डोल्पाको पर्यटकीय क्षेत्रमा होमस्टे सञ्चालन

२०७६ जेठ ७ मंगलबार १०:२८:०० मा प्रकाशित

जाजरकोट, ७ जेठ । हालसम्म घरबास (होमस्टे) सञ्चालन हुन नसकेको तर प्रचुर पर्यटकीय सम्भावना बोकेको डोल्पा जिल्लाका विभिन्न ठाउँमा होमस्टे सञ्चालन हुने भएको छ ।
 
नेपालकै सबैभन्दा बढी पर्यटकीयस्थलको भण्डारका रुपमा रहेको डोल्पा जिल्लाका छार्का गाउँपालिकाको कागकोट र त्रिपुरासुन्दरी नगरपालिकाको कोटबगरमा होमस्टे सञ्चालनका लागि केन्द्र सरकार र कर्णाली प्रदेश सरकारको योजनाबमोजिम डिभिजन वन कार्यालय डोल्पाले कार्य शुरु गरेको छ ।

प्रचुर पर्यटकीयस्थलको खानी भए पनि हालसम्म एउटा पनि घरबास सञ्चालन हुन नसकेको डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–१ कोटबगरमा र त्रिपुराकोट–१, छार्का ताङ्सोङ गाउँपालिकाको कागकोटमा यो वर्षबाट होमस्टे सञ्चालन गर्न केन्द्र सरकार र कर्णाली प्रदेश सरकारले पहल गरेको डिभिजन वन कार्यालय डोल्पाका कामु डिभिजन वन अधिकृत नरबहादुर क्षेत्रीले बताए ।
 
यी ठाउँ त्रिपुराकोट होमस्टे त्रिपुरासुन्दरी नगरपालिका–१ डोल्पा, छार्का ताङसोङ गाउँपालिकाको कागकोट होमस्टे र त्रिपुरासुन्दरी बगर होमस्टे त्रिपुरासुन्दरी–१ बगरमा यो वर्ष पर्यटकहरुबाट समुदायमा समानरूपले आयआर्जन तथा आम्दानी होस् र स्थानीयवासीको जीवनस्तर उठ्न सकोस् भन्ने हेतुले होमस्टे सञ्चालन हुन लागेको डिभिजन वन कार्यालय डोल्पाले जनाएको छ ।
 
त्रिपुराकोट होमस्टे त्रिपुरासुन्दरी नपा–१ डोल्पाका लागि रु ३० लाख, कागकोट होमस्टे विकासका लागि रु ३५ लाख र त्रिपुरासुन्दरी– १ बगर होमस्टेका लागि रु २५ लाख बजेट केन्द्रीय सरकार र कर्णाली प्रदेश सरकारले विनियोजन गरेको छ । यो बजेटबाट यी स्थानमा होमस्टेका भौतिक तथा अन्य आवश्यक तयारीका काम हुने पूर्व शान्तिमन्त्री तथा सांसद सत्य पहाडीले बताए ।

यी ठाउँमा सञ्चालन हुने होमस्टे निर्माणका लागि डिभिजन वन कार्यालय डोल्पाले आइतबार प्रस्ताव मागेको छ । त्रिपुराकोट बगर, त्रिपुराकोट–१ र कागकोटका स्थानीयवासीले प्रस्ताव पेश गर्न सक्ने भनिएको छ । प्रस्ताव पेश गर्दा व्यक्तिभन्दा समूह तथा समितिलाई प्राथमिकता दिइने बताइएको छ ।
 
केही वर्षअघि नेपालकै गहिरो फोक्सुण्डो ताल छेउमा रहेको रिग्म गाउँमा होमस्टे सञ्चालन गर्ने भनेर तारा गाउँपालिकाले चर्चा चलाएको थियो । केही समय प्रयास पनि गरेको हो, तर पछि आएर कुनै काम भएन र हालसम्म पनि उक्त गाउँमा होमस्टे सञ्चालन हुननसकेको शेफोक्सुण्डो गाउँपालिका–८ रिग्मका वडाध्यक्ष निमा गुरुङले बताइन् ।

डोल्पा धेरै पर्यटकीय सम्भावना बोकेको जिल्ला तथा स्थान भए पनि समुदाय सबैलाई फाइदा हुने बताउने गरिएको पर्यटकीय व्यवसाय होमस्टे सञ्चालनमा आउन सकेको छैन । यो वर्षमा भने सरकारीस्तरबाट बजेट परेकाले होमस्टे पूर्वाधारका काम हुने आशा पलाएको जनाइएको छ ।

 

ताजा खबर