अब नेपाल जोगाउने कसले ?

अनि को हो मुलुक जोगाउने ?
को हो हाम्रो वर्तमान र भविष्यको रक्षा गर्ने ???
*****
सत्तरी बर्ष भयो न मुलुकले आफैं आफ्नो राजनीतिक समस्याको समाधान गर्ने सामर्थ्य प्रस्तुत गर्यो,
न वाह्य हस्तक्षेपबाट भएका परिवर्तनलाई आत्मसात गर्न सक्यो I
तर फेरी विश्लेषकहरू नेपाल अर्को परिवर्तनको सङ्घारमा उभिएको बताइरहेका छन् I
*****
कहिल्यै कसैको उपनिवेश नभएको एसियाको सबैभन्दा पुरानो राष्ट्र भनेको भरमा कहिल्यै नथाक्ने हामीसँग हाम्रो वर्तमानको उत्तर के छ ?
उपनिवेश भन्दा पनि खराव हालत छ हाम्रो I
कसैको उपनिवेश हुँदा मुलुकको कोही वारेश त हुन्छ I
मुलुकको कसैले जिम्मेवारी लिएको त हुन्छ I
यहाँ त कोही जिम्मेवारी लिने छैनन् I
तर वारेशविहीन छ वर्तमानमा हाम्रो मुलुक !अहिलेको सरकारले हिजोको सरकारलाई देखाउने र हिजोकोले अस्तीकोलाई ,
भोली पर्सी आउने ले त्यसै गर्ने !
अनि को हो हाम्रो वर्तमान र भविष्यकोलागि जिम्मेवार ?
*****
अब त झन् दुई ठूला मुलुकवीचको धोती सुर्को जस्तो मुलुकमा साँढे सात सय
सम्प्रभु सरकार रे !
तर जनताको जिम्मेवारी लिने कोही छैनन् !
उसले उसलाई उसले फेरी उसलाई देखाइदिए हुने I
हामी यही अवस्थामा रहने — तर हाम्रा दुई छिमेकीको राजनीतिक सामाजिक, आर्थिक र सैनिक सामर्थ्य बढ्दै जाँदा त्यसले छिमेकमा र क्षेत्रमा निर्माण गर्ने दवाव र तनाववीचका स्थितिबाट निर्माण हुने सम्भावित हस्तक्षेपमा हामी हाम्रो क्षमताले आफ्नो मुलुकको रक्षा गर्न सक्दैनौ !
*****
हिजो नेपालले अङ्ग्रेज, चीन र तिब्बतसँग युद्ध गरेको कुराको बखान गरेर हुन्छ ?
हिजो बन्दुक हामीसँग पनि थियो र उनीहरूसँग पनि बन्दुक नै थियो — हो तिनको क्षमतामा केही फरक थियो I
घना जङ्गलका अप्ठ्यारा भीर, पहरा र पाखाका अरिंगाल, बारुला , बछ्युं र भीर मौरीका गोलामा माथिबाट ढुङ्गा हारेर पनि हामीले शत्रुलाई अत्तालिने र भाग्ने बनाउन सक्यौं रे ,
अव पनि त्यही सम्झेर, त्यही बताएर आत्मरती लिएर हामीलाई कसले सक्छ भनेर बस्ने ?
उनीहरू तलबाट साधारण तोप हान्थे -हामी माथिबाट बढे बढे ढुङ्गा लडाइदिन्थ्यौं !
उनीहरू पनि पैदल हामी पनि पैदल -अलिअली घोडा !
युद्ध क्षमतामा ठूलो अन्तर थिएन I
सैनिक सङ्ख्याको मात्रै कुरा हुन्थ्यो I
आज ती सवै पूर्णत असान्दर्भिक भैसके I
*****
हामी इजरायल बन्न सकेनौ,
सिंगापुर बन्न सकेनौ.,
त्यसैले हामी हाम्रो क्षमताले हाम्रो रक्षा गर्न सक्दैनौ I
राजनीतिक सन्तुलन, संयम र कूटनीतिक कौशल मात्र हाम्रो बल हो I
तर कूटनीतिक क्षेत्रमा हामीसँग न यदुनाथ खनाल, हृषिकेश शाह, पदम बहादुर खत्रीहरू छन् न खनाल,शाह र खत्रीहरू तयार गर्नमा कुनै रुचि देखायौं I
भएकालाई हुर्मत लिएर तिनको तेजोवध गरिरहेका छौं I
*****
संसारका दुई सबैभन्दा ठूला जनसंख्यालाई प्रतिनिधित्व गर्ने दुई प्रमुख विश्व शक्ति राष्ट्रहरू वीचको र संसारको सर्वशक्तिमान राष्ट्रको प्रमुख चासो र सरोकारको क्षेत्र रहेको भूभागको कुनै मुलुक भित्रको समस्या उसको निजी हुनै सक्दैन I
हाम्रो आन्तरिक असन्तोष उनीहरूको शक्ति, प्रभाव, पहुँच निर्माण र हस्तक्षेपको आधार बनिदिन्छ !
