गुठीको घरजग्गामा व्यापारीको मस्ती

२०७६ जेठ ४ शनिबार ०८:०३:०० मा प्रकाशित

काठमाडौं । काठमाडौंकै पुरानो सहर भनेर चिनिने असन चोकमै रहेको वायुदेवता गुठीको घरजग्गा केही स्थानीय वासिन्दाहरुले कब्जा गरेका छन् । २०७२ सालमा गएको विनासकारी भुकम्पले जिर्ण बनाएको उक्त घर भत्काएर नयाँ निर्माण गर्नलाई पनि उनीहरुले अवरोध खडा गरिरहेका छन् । गुठी संस्थानले जिर्ण बनेको पुरानो घर भत्काएर सोही स्थानमा नयाँ भवन बनाउने तयारी गरेपनि घर जग्गा कब्जा गरेको पक्ष छोड्न मानिरहेको छैन । जिर्ण बनेको घर प्रयोग भइरहदा त्यहाँ कुनै पनि बेला मानवीय क्षति हुने खतरा कायम रहेको छ ।


उक्त घर प्रयोग गरिरहेकाहरुले विभिन्न बहाना बनाएर त्यही बसिरहन खोजे पछि जग्गा धनी गुठी संस्थानले सार्वजनिक सूचना जारी गरेर घर खाली गराउने प्रक्रिया अगाडि बढाएको छ । यसका लागि काठमाडौं महानगरपालिकाको वडा नम्बर २५ असनस्थित कित्ता नम्बर १७६७ को क्षेत्रफल ०–८–०–३ को जग्गामा रहेको घर पसलहरूलाई हटाउन संस्थानले सूचना जारी गरिसकेका छ ।


०७२ सालको भूकम्पबाट क्षति भएको सो घरमा अहिले पनि पसलहरू भाडामा सञ्चालनमा रहेका छन् । भूकम्पबाट अति नै क्षति भएको उक्त घरमा बस्न नमिल्ने भनि रातो स्टिकर टाँसिएको छ । तर, भाडामा बसेकाहरूले त्यस विपरित सटर तथा घर छोडेका छैनन् ।

 

गुठी संस्थानले वडा कार्यालय तथा स्थानीय प्रशासनको सहयोगमा घर सटर कब्जा गरेर बसेकाहरूलाई कानूनी प्रक्रिया अनुसार हटाउने तयारी थालेपछि उनीहरु पुरातात्विक महत्वको घर भत्काएर सम्पदा नष्ट गर्न लागिएको प्रचारवाजीमा उत्रिएका छन् । संस्थानले भने उक्त घरको ऐतिहासिक तथा पुरातात्विक महत्व कायम राख्ने गरी नयाँ संरचना निर्माण गर्ने जनाएको छ । उक्त जग्गा उसले २५ वर्षका लागि भाडामा दिने सम्झौंतासमेत गरिसको छ । निर्माण पक्षले सम्झौंता बमोजिम निर्माण गरेको घर संरचना २५ वर्ष पछि संस्थानलाई हस्तान्तरण गर्नु पर्ने छ । 
त्यसो त असन चोकमै रहेको उक्त घर कब्जा गर्न पहिले देखि नै प्रयत्न हुँदै आएको छ ।

संस्थानबाट सो जग्गा र घर तथा सटरहरू कब्जा गर्न नसकेपछि उनीहरूले आफूलाई गराए पाउन सर्वोच्च अदालतमा मुद्दा नै दायर गरेका थिए । तर, सर्वोच्च अदालतले उनीहरूको माग दावी नपुग्ने भन्दै उक्त घर जग्गा संस्थानको स्वामित्वमा रहेको र उसले आफ्नो अनुकुलमा प्रयोग गर्न सक्ने फैसला सुनाएको थियो ।


सर्वोच्चबाट नराम्ररी पराजित भएपछि घर तथा सटर कब्जा गर्न नपाइने भएपछि उनीहरु गुठी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत निकायमासमेत पुगेका थिए । घर तथा सटर कब्जा गरेर व्यवसाय गरिरहेकाहरूले दिएको उजुरी सत्य नभएकाले अख्तियारले पनि नयाँ संरचना निर्माण गर्न गुठीलाई बाटो खोलिदिएको छ । अख्तियारले गुठी संस्थानलाई नै भूकम्पबाट क्षति भएको घरलाई हटाएर ऐन नियमअनुसार अर्को भवन बनाउन निर्देशनहरू दिएको छ ।


गुठी संस्थानका उपप्रशासन एवम् प्रवक्ता सरोज थपलियाले असनमा रहेको गुठीको जिर्ण घरलाई भत्काएर अर्को नयाँ भवन निर्माण गर्नका लागि कानूनी प्रक्रिया पु¥याएर टेण्डर समेत भइसकेको जानकारी दिएका छन् । तर, घर सटर भाडामा लिएर व्यवसाय गर्दै आएकाहरूले छोडेका   छैनन । प्रवक्ता थपलिया भन्छन–‘उहाँहरूले सहज रुपमा छोड्नु भएन भने कानूनी प्रकृया अनुसार खाली गराउँछौँ ।’


वायुदेवता गुठीमा बुद्धको मूर्ति राखेर पुरानो पक्षले अबरोध खडा गरिएको छ । उनीहरुले बुद्धस्थलै मास्न लागेकोसमेत प्रचारवाजी गरिरहेका छन् । तर, उनीहरुको प्रचारवाजीमा कुनै सत्यता नभएको थपलियाको भनाइ छ । ‘गुठी संस्थान आफै पुरातात्विक महत्वका मठमन्दिरहरू तथा ऐतिहासिक घर जग्गा संरक्षण गर्ने निकाय हो । त्यसैले उसले पुरातात्विक महत्वको संरक्षण गर्छ । तर असनमा पुरानो मूर्ती रहेको प्रमाण छैन । उहाँहरुले प्रमाण ल्याउन पनि सक्नु भएको छैन । तर, जग्गा र घर कब्जा गर्नकै लागि भाडामा बसेर व्यