‘क्यासमिरी’ पदमार्गको सम्भाव्यता अध्ययन

२०७६ जेठ १४ मंगलबार १४:११:०० मा प्रकाशित

दमौली, १४ जेठ ।  आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर भ्रमण वर्षलाई सफल बनाउने उद्देश्यले तनहुँको ब्यास नगरपालिकाले पदमार्गको सम्भाव्यता अध्ययन गरेको छ । साबिक क्यामिन, सतिस्वाँरा, मिर्लुङ र रिस्ती गाविसलाई समेटेर बनाइएको ‘क्यासमिरी’ पदमार्गको नगरपालिकाले सम्भाव्यता अध्ययन गरेको हो ।

ब्यास नगरपालिकाभित्रका सम्भावित पर्यटकीय गन्तव्यको खोजी गर्नका लागि क्यासमिरी पदमार्गको अध्ययन गरिएको नगरपालिकाका उद्योग, पर्यटन तथा संस्कृति संरक्षण शाखाका प्रमुख विमल गिरीले जानकारी दिएका हुन् । उनले भने, “स्थानीयवासीको सुझाव सङ्कलन गर्दै आगामी वर्षको कार्यक्रममा पदमार्गलाई समावेश गरिनेछ ।”

तत्कालीन जिविस तनहुँले समेत तीन वर्षअघि यो मार्गको अध्ययन नक्सा तयार पारिएको थियो । नगरपालिका–७ सादी बगैँचादेखि शुरु हुने २८ किमी दूरीको पदमार्ग लमजुङको कुन्छा पुगेर टुङ्गिन्छ ।

तनहुँ पर्यटन विकास समितिका अध्यक्ष हरिसिंह गुरुङले सांस्कृतिक, प्राकृतिक र धार्मिक दृष्टिकोणले पदमार्ग उपयुक्त रहेको बताए । उनका अनुसार यो पदमार्गमा ७५ प्रतिशत टाकुरै टाकुरोमा पदयात्रा गर्न पाइन्छ । क्यासमिरी पदमार्ग विकास समितिका अध्यक्ष शम्शेरबहादुर कुँवरले पदमार्ग विकासका लागि नगरपालिकाले चासो देखाएकोमा खुशी व्यक्त गरे । उनले भने, “स्थानीय सरकारले यो पदमार्गलाई प्राथमिकतामा राखे समग्र यस क्षेत्रकै पर्यटन विकासका लागि सहयोग पुग्ने विश्वास लिएका छौँ ।”

 होमस्टेदेखि शहीद गाउँको अवलोकन 

यो जिल्लाका उत्कृष्ट पाँच पदमार्गमध्ये एक हो । जिल्लाको साबिक क्यामिन, सतिस्वाँरा, मिर्लुङ र रिस्ती गाविसको पहिलो अक्षर मिलाएर क्यासमिरी नामकरण गरिएको हो । हाल क्यासमिरीका अधिकांश क्षेत्रहरु ब्यास नगरपालिकाभित्र पर्दछ ।

समुन्द्र सतहदेखि करीब चार सय मिटर उचाइमा रहेको कलेस्ती उपत्यकादेखि तनहुँको दोस्रो अग्लो चुचुरो मिर्लुङकोट एक हजार ६५४ मिटरसम्म फैलिएको छ । सो क्षेत्रअन्तर्गत उत्कृष्ट दृश्यावलोकनका लागि मिर्लुङकोट, प्रसिद्ध धार्मिक स्थलहरु क्यामिन कालिका, राजापानी महादेव, बसाहास्थान, दर्गा जामे मस्जिद, ठूलोढुङ्गा, मिर्लुङ भङ्गेरथान आदि पर्दछन् । सो क्षेत्रमा मुख्य गरी घरबास, धार्मिकस्थलहरु, प्राकृतिक गुफा, प्याराग्लाइडिङ, ट्रेकिङ÷हाइकिङ जस्ता पर्यटकीय आकर्षण रहेको छ । 

सो मार्गमा पर्ने मिर्लुङकोट ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदाले भरिपूर्ण छ । यहाँ धर्माङ्गत सेन राजाको दरबारको भग्नावशेष, दरवार नजीकै कैलाशपति महादेवको मन्दिर, पश्चिमपट्टि शक्तिदेवका रुपमा पुजिने भयँरथान, शहीद गाउँ पुलिमराङ पर्छ ।

सात वर्षअघि सरकारकै निर्णयअनुसार नमूना गाउँका रुपमा छनोट भएको छापथोक यही पदमार्गमा पर्दछ । करीब सात सय मिटर उचाइको सदरमुकाम दमौलीबाट १४ किलोमिटर उत्तरमा अवस्थित छापथोक ग्रामीण पर्यटनका लागि कृषि र संस्कृतिसँगसँगै होमस्टेका लागि परिचित गाउँ हो । 

दमौलीबाट करीब २१ किलोमिटर उत्तरतर्फ भानु नगरपालिका–१३ मा पर्ने टुटेपानी गाउँ समुन्द्र सतहबाट एक हजार २७५ मिटर उचाइमा अवस्थित छ । जम्मा ३५ घरधुरीको टुटेपानी पूरै गुरुङ बस्ती हो । मिर्लुङकोट र क्यासमिरी पदमार्गको मुख्यद्वार टुटेपानी जिल्लाको नमूना घरबासका रुपमा विकास हुँदैछ ।

प्रजातन्त्र प्राप्तिका लागि राणाशासनको विरुद्ध जीवन आहूति गरी सहादत प्राप्त गर्ने ६ जना शहीदको जन्मभूमि पुलिमराङ पनि यही पदमार्गमा पर्ने गाउँ हो । कूल ८५ घरधुरीको यहाँ अधिकांश गुरुङ र क्षेत्री बस्ती रहेको छ । 

ताजा खबर