हर हर मोदी, डर कर मोदी !

२०७६ जेठ १२ आइतबार ११:०४:०० मा प्रकाशित

गत हप्ता सम्पन्न भएको भारतको तल्लो सदन लोकसभाको निर्वाचनमा सत्ताशीन उग्र हिन्दुवादी संगठन भारतीय जनता पार्टी (बीजेपी) ले ५ वर्ष अघि आफैंले बनाएको रेकर्डमा सुधार गर्दै प्रचण्ड बहुमत प्राप्त गरेको छ । अब ५४३ सदस्यीय लोकसभामा बीजेपीका ३०३ र उसका सहयोगी दलहरू समेत मिलेर बनेको न्यासनल् डिमोक्रेटिक एलायन्स् (एन्डीए) भनिने समूहका ३५२ जना सदस्यहरू उपस्थित हुने भएका छन् । यो, संसदको दुई तिहाई बहुमतका लागि मात्र ७ मत अपुग हुने संख्या हो ।

भारतीय लोकसभाका लागि भएको १७औं पटकको यो चुनावको नतिजाले केही तथ्यलाई मिथ्या साबित गरेको छ भने केही नयाँ छद्म तथ्यको रचना पनि गरेको छ ।

मिथ्या साबित भएका तथ्यहरूमा: 

१. भारत धर्मनिरपेक्ष राष्ट्र हो २. भारतमा अल्पसंख्यक, विशेष गरी मुसलमानहरूसँग राज्यले बहुसंख्यक हिन्दुहरूसँग गरे सरह व्यवहार गर्दछ ३.भारतमा कानूनको शासन छ ४. बहुसंख्यक भारतीय मतदाता सहज विवेकका दृष्टिले परिपक्व भइसकेका छन् ५. राष्ट्र अस्तित्वमा आएको यो ७२ वर्षको अवधिमा बहुसंख्यक भारतीयहरू कम्तीमा पनि आफ्नो निजत्व र हक-हितका बारेमा सन्तुलित किसिमले सोच्न सक्ने भएका छन् ६. चुनावमा आर्थिक मुद्दाको जहिले पनि महत्व हुन्छ ५. जनताहरू अघिल्लो चुनावताका नेताहरूले गरेका कबूलहरूको हरहिसाब राखिरहन्छन् र पछिल्लो चुनावमा भोट हाल्दा त्यसलाई सम्झने गर्दछन् ६. महात्मा गान्धीले भारतीय समाजको उत्थानका लागि आफ्नो सम्पूर्ण जीवन लगाएका थिए ७. उनी भारतका राष्ट्रपिता थिए ८.उग्र हिन्दुवादले भारतका दीनहीन आम जनताको जीवनस्तर माथि उठाउँन कुनै मद्दत गर्न सक्दैन बरू त्यसको विपरीत गर्न सक्दछ ९. भारतमा निर्वाचन आयोग जस्ता संवैधानिक संस्थाहरूले विधिको पालना गर्दै स्वतन्त्र भएर काम गर्न पाउँछन् वा गर्दछन् आदि ।

चुनावका सन्दर्भमा प्रधानमन्त्री मोदी र बीजेपी अध्यक्ष अमित शाहको जोडीले सफलतापूर्वक रचेर स्थापित गरेका केही छद्म तथ्य भने यी थिए:

१. बहुसंख्यक हिन्दुहरू, भारतका पहिलो नम्बरका नागरिक तिमिहरू हौ । त्यसैले यस देशमाथि शासन गर्ने पहिलो हक पनि तिमिहरूकै हो । त्यसैले उठ संगठित हौ र हिन्दुवादी दल बीजेपीका उमेदवारहरूको जीत सुनिश्चित हुने गरि मतदान गर २. नरेन्द्र दामोदर दास मोदी एक्काइसौं शताब्दीको भारतको हिन्दु पुनर्जागरणका मसिहा हुन् त्यसैले उनको जीत नै हिन्दुत्वको जीत हो ३. मोदी र बीजेपी भारतीय राष्ट्रवादका दुई पर्यायवाची शब्दहरू हुन् । राष्ट्रियताको रक्षाका लागि पनि बीजेपीलाई जिताउनु आवश्यक छ ४. यो संसदीय चुनाव भए पनि चयन भने नरेन्द्र मोदी जस्तो महान् हिन्दु नेता र अहिन्दु नेताहरूबीच हुँदैछ त्यसैले भोट त मोदीलाई दिनु जरूरी छ ५. मोदीले मात्र पाकिस्तानलाई तह लगाउँन सक्दछन् किनकि उनले पाकिस्तानभित्रै घुसेर प्रहार गरेका छन् ६. मोदी र बीजेपीका गलत नीति, कार्यक्रम र असफलताको चर्चा गर्नु देशद्रोह हो ७. आलोचनात्मक चेतका साथ राज्यले गरेका कामहरूको मूल्याङ्कन गर्न चाहने जति सबै ' खान मार्केट ग्याङ' का सदस्य हुन् ।

यहाँ खान मार्केट ग्याङ भनेर सम्भवत: खान मार्केट नजिकै रहेको इन्डिया इन्टर्नेसनल सेन्टरमा भेला भइरहने बौद्धिक वर्गतर्फ संकेत गरेको हुनु पर्दछ ८. सिन्दूर रङ्गका वस्त्र पहिरिने नेगी-जोगी, सन्त- महन्त, साधु - साध्वी जति छन् ती सबै दूधले नुहाएका स्वच्छ, धवल र पवित्र छन् । ती मध्ये केहीले विभिन्न अपराध गरेको भनी लगाइएको आरोप सब झुट्टा हुन्छन् । तिनलाई भोट दिनु पुण्य आर्जन गर्नु हो ९. हिन्दु महासभा, राष्ट्रिय स्वयंसेवक संघ, बजरङ्ग दल, हिन्दु जागरिणी समिति आदि नै वास्तवमा भारतीय पुरुत्थान अभियानका पुरोधा संस्थाहरू हुन्, तिनको समर्थन पाएका उमेदवारलाई जिताउनु सबै हिन्दुहरूको कर्तव्य हो १०. महात्मा गान्धीको हत्या गर्ने नाथुराम गोड्से देशभक्त थिए, छन् र रहने छन् आदि ।

तथ्यलाई मिथ्या र मिथ्यालाई तथ्य साबित गर्ने कुटिल रणनीति पूर्ण सफल भएको आश्चर्यजनक घटनाका रूपमा लिन सकिन्छ भारतको चुनावको यो नतिजालाई । यो रणनीतिलाई सफल बनाउँन मोदी शाहको जोडीले केही ठूला कर्पोरेट घराना, ९० प्रतिशत भन्दा बढी सञ्चार गृहहरू, राससं, हिन्दु महासभा, उग्र हिन्दुवादी संगठनहरू र मठ मन्दिरहरूको सहयोग लिएको देखिन्छ । त्यो जोडीले यस पटक बहुसंख्यक मनुवादी हिन्दु मतदाताहरूको मनमा भारतको नयाँ शासक वर्ग बन्ने आश र बीजेपीले नजितेमा किनारामा धकिलिने कुराको त्रास दुबै एकै पटक पैदा गरिदिएका थिए ।

स्वस्थ लोकतान्त्रिक पद्धतिमा टेकेर यो चुनाव लडिएको हुन्थ्यो भने मोदी आजको भारतका ज्वलन्त मुद्दाहरू जस्तै, बेरोजगारी, आर्थिक परिसूचकहरूले देखाएको धुमिल चित्र, किसानहरूले दयनीय अवस्था, महिला सुरक्षा, छिमेकी मुलुकहरू सँगको सम्बन्ध, मुसलमानहरूको मोब लिन्चिङ, प्रबुद्ध वर्गका सदस्यहरूको श्रृङखलाबद्ध हत्या, काश्मीर र पाकिस्तान आदिका विषयमा जनतासँग विचार विमर्श गर्दै मत मागिरहेका हुन्थे । साथै सन् २०१४ को चुनावका बेलामा आफूले गरेका र पूरा गर्न नसकेका कबूलहरूको बारेमा स्पष्टीकरण दिंदै यस पटक काम गरेर देखाउँछु भन्दै जनतालाई आस्वस्त पारिरहेका पनि हुन्थे । तर उनले त उग्र हिन्दुत्व र ढोङ्गी राष्ट्रवादका दुइटा छद्म न्यारेटिभ्को मोहपास फ्याँकेर जनतालाई छल्ने प्रयत्न मात्र गरिरहे । भारतीय लोकतन्त्रको दुर्भाग्य उनको छल सफल भयो ।

उग्र हिन्दु कार्ड खेल्ने क्रममा यस पटक जमानतमा जेलबाट बाहिर आएकी मालेगाउँ बम काण्डकी अभियुक्ता साध्वी प्रज्ञा सिंह ठाकुरलाई चुनावमा प्रत्यासी बनाएर मोदीले लोकतन्त्रको मूल्य मान्यता र विधिको शासनको पूरै धज्जी उडाइदिए । साध्वी प्रज्ञाले दुइटा विवादास्पद बयान दिइन् १. मुम्बै आक्रमणका बेलामा सहिद भएका पुलिस अफिसर हेमन्त करकरे आफूले दिएको श्रापका कारण मारिएको र २. गान्धीका हत्यारा नाथुराम गोडसे देशभक्त थिए, छन् र सधैं रहनेछ्न् । बिडम्बनाको कुरो त के देखियो भने ती महिलाले भोपाल निर्वाचन क्षेत्रबाट प्रदेशमा १० वर्ष मुख्यमन्त्री रहिसकेका कांग्रेस उमेदवार दिग्विजय सिंहलाई सजिलै हराइदिइन् ।

लोकसभा चुनाव २०१९ को सन्दर्भमा गहिरिएर हेर्दा बीजेपी सन् १९३० को दशकको जर्मनीको नाजी पार्टी जस्तै बन्दै गएको देखिन्छ । नाजी पार्टी एक व्यक्ति एडोल्फ हिटलरको छविका आधारमा सत्तामा आएको थियो र आर्य जातिको श्रेष्ठताको पैरवी गर्दथ्यो । बीजेपीमा पनि वान् म्यान शो छ र यसले हिन्दु प्रभूत्वको वकालत गरिरहेको छ । यहाँ पनि जर्मनीमा हिटलरको नाममा मागेझै मोदीको नाममा भोट मागियो र जित हासिल गरियो । यहाँ पनि छानी छानी राजनीतिक रूपले अर्धसाक्षर तर भीषण मोदीभक्तहरूलाई टिकट दिइयो । त्यस मेसोमा पार्टीभित्र रहेका अलिकति पनि स्वतन्त्र विचार राख्नेहरूलाई किनारामा धकेलियो । त्यसरी तेजोवध गरिएकाहरूमा वरिष्ठ नेता एलके आडवाणी, जसवन्त सिंह, यशवन्त सिन्हा, आदि छ्न् ।

मोदीले चुनाव जितेका छन् । 'जसले जित्यो त्यही पृथ्वी नारायण' सिद्धान्त मान्नेहरूका लागि यो जीत स्वागतयोग्य कुरो होला । तर उदारता, सामाजिक सहिष्णुता, अल्पसंख्यकको हित, जवाफदेहिता, विधिको शासन, न्याय र सत्यको संस्थापनामा विश्वास राख्ने मेरो लागि भने उग्र हिन्दुवाद र खोक्रो राष्ट्रवादको कार्ड खेलेर मोदीले निकालेको यो जीत चिन्ताको विषय हो । भारतीय संसदमा बहुसंख्यामा नेताले जतिसुकै ठूलो झूट बोले पनि जोड जोडले टेबुल ठोक्नेहरू जम्मा हुनु पनि लोकतन्त्रकि स्वास्थ्यका दृष्टिले हानिकारक छ । कन्हैयाकुमार, ज्योतिरादित्य सिन्धिया, प्रकाश राज, शत्रुघ्न सिन्हा, आतिशी मर्लेन, राघव चड्ढा, आचार्य प्रेम कृष्णम्, उर्मिला मातोण्डकर जस्ता प्रतिभाशाली व्यक्तित्वहरू पनि पुग्न सकेको भए लोकसभाको गरिमा बढ्ने नऐ थियो घट्ने थिएन । जे गर्नु हर गर मोदी मात्र होइन डर कर मोदीले पनि भारतको चुनावी नक्सा नै फेरिदियो । 

(वरिष्ठ पत्रकार हरि अधिकारीको सामयिक टिप्पणी उनको फेसबूकवालबाट साभार)

ताजा खबर