सिंगापुर गएका देउवा पुगे थाईल्याण्ड, पूर्व राजासँग लामै वार्ता

२०७६ जेठ १४ मंगलबार ११:५०:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणाले थाइल्याण्ड पुगेर पूर्वराजा ज्ञानेन्द्र शाहसँग दर्शनभेट गरेको भन्दै नेपाली कांग्रेसभित्र ठूलै तरङ्ग आएको छ । पूर्व राजा शाह यही जेठ ५ गते सपरिवार थाइल्याण्ड प्रस्थान गरेका थिए भने कांग्रेस सभापति देउवा श्रीमती आरजु राणा,  भतिजा (पिए) भानु देउवाका साथ जेठ ९ गते सिंगापुर गएका थिए । देउवाका मामा ससुरा शान्तकुमार मल्लले अघिल्लै दिन थाइल्याण्ड प्रस्थान गरेर देउवा दम्पत्ती र पूर्वराजा शाहबीच भेटघाटको तारतम्य मिलाएको समाचार स्रोतले दावी गरेको छ ।

अकस्मात भ्रमण तय 

छिमेकी मुलुक भारतको राजनीति आफ्नो अनुकूल भएको विश्लेषणसहित  पुनर्वहालीका लागि थप गतिविधि गर्न पूर्वराजा शाह एकमहिना लामो बसाइको योजना बनाएर थाइल्याण्ड गएका हुन । तर, कांग्रेस सभापति देउवाको भ्रमण भने आकस्मिक हो । उपसभापति विमलेन्द्र निधिलाई कार्यवाहक सभापति बनाइएको विज्ञप्ति पार्टी केन्द्रीय कार्यालयद्वारा जारी भएपछि मात्रै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले सभापति देउवा थाइल्याण्ड प्रस्थान गरेको सूचना पाएका हुन् ।

 पेटको रोग जाँचका लागि सभापति देउवा सिंगापुर गएको समाचार पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेललाई प्रवाहित गराउन पत्नी आरजु राणाले निर्देशन दिएको कांग्रेसवृत्तमा चर्चा छ । तर, देउवाको सिंगापुर भ्रमणको मुख्य प्रयोजन थाइल्याण्डमा रहेका पूर्वराजा शाहसँग भेटघाट गर्नु नै रहेको समाचारस्रोतले  जनाएको छ । त्यसो त तीन वर्षअघि सिंगापुरकै एक सौन्दर्य सम्बन्ध अस्पतालमा सभापति देउवाको अनुहारको चाउरीपना नियन्त्रण गर्ने सर्जरी गरिएको थियो भने पत्नी आरजु देउवाको नितम्बबाट चार किलो बोसो निकालेर मोटोपन घटाइएको समाचार त्यतिवेला नै आएको थियो । त्यसपछि हरेक १०–१० महिनाको अन्तरमा फलोअपका लागि देउवा दम्पत्ती सिंगापुर जाने गरेको छन् । 

संयोग कि सुनियोजित ?

संयोग हो कि सुनियोजित हो पूर्वराजा शाहको थाइल्याण्ड तथा सिंगापुर भ्रमण पनि त्यहीबेला हुने गरेको छ । गत साउनको पहिलो साता पनि देउवा दम्पत्ती सौन्दर्य सम्बन्धी फलोअपका लागि सिंगापुर जान टिकट काटेका थिए । तर पूर्वराजा शाहको थाइल्याण्ड भ्रमण साउनको अन्तिम साता मात्रै हुने भयो । त्यसपछि डा. गोविन्द केसीको अनसनको कारण देखाउँदै देउवा दम्पतीले पनि पहिले लिएको टिकट रद्ध गरी साउनको अन्तिम सातामात्रै भ्रमणको चाँजोपाँजो मिलाए । 

भारतको निर्वाचनको प्रभाव ! 

