मोदीको बायोपिक हेर्नेको भिड बाक्लिँदै

२०७६ जेठ १२ आइतबार १२:३०:०० मा प्रकाशित

एजेन्सी । भारतीय लोकसभा निर्वाचनमा बलियो जित दर्ता गर्न सफल भएका भारतीय जनता पार्टी (भाजपा) का नेता तथा वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमा आधारित बलिउड फिल्म ‘पिएम मोदी’ को हेर्ने दर्शकको संख्या ह्वात्तै बढेको छ ।

यसअघि गत अप्रिल १२ मा रिलिज हुने भनिएको यो फिल्मले चुनावलाई असर पार्ने भन्दै रोकिएको थियो । नायक विवेक ओबरोयले मोदीको चरित्रमा अभिनय गरेको यो फिल्म नरेन्द्र मोदीको जीवनको राम्रो पाटो तथा सफलताको बखान गर्ने फिल्म भएको बुझिएको छ । सो कारण चुनावमा यसको प्रभाव रहने भन्दै रोकिएको बताइन्छ ।

गत शुक्रबार रिलिज गरिएको यो फिल्मले शुरुको दुई दिनमै करिब ६ करोडको कलेक्सन गरेको बताइएको छ । औसत बजेटको यो फिल्मले आइतबार कम्तिमा ५ करोड कलेक्सन गर्ने आँकलन गरिएको छ । भारतमा आइतबार बिदा हुने भएकोले पनि यसको कलेक्सन ह्वात्तै बढ्ने बताइन्छ ।

हलहरुमा यो फिल्म हेर्ने दर्शकको संख्या बढ्दो क्रममा रहेको कारण केहि शो हरु बढाइएको बताइएको छ ।

सन् २०१४ को चुनावमा भन्दा धेरै सिट जितेको भाजपाको विजयको रौनकमा यो फिल्म हेर्नेको संख्या बढेको विश्लेषण गरिएको छ ।

पछिल्लो समय बलिउडमा बायोपिक बनाउने लहड चलिरहेको र यसले राम्रो कमाइ गरिरहेको परिप्रेक्ष्यमा यो फिल्मले पनि राम्रो व्यापार गर्ने सम्भावना देखिएको बताइन्छ ।
 

 

ताजा खबर