१७ वर्षपछि को बन्छ करोडपतिको अंग्रेजी संस्करण बन्द हुँदै

२०७६ जेठ ६ सोमबार १२:५१:०० मा प्रकाशित

एजेन्सी । प्रश्नको सहि जवाफ दिएर टन्नै पैसा जित्न सकिने रोचक टेलिभिजन शो ‘हु वान्ट्स टु बी मिलिनियर’ बन्द हुने भएको छ ।

सन् २००२ मा सुरु गरिएको यस कार्यक्रमले करिब तीन हजार भन्दा बढि एपिसोडको कार्यक्रम बनाइ सकेको छ । यहि कार्यक्रमको हिन्दी संस्करण ‘कौन बनेगा करोडपति’ भारतमा चर्चित छ । नायक अमिताभ बच्चनले संचालन गर्ने गरेको यस कार्यक्रमको ठुलो क्रेज भारतमा रहेको छ ।

हालसालै नेपालमा पनि यहि कार्यक्रमको नेपाली संस्करण ‘को बन्छ करोडपति’ संचालनमा छ । उक्त कार्यक्रम नायक राजेश हमालले संचालन गर्दै आएका छन् ।

करिब १७ वर्षसम्म निरन्तर संचालनमा रहेको यो कार्यक्रमको अंग्रेजी संस्करणले अन्ततः सन् २०१९–२० को सिजनदेखि बन्द गर्ने बताएको छ ।

एबीसी टेलिभिजनमा देखाइने गरेको यस कार्यक्रमको प्रत्येक प्रश्नमा चारवटा विकल्प दिइने र सो क्रममा तीनवटा लाइफलाइन पनि दिइने गरिएको छ । कार्यक्रमको स्वरुप हरेक देशमा एउटै किसिमको हुने गरेको बताइन्छ ।

यस कार्यक्रममा हरेक प्रश्न मिलाउनेले, अंग्रेजी संस्करण एक मिलियन (दश लाख) डलर, भारतीय संस्करणमा एक करोड भारु र नेपाली संस्करणमा एक करोड नेरु जित्ने गरेका छन् ।

हालको लागि मुल शो बन्द भएपनि फ्रान्चाइज शो हरु भने संचालनमै रहने बताइएको छ ।

 

ताजा खबर