आज हरितालिका (तीज), पशुपतिमा ७ लाख वर्तालुले दर्शन गर्दै 

२०७४ भदौ ८ बिहीबार ०६:३४:०० मा प्रकाशित

काठमाडौ, ८ भदौ । आज हरितालिका (तीज), भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने यो पर्वमा हिन्दुधर्मालम्बिहरुले महादेवको पूजा आराधना गरी मनाउने गर्छन् ।  

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास अनुसार यो पर्व मनाउने गरिन्छ । । तीजमा व्रत बस्नाले  पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविाहित केटा केटीले सम्पन्न वर वा वधु पाउने विश्वास गरिन्छ । 

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरित विष्णुसित विवाह गरिदिन खोजेपछि उनले निराहार व्रत गरी महादेवलाई प्राप्त गरेको पौराणिक विश्वास छ ।  

तीजको अवसरमा महिलाहरुले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत उपयोग गर्ने गरेका छन् । तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाहरुले सार्वजनिक गर्दछन् । 
तीजमा व्रतालुको सुविधालाई मध्यनजर गर्दै आज बिहान ३ बजे देखि नै पशुपपतिनाथको मन्दिर खुल्ला गरिएको छ ।  पशुपति क्षेत्र विकास कोषका कोषका सदस्य सचिव डा. प्रदिप ढकालका अनुसार हरितालिका तिजमा पशुपति दर्शन गर्न आउने दर्शनार्थीहरुको सुविधालाई मध्यनजर गर्दै तीन वटा लाईनमार्फत मन्दिरको दर्शन गर्ने व्यवस्था गरिएको छ । प्रत्येक लाईनमार्फत दर्शनार्थीले बिहानको समयमा एक घण्टा र दिउसोको समयमा दुई घण्टाभित्र दर्शन गरिसक्ने  सदस्य सचिव ढकालले जानकारी दिए । 
यो वर्ष तीजमा ७ लाख दर्शनार्थीले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरिएको कोषले जनाएको छ । दर्शनार्थीको सुविधाका लागि पाँच हजार सुरक्षा कर्मी परिचालन गरिएको सदस्य सचिव ढकालले जानकारी दिए । ‘हामीले दर्शनार्थीको सुविधा र सुरक्षाका लागि कुनै कसर बाँकी राखेका छैनौँ, सबै दर्शनार्थीले सहजै पशुपतिको दर्शन गर्न सक्नेछन्,’ ढकालले भने । 

ताजा खबर