भोजपुरी नायिकामाथी पेस्तोल तेर्साएर बिहे गर्न दबाव दिएपछि...

२०७६ जेठ १२ आइतबार १३:०२:०० मा प्रकाशित


एजेन्सी । भारतमा फिल्मी कलाकारको फ्यान फलोइङ अद्भुद रहेको छ । केहि चर्चित नायक नायिकाको नाम जोडिएमात्र पनि फिल्मले राम्रो कारोबार गर्ने गरेको छ । फिल्म औसत भएपनि ति कलाकारलाई हेर्नको लागि मात्र पनि हल जाने प्रचलन भारतमा रहेको बताइन्छ ।

यहि फिल्मी कलाकार प्रतिको माया अधिक हुँदै गएपछि पागलपनको रुपमा परिणत हुने गरेको विभिन्न घटनाबाट पुष्टी भइसकेको छ । पछिल्लो समय भोजपुरी नायिकाको ‘डाइ हार्ट’ फ्यानले यस्तै पागलपन देखाएका छन् ।

भोजपुरी फिल्म ‘दुलारी बिटिया’ को शुटिङको लागि उत्तर प्रदेशको रोबर्टसगंज गएकी नायिका रितु सिंहलाई आफुसँग बिहे गर्न दबाव दिंदै एक फ्यानले पेस्तोल तेर्साएको थाहा भएको छ । उक्त घटनामा गोली लागि एक व्यक्ति घाइते भएका छन् ।  

फिल्मको शुटिङको लागि सिंह सहित करिब ७० सदस्यीय टोली मुम्बईबाट उक्त क्षेत्रमा गएका थिए । होटलमा रहेको बेला जौनपुर बस्ने २५ वर्षिय पंकज यादवले नायिकाको कोठामा खुसुक्क गइ आफुसँग विवाह गर्न धम्काएका थिए ।

नायिकालाई पेस्तोल देखाएर धम्काएपछि उनी चिच्चाएकी थिइन् । उनको आवाज सुनेर स्थानीय अशोक नाम गरेका व्यक्ति कोठामा आएपछि आत्तिएका पंकजले गोली नै चलाएका थिए । गोली अशोकको कम्मर लागेको बताइन्छ । गोलीको आवाज आएपछि होटलका कर्मचारी र फिल्मकर्मीहरु नायिकाको कोठामा पुगेको बताइन्छ ।

उक्त घटनापछि प्रहरीलाई खबर गरिएको र प्रहरी आएपछि सबैलाई बाहिर निकालेर स्थानीय प्रहरी एसपी सल्मान्ताज जाफेरताज पाटिलले पंकजलाई हतियार भुइँमा राख्न आग्रह गर्दै सम्झाएको बताइएको छ । कुराकानीका क्रममा पंकजले पेस्तोल कहिले नायिका तिर कहिले प्रहरीतिर सोझ्याएको पाटिलले जानकारी दिए


लामो सम्वाद पछि ति हतियारधारीले पेस्तोल खाटमा राखेका थिए । सोही समय ति प्रहरी अधिकारीले तन्ना आँफुतिर तान्दा पेस्तोल भुइँमा खसेको र पंकजले टिपेर एसपीमाथी नै चलाएको पाटिलले बताए । सो गोली एसपीको कान नजिकैबाट गएको बताइन्छ ।

गोलीको आवाज पछि बाहिर बसेका प्रहरी कोठामा छिर्दै पंकजको पाखुरा समातेर लगाएपछि उनी नियन्त्रणमा आएको र प्रहरीले उनलाई लगेको बताइन्छ । घटनालगत्तै नायिकाले पंकज विरुद्ध प्रहरीमा जोहरी दिएकी छिन् ।

खबर अनुसार पंकजले नायिका सिंहलाई लामो समय देखि पछ्याइ रहेका थिए । घटनापछि फिल्मको शुटिङ तत्कालको लागि स्थगित गर्दै सम्पूर्ण टोली फर्केको बताइएको छ ।

 

ताजा खबर