समाचार स्रोतका अनुसार भारतको राजनीति अनुकूल भएको अहिलेको मौकालाई चुक्न नदिने अभियानमा रहेका पूर्वराजा शाहलाई भरपुर सहयोग गर्ने मनस्थितिमा देउवा रहेको समाचार स्रोतको दावी छ । तत्कालीन राजा ज्ञानेन्द्र सत्तापलटबाट छटपटाएको र सरकार र शक्तिमा पुग्न जस्तोसुकै हर्कत गर्ने देउवाको बीचको मिलन भएमा अनौठो नहुने रामचन्द्र पौडेल निकट स्रोतले बताएको छ । 

२०४६ सालको जनआन्दोलनद्वारा प्राप्त उपलव्धि किस्तीमा राखेर राजा ज्ञानेन्द्रको पाउमा बुझाएको भन्दै देउवालाई नेपाली कांग्रेसले साधारण सदस्यताबाटै निस्कासन गरेको थियो । गणतन्त्रको सुनिश्चित भएपछि कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले राजनीतिक शक्ति सन्तुलनलाई ख्याल गर्दै देउवालाई पुन कांग्रेसमा भित्र्याएका थिए ।  

गणतन्त्र आइसकेको र पूर्वराजा  शाह निकै कमजोर भएको भन्दै कांग्रेस कार्यकर्ताले देउवालाई तीन वर्षअघि सभापति पदमा चुनाव जिताएका  थिए । तर, देउवा फेरि पनि जनान्दोलन २०६२–०६३ का उपलव्धि नष्ट गराउने अभियानमा भित्रभित्रै क्रियाशील हुन थालेको संकेत देखिएको भन्दै कांग्रेसवृत्तमा सनसनी मच्चिएको छ ।

पूर्व राजा ज्ञानेन्द्र र देउवाको नाता  

पूर्वराजा शाह र देउवाबीच दोहोरो नाता सम्बन्ध छ । एउटा नाता सम्बन्ध हो– ‘राजा शाहकी आमा रत्न शाह जुद्ध शमशेर राणाका जेठा छोरा हरि शमशेरकी छोरी हुन भने देउवा पत्नी आरजु राणा जुद्ध शमशेर राणाका कान्छा छोरा विनोद शमशेर राणाकी छोरी हुन् । अर्थात एउटै बाजेका नातिनीहरु हुन् ।’  

अर्को नाता सम्बन्ध हो– ‘आरजुकी आमा प्रतिभा राणा राजा त्रिभुवनकी  भान्जी हुन् । यस हिसावले राजा महेन्द्र र प्रतिभा राणा मामा चेला फुपु चेली हुन् । अहिले कांग्रेस सभापति देउवा र पूर्वराजा शाहबीच सिंगापुरमा भेटवार्ता गराउने चाँजोपाँजोको भूमिका निर्वाह गरेका शान्तकुमार मल्ल  आरजुका मामा हुन् । उनी लामो समयसम्म तत्कालीन राजा वीरेन्द्रका  सैनिक सचिव र पाश्ववर्ती थिए । 

 भारतको १७ औ लोकसभाको चुनाव अवधिभर अर्थात करिव ६ महिना पूर्वराजा शाहले तराईको भ्रमण गरी सत्तारुढ भाजपाका लागि आर्थिक लगायत अन्य वातावरण तयार गरिदिएको मिडियामा चर्चा चलिरहेको छ । 

पूर्वराजा शाहलाई जनकपुरको एक होटलमा एक रातसँगै बसेर भारतीय राजदूत मन्जिभ सिंह पुरीले भेटघाट गरेको सूचना प्रधानमन्त्री केपी शर्मा ओलीले एक सातापछि मात्रै पाएका थिए । संयोगले नेपालसँग सिमाना जोडिएका भारत सबै निर्वाचन क्षेत्रमा भाजपा तथा उसको गठवन्धनमा सामेल पार्टीले चुनाव जितेका छन् । यसको श्रेय दिँदै भारतीय प्रधानमन्त्री मोदीले आफूलाई पुनर्वहाली गरिदेलान भन्ने निचोडमा पूर्वराजा शाह पुगेको राजावादीहरुको दावी छ ।  

