यसपाली शान्ति ठटालले पलेँटी मार्ने,दार्जिलिङ र सिक्किमको संगम

२०७६ जेठ ८ बुधबार १५:५७:०० मा प्रकाशित


काठमाडौं । यो महिनाको सांगीतिक कार्यक्रम ‘पलेँटी श्रृंखला’ मा दार्जिलिङ र सिक्किमको संगम हुने भएको छ । यसका निम्ति दार्जिलिङबाट संगीतकार शान्ति ठटाल आफ्नो टीमका साथ काठमाडांै आइपुगेकी छिन् । उनले गान्तोकका आफ्ना दुई गायिका बिमला सेन्चुरी प्रधान र अञ्जली प्रधानलाई साथमा ल्याएकी छिन् ।

 

शान्ति ठटाल नेपाली संगीतका सबै विधामा क्रियाशील सफल संगीतकार हुन् । उनले फुटकर गीत बाहेक काव्य संगीत अथवा क्यान्टटा, गीति नाटक, चलचित्र लगायत विविध विधामा सफलता प्राप्त गरेकी छिन् । शान्ति ठटालका साथमा पलेँटीमा सहभागी हुन आएका बिमला सेन्चुरी प्रधान र अञ्जली प्रधान संगीतकार शान्ति ठटालकै सानिध्यमा रहेर निखारिएका कण्ठ सिल्पी हुन् । बिमला सेन्चुरीले गाएको चलचित्र ‘बाँच्न चाहनेहरू’ का गीत ‘नयाँ नयाँ घामको किरण’  र ‘मीठो मीठो तिम्रो साथ मीठो’  सर्वकालिक गीतहरूको पङ्तिमा पर्दछन् । ठटालकै संगीतका ती गीत अहिले सुन्दा पनि उत्तिकै आकर्षक र मनमोहक छन् ।

 

सन् २००५ मा थालिएको पलेँटीको मञ्चमा शान्ति ठटालले यस अघि पनि बेलाबखत आफ्ना सृजना प्रस्तुत गर्दै आएकी छिन् । उनले सन् २००६ को पलेँटी मार्फत् आफ्नो जीवनकै पहिलो एकल गायन प्रस्तुत गरेकी थिइन् । पलेँटीले नेपाली आधुनिक संगीतमा चर्चित र लोकप्रिय रहेर पनि दर्शक, श्रोता सामु एकल प्रस्तुति गर्ने मौका नजुरेका र ओझेलमा रहेका कलाकारहरूलाई प्रस्तुत गर्दै आएको छ ।

 

‘पलेँटी मार्फत् शान्ति दिदीसँग संगत गर्न पाउनु संगीत महाविद्यालयमा पढ्नु जत्तिकै हो । उहाँको सृजनशीलताले सँधै क्रियाशील हुन प्रेरित गर्छ । आठ दशक पार गरिसक्नु भएको शान्ति दिदीको सृजनात्मक सक्रियता देख्दा साँच्चै लोभ लाग्छ’ पलेँटी संयोजक आभासले भने ।

 

यही महिनाको १७ गते शुरु हुने शान्ति ठटालसँगको पलेँटी ३ दिनसम्म चल्ने छ । पलेँटी शान्ति ठटालसँगको सांगीतिक यात्रामा आधारित हुनेछ । कार्यक्रमलाई पलेँटीको शुरुदेखि नै संचालन गर्दै आएका संगीतकर्मी आभासले शान्ति ठटालसँगको संगतका सन्दर्भ सहित आफ्ना सम्झना सुनाउँदै ठटालसँग अन्तरसम्वाद पनि गर्नेछन् ।

 

‘मैले शान्ति दिदीलाई सन् १९९४ मा पहिलोखेप भेटेको हुँ । त्यसयता कैयौंखेप उहाँसँग सांगीतिक, साहित्यिक र सामाजिक बिषयमा विचार विमर्श भए । उहाँमा मैले कहिल्यै नकारात्मक सोचको झल्को समेत पाएको छैन । त्यही सकारात्मक भावको आभा यसपालीको पलेँटीमा पनि फैलने छ ।’ शान्ति ठटालबारे आभासको थप टिप्पणी थियो ।

 

पलेँटी निम्ति गीत छनोट गरिरहेकी संगीतकार ठटाललाई यसपालीको आगमनकाबारे सोध्दा भनिन् ‘म यसभन्दा पहिले पनि धेरै खेप पलेँटी कार्यक्रममा संलग्न भइसकेकी हुँ । तर म जति खेप यहाँ आउँछु हरेकखेप नयाँ सांगीतिक उर्जा भेट्छु । आफ्नो उमेर पनि बिर्सन्छु । जाँगर बढ्छ । पलेँटी त मलाई आफ्नै घरको बैठक जस्तो पो लाग्छ ।’ आफ्ना धुनहरू गुनगुनाइरहेका दुई गायिकातिर हेर्दै ठटाल थप टिप्पणी गर्छिन्  ‘झन् यसपाली त मेरा दुई छोरी जस्ता गायिका साथमा आएका छन् । यिनको म प्रतिको माया र संगीतप्रतिको मोहले मलाई झन् उत्साही बनाएको छ ।’

शान्ति ठटालको छेउमै गीतको डायरी लिएर बसेकी गायिका बिमला सेन्चुरी मुसुक्क हाँस्दै भन्छिन्–‘शान्ति दिदीसँग सांगीतिक संगत गर्न नपाएको लामो समय भएको थियो । पलेँटीले यति सुन्दर मौका जुराइदियो । सारा घरेलु  नियमितताबाट टाढा रहेर संगीतमा रमाउन पाउँदा खुशीको सीमा नै छैन । ‘अर्की हँसिली गायिका अञ्जली प्रधान बिमलाको कुराले उत्साहित हुँदै भन्छिन्– ‘यो त जीवनकै अद्भूत अनुभव हो । यसरी शान्ति आन्टीसँग हरदम संगीतकै बारेमा कुराकानी गर्दै गाउँदै बस्न पाउनु हाम्रो अहोभाग्य हो । हामी कति भाग्यमानी !’ शान्ति दिदीतिर हेर्दै अञ्जली मुस्काउँछिन् ।

 

कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा आयोजना हुने पलेँटीमा शान्ति ठटाल र उनको टीमलाई वाद्यवादनतर्फ किबोर्डमा दिनेश रेग्मी, तबलामा सन्देश महर्जन, गिटारमा सुरज प्रधान, प्रकसनमा सुन्दर महर्जन र बाँसुरीमा बलराम समालले साथ दिनेछन् ।

 

 
 

ताजा खबर