विद्यार्थीमा धनी र गरीबको भावना हटाउन अध्ययन

२०७६ जेठ ५ आइतबार १२:२८:०० मा प्रकाशित


काठमाडौँ, ५ जेठ । धनी र गरीब पृष्ठभूमिका विद्यार्थीको सङख्या बराबरी भएका विद्यालयमा बालबालिकामा समावेशी र भेदभावरहित भावनाको विकास उच्च भएको पाइएको छ ।

‘नेपालमा सामाजिक विकास र सामाजिक परिवर्तन¬’ विषयमा विद्यालय शिक्षामा जारी निजीस्तरको अध्ययनले बालबालिकामा समावेशी भावनाको विकास गर्न, भेदभाव, पूर्वाग्रह, अनुचित व्यवहार र सामाजिक बहिष्करणजस्ता गलत अभ्यास हटाउन दुवै पृष्ठभूमिका विद्यार्थी एकै ठाउँ हुनुपर्ने देखाएको हो ।

नेपालमा निजी र सरकारी विद्यालयका कारण धनी र गरीबको विभेद् उत्पन्न हुने गरेको छ भने सामुदायिक विद्यालयमा पनि धनी र गरीब पृष्ठभूमिका विद्यार्थीको सङ्ख्या बराबर (उच्च समिश्रण) भएमा भेद्भाव झन् बढ्ने देखिएको छ ।

स्वीटजरल्याण्डको जुरिच विश्वविद्यालयका डा जेनी ग्रुटर, संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड विश्वविद्यलायका प्रा मेलानी किलेन र नेपालको त्रिभुवन विश्वविद्यालयका सन्देश ढकालले ललितपुरका ७६४ विद्यालयका विद्यार्थीमा गरेको एक अध्ययनले गरीब परिवारका विद्यार्थीलाई सरकारको छात्रवृत्तिको प्रबन्धले उनीहरुमा सकारात्मक सामाजिक अन्तर्क्रियाको भावना विकास भएको औल्याएको हो ।

अध्ययनको प्रारम्भिक निचोडमा भनिएको छ, “कमजोर आर्थिक अवस्था भएका बालबालिकाको उच्च समीश्रण भएका विद्यालयमा उनीहरुले निकै कम भेदभाव महसुस गरेको पाइयो । तुलनात्मकरुपमा धनी पृष्ठभूमिका बालबालिका गरीब पृष्ठभूमि भएका बालबालिकाप्रति बढी समावेशी, सहिष्णु र घुलमिल भएको पाइयो ।”

कमजोर आर्थिक अवस्थाका बालबालिकालाई छात्रवृत्तिको माध्यमबाट निःशुल्क शिक्षा उपलब्ध गराउँदा उनीहरुको सामाजिक सहभागिता अभिवृद्धि गर्ने, भेद्भाव र बहिष्करण न्यून गराउन कत्तिको सहयोग पुग्छ भन्नेबारेमा आफूहरुले एक वर्षदेखि अध्ययन गरिरहेको अनुसन्धानकर्ता ढकालले बताए ।

उनले विद्यालयमा विविधता प्रदान गर्नु समावेशी र समानताका लागि प्रभावकारी हुने बताउँदै आफूहरुले केन्द्रीय तथ्याङ्क विभागसँग सहकार्य गरी छात्रवृत्तिका लागि आवश्यक पर्ने कमजोर आर्थिक अवस्था भएका बालबालिकाको पहिचान र छनोटका लागि विश्वसनीय हुने कम्प्युटरमा आधारित एक विधिको पनि विकास गरेको जानकारी दिए । रासस

 

ताजा खबर