गरिएको बुझिएको छ ।

 

ताजा खबर