जागरण अभियान सिथिल

  यसैबीच नेपाली कांग्रेसले गत बैशाख २५ गतेदेखि आरम्भ गरेको एक महिने जागरण अभियान सिथिल बन्दै गएको छ । जागरण अभियानमा कार्यकर्ताहरुको सहभागिता घट्दै गएपछि नेताहरु समीक्षामा जुटेका छन् । जागरण अभियान सिथिल हुँदै जानुमा नेतृत्व नै दोषी रहेको नेता तथा कार्यकर्ताहरुको दावी छ ।  

प्रमुख भ्रातृ संस्था नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले राष्ट्रिय जागरण अभियान  सिथिल बन्दै जानुमा  संगठनविहीनता नै प्रमुख कारण रहेको जनाएका छन् । गत विहीबार बुटवलमा आयोजित एक सार्वजनिक कार्यक्रममा बोल्दै महासचिव शाहीले प्रश्न गरे– ‘भ्रातृसंस्थाहरुको हात खुट्टा बाँधिएको छ, अनि कसरी  सफल हुन्छ जागरण अभियान ?’ उनले विगत तीन वर्षदेखि नेपाल तरुणदल चार जना पदाधिकारीमै सीमित रहेको, गत माघदेखि नेवि संघ केन्द्रीय कार्य समितिविहीन भएको, विगत दुई वर्षदेखि नेपाल महिला संघको केन्द्रीय समितिको बैठक बस्न नसकेको, तीन वर्षमा हुनुपर्ने नेपाल दलित संघको महाधिबेशन छ वर्ष वितिसक्दा पनि हुन नसकेको, नेपाल प्रेस युनियनको म्याद एक वर्षअघि नै सकिएको उदाहरण दिँदै भने– ‘काम गर्ने भ्रातृ संस्थाहरुले हो तर भातृ संस्थाहरुकै यस्तो हालत भएपछि राष्ट्रिय जागरण अभियानले कसरी गति लिन्छ ?’

 भ्रातृ संगठनमात्रै होइन नेपाली कांग्रेसले पार्टी संगठनलाई पनि पूर्णता दिन सकेको छैन । कुनै पनि प्रदेशमा  कार्य समितिहरु छैनन् । कुनै पनि स्थानीयतह (पालिका) मा कार्यसमिति छैनन् । धेरैजसो प्रदेशसभा निर्वाचन क्षेत्र र केही प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा पनि कार्य समिति छैनन् । केन्द्रीय विभागहरु पनि अहिलेसम्म गठन गरिएको छैन । करिव डेढ वर्षको प्रतिक्षापछि सभापति देउवाले यसै साता छाँया सरकार गठन गरेका छन् तर ४८ सदस्यीय जम्बो छाँया सरकारको विषयलाई लिएर पार्टी्भित्रै प्रश्न उठेको छ । ओलीले संविधान बमोजिम २५ सदस्यीय  सरकार गठन गरेको अवस्थामा छाँया सरकार ४८ सदस्यीय बन्दा कस्तो सन्देश गएको होला ? सभापति देउवामाथि प्रश्न उठाइएको छ । 

यस्तै जागरण अभियानमा महिलाहरुको प्रतिनिधित्व ३३ प्रतिशत  नपुगेको भन्दै महिला नेतृहरुले सभापति देउवालाई ज्ञापनपत्र बुझाएका छन् ।  महासमिति सदस्य निमा गिरीको नेतृत्वमा पार्टीका शीर्ष नेताहरुलाई ज्ञापन पत्र बुझाउँदै जागरण अभियानका क्रममा ‘आसन र भाषण’ साथै अन्य महत्वपूर्ण कामहरुमा महिलाहरुको प्रतिनिधित्व बढाउन माग गरेका हुन । समयबद्ध साप्ताहिकले आफ्नो समाचार विश्लेषणमा लेखेको छ–जागरण अभियानमा असनमा महिला भाषणमा महिला, कर्ममा महिला हुनुपर्ने साथै कार्यक्रमलाई समावेशी बनाइनुपर्ने उनीहरुको माग छ । (फायल तस्बिर)

ताजा खबर