कंगनाको फिल्मसँग जुध्ने भएसँगै ऋतिकको फिल्म ‘सुपर ३०’ को मिति परिवर्तन

२०७६ जेठ १३ सोमबार १२:५९:०० मा प्रकाशित

एजेन्सी । बलिउडमा एक्शन स्टारको छवि बनाएका नायक ऋतिक रोशनको फिल्म ‘सुपर ३०’ को काम अन्तिम चरणमा पुगेको थाहा भएको छ ।

सन् २०१७ पछि पहिलोपटक ठुलो पर्दामा आउन लागेका ऋतिकले यस फिल्मबाट ठुलो आश गरेको बताइन्छ । उनले यस फिल्मको लागि लामो समय खर्चिएको र दर्शकले पनि प्रतिक्षा गरेको फिल्म भएपनि यसको रिलिज मिति भने बारम्बार परिवर्तन हुँदै आएको छ ।

यसअघि यो फिल्म जुन महिनामै रिलिज हुने बताइएपनि कंगना रनौटको फिल्म ‘मेन्टल हे क्या’ पनि सोही मितिमा रिलिज हुने खबरसँगै ‘सुपर ३०’ को रिलिज मिति परिवर्तन गरिएको थियो । कंगनासँग फिल्म नजुधाउन जुलाई २६ मा रिलिज गर्ने निर्णय गरेको यस फिल्मको टोलीले ऋतिककै आग्रहमा मिति परिवर्तन गरेको बताइन्छ ।

कंगना रनौट र ऋतिक रोशनको सम्बन्ध त्यति राम्रो छैन । कंगनाले मिडियामा जथाभावी बयान दिने गरेकोले ऋतिकले उनीसँगको ‘सम्भावित सम्बन्ध’ बिचमै छोडेका थिए ।

त्यसयता कंगना र उनकी बहिनी रंगोलीले ऋतिकलाई अनेक आक्षेप लगाउने गरेका छन् । यि दुई दिदीबहिनीको शिकार ऋतिकमात्र होइन, आलीया भट्ट, रणबीर कपूर, महेश भट्ट, सोनी राजदान र करण जोहरपनि हुने गरेका छन् ।

पछिल्लो समय कंगनाको फिल्म पनि जुलाई २६ मै रिलिज हुने भएपछि ऋतिकले पुनः निर्माण टोलीलाई ‘सुपर ३०’ को रिलिज मिति सार्न आग्रह गरेको बुझिएको छ । उनले आफुलाई अनावश्यक व्यक्तिगत आक्षेप र मानसिक हिंसा भोग्न मन नलागेको कारण पनि फिल्मको मिति परिवर्तनको आवश्यक रहेको बताएका थिए ।

निर्माण टोलीले सोही कारण ‘सुपर ३०’ को रिलिज मिति जुलाई १२ बनाएका छन् । यो सँगै यि दुई फिल्म नजुध्ने पक्का भएको छ । अब कंगनाको फिल्म जुलाई १२ मा ल्याउन सम्भव पनि नरहेकोले फरक मितिमै यि दुई फिल्म आउने भएका छन् । ऋतिकको यस कदम प्रति कंगनाको कस्तो प्रतिक्रिया आउने हो, त्यो हेर्न धेरै समय कुर्नुपर्ने छैन ।  

 

ताजा खबर