त्यस अवस्थामा जव नेपालको आन्तरिक समस्या र सङ्कट विश्वका प्रमुख शक्ति राष्ट्रहरूकै वीचको समस्या र सङ्कट बन्न पुग्ने स्थिति निर्माण हुन्छ,
विश्व शान्तिकैलागि चुनौती बन्नपु गेको बताएर नेपालमाथि यो वा त्यो प्रकृतिको हस्तक्षेप हुन सक्दछ !
ठूला मुलुकको सहमति मै हुन सक्दछ - अफगानिस्तान, इराक, लिबिया, सिरिया हाम्रै आँखा अगाडि छन् त !
अनि नेपालको स्वतन्त्र इतिहासको भजन गाउन कहाँ जाने ???
*****
त्यस अवस्थामा पुग्न नदिन पहिलो कुरो,
मुलुकको रक्षाको भार नै अत्यन्त सन्तुलित परराष्ट्र नीतिले मात्र बहन गर्न सक्दछ I
तर त्यो सत्ता प्रतिष्पर्धामा रहेका दलहरुका सरकारबाट सम्भव छैन !
दलहरूले मुलुकलाई जोडेनन ,मुलुकलाई जोड्ने सँस्था -संरचना निर्माण गर्ने सकेनन् ,मुलुकमा विकृति र विभाजनमा मात्र उनीहरूको रूची देखियो I
तर फेरी दलहरू बेगरको राजनीतिक व्यवस्था, सरकार निर्माणको विधि बारे सोच्न सकिने अवस्था पनि छैन I
*****
त्यसैले मुलुकमा शासकीय शक्ति सन्तुलनको नयाँ मान्यता र सिद्धान्त विकास अनिवार्य देखियो !
त्यस अवस्थामा विभिन्न संवैधानिक अंगहरूवीच नियन्त्रण र सन्तुलनको स्थिओति समेत कायमगर्ने जिम्मेवारी सहित मुलुकको रक्षा र परराष्ट्र नीतिलाई दलगत धारणा भन्दामाथि उठेको राष्ट्र प्रमुखको जिम्मामा दिनुपर्दछ I
राष्ट्र प्रमुखको सँस्थालाई मुलुकको एकता र सामाजिक सद्भावको प्रतिनिधि सँस्थाको स्वरूपमा उठाउनु पर्दछ !
अर्को, मुलुकको दीर्घकालीन राजनीतिक भविष्य र यहाँको सामाजिक एकता र आर्थिक विकासलाई सुनिश्चित गर्ने प्रणाली विकाश गर्न भारत, चीन र अमेरिका समेतको सहमतिमा र राष्ट्र सङ्घ सुरक्षा परिषदलाई विशेष जिम्मेवारी प्रदान गरिनु पर्दछ I
त्यसपछि राष्ट्र सङ्घले नेपाललाई शान्ति क्षेत्र घोषणा गर्नु पर्दछ I
*****
शरीर रक्षाकोलागि हामीले कतिपय अवस्थामा अत्यन्त अप्रिय खान-पान र औषधि सेवन गर्नु पर्दछ !
अङ्गहरू चिरफार गर्नु पर्दछ , काटेर फाल्नु पर्ने अंश भए काटेर पनि फाल्नु पर्दछ !
राष्ट्र रक्षा पनि त्यस्तै हो !
राष्ट्र धर्म भनेको त्यही हो !हामीलाई मन नपर्ला , अपाच्य होला तर विकल्प देखिन्न !
छ भने कसैले त्यस्तो सुरक्षित विकल्प देओस !
जय नेपाल !
(राजनीतिक विश्लेषक केशबप्रसाद भट्टराईको फेसबूकबाट)