फरहान अख्तर भए ट्रोलको शिकार

२०७६ जेठ ५ आइतबार १३:२३:०० मा प्रकाशित

एजेन्सी । बलिउडका स्टार फरहान अख्तर पछिल्लो समय चुनाव सम्बन्धी ट्वीटका कारण चर्चामा छन् ।

उनका पिता जाभेद अख्तरले खुलेरै भारतका क्रान्तिकारी नेता कन्हैया कुमारको समर्थनमा चुनावी कार्यक्रममा सहभागी भएका कारण चर्चित छन् भने फरहान पनि चुनाव सम्बन्धी ट्वीटको कारण ट्रोलको शिकार भएका छन् ।

उनले ट्वीटरमा आफ्नो भोट हालेको चिन्ह लागेको औंला देखाउँदै लेखेका छन्, ‘प्रिय भोपालका भोटरहरु, यो तपाईंको शहरलाई ग्याँसको कारण हुने दुखबाट पार लगाउने मौका हो ।’ यसो लेख्दै उनले प्रज्ञा र गोड्सेले बहिष्कार गर्न ह्यास ट्याग गरेको छन् । त्यस्तै महात्मालाई सम्झन र घृणा होइन माया फैलाउने विषयको पनि ह्यास ट्याग गरेका छन् ।

उनको यो पोष्ट चुनावमा सहभागी हुनको लागि अपिल भएको कारण राम्रो पोष्ट भएपनि ट्वीटरमा उनी विरुद्ध खनिनेको संख्या ह्वात्तै बढेको छ ।

यसरी ट्वीटरमा उनी विरुद्ध नकारात्मक कमेन्ट आउनु र ट्रोलको शिकार हुनुको मुल कारण भने उनले गरेको पोष्टको समय गलत रहेको थाहा भएको छ ।

भोपालमा गत हप्ता नै चुनाव भइसकेको छ । छैठौं चरणको चुनाव भोपाल लगायतको क्षेत्रमा मे १२ मा भएको थियो भने आज आइतबार सातौं चरणको चुनाव भइरहेको छ ।

उनको उक्त म्याद गुज्रेको पोष्टमा कमेन्ट गर्दै धेरैले उनलाई गाली गरेका छन् । कसैले उनलाई, ‘दिमाग त ठिक छ ? भोपालमा एकहप्ता अघि भोट भइसक्यो’ भनेका छन् भने कसैले ‘बिहानै लगाएको हो ?’ भनेर सोधेका छन् ।

कसैले भने उनलाई, ‘५ वर्ष पछिको लागि अहिल्यै भोट मागेको ?’ भन्दै उडाएका छन् । त्यस्तै कोहिले भने उनलाई अर्धज्ञानीको संज्ञा दिएका छन् ।

आज भारतमा इन्दोर लगायतको क्षेत्रमा भोट भइरहेको छ । इन्दोर र भोपाल दुबै शहर मध्य प्रदेशमै पर्ने भएकोले फरहान झुक्किएको हुन सक्ने समर्थकहरुले बताइरहेका छन् । तथापी ट्वीटरमा गल्ती गर्नेको उछितो काट्नेहरुको संख्या ठुलो हुने भएकोले फरहान अझै केहि समय चर्चित रहने देखिएको छ ।  

 

ताजा खबर