नेटवर्किङ धन्दालाई कसको छ संरक्षण ?

२०७६ जेठ १२ आइतबार ०७:५२:०० मा प्रकाशित

नेपालमा पिरामिड शैलीको नेट वर्किङ व्यवसाय प्रतिबन्धित छ । बढी सदस्यको नेटवर्क बनाएर सिमित व्यक्तिले लाभ हासिल गर्ने यो शैलीमा बहुसंख्यक सदस्यहरू ठगिन्छन् । गोल्ड क्वेस्ट, हर्बो, युनिटी लाइफ इत्यादि नाममा धेरै नेपाली ठगिए । सदस्य बढाएको आधारमा पिरामिडमा माथि चढ्दै जाने र छोटो समयमा धेरै कमाउने प्रलोभनमा परेर मानिसहरू नेट वर्किङमा जोडिन पुग्छन् र ठगिन्छन् । सिमित धूर्त व्यक्तिहरू हजारौँ सिधासाधा नेपालीको पैसा ठगेर फरार भए । सबैभन्दा धेरै नेपाली ठगिए युनिटी लाइफबाट । यसपछि नै सरकारको आँखा खुलेको हो र नेट वर्किङ व्यवसाय प्रतिबन्धत छ । 

प्रतिबन्धित भए पनि भित्रभित्रै नेट वर्किङ धन्दा चलिरहेको पछिल्ला दुई वटा घटनाले पुष्टि गरेको छ । यसै साता राजधानी काठमाडौंमा आठ जना पक्राउ परे जो नेट वर्किङ धन्दा चलाइहेका थिए । यो समूहबाट ४२ लाख रुपैया बरामद भएको प्रहरीको भनाइ छ । गत वैशाख अन्तिम साता १२ जना समातिएका थिए । दुई पटकमा समातिएकाहरू एउटै समूहका रहेको पनि प्रहरीको भनाइ छ । यो समूहले नेपालीहरूबाट निकै ठूलो रकम संकलन गरेको हुनसक्ने अनुमान छ । समातिनेमा भारतीय व्यक्तिहरू पनि छन् । भारतीयकै नेतृत्वमा भित्रभित्रै अन्य समूहहरू पनि सक्रिय रहेका हुन सक्छन् ।  

नेट वर्किङ आफूलाई निकै टाठोबाठो ठान्ने धूर्तहरूले चलाउने ठगी व्यवसाय हो । यसको मुख्य आधार प्रलोभन हो । एकपटक यति रकम बुझाएर आफूले केही सदस्य थपेपछि नेटवर्क बढ्दै जाने र आफू पिरामिडमा माथि चढ्दै गएर छोटो समयमा धेरै पैसा कमाउने प्रलोभन यसमा हुन्छ । चाँडो पैसा कमाएर धनी बन्ने चाहना भएका अति महŒवाकांक्षी व्यक्तिहरू यस संलग्न हुने र सोझासिधालाई फसाउने गरेको पाइएको छ । यस्तो नेट वर्किङ आयातीत व्यवसाय हो । प्रलोभनमा परेर रकम गुमाएका व्यक्तिहरू ठगिएका ठगियै हुन्छन् । 

युनिटी लाइफबाट ठगिएका कसैले पनि आजसम्म आफ्नो रकम फिर्ता पाएका छैनन् । त्यसअघि पनि धेरै ठगिए । मुख्य हर्ताकर्ताहरू विदेशतिर बस्ने वा समातिने सुइँको पाउनासाथ भाग्ने गरेकाले समातिनेमा प्रायः उनीहरूका कारिन्दामात्रै पर्ने गरेका छन् । खास मुख्य दोषी कारबाहीमा परेकै    छैनन् । कति त उच्च राजनीतिक पहुँचवाला व्यक्तिहरू हुन्छन् । ठगिनेहरू पनि ‘आफ्नै बुद्धिले’ फसेको ठानेर मौन रहने गरेका छन् । यसैकारणले धूर्तहरू भित्रभित्रै धन्दा चलाउन उत्साहित भएका हुन सक्छन् । हिमालय टाईम्सले सम्पादकीयमा लेखेको छ, कुनै पनि प्रकारको नेट वर्किङको प्रलोभनमा नपर्न सर्वसाधारणलाई सचेत गराउँदै अवैध धन्दा चलाउनेमाथि कानुनी कारबाही चलाउनुपर्छ । 

ताजा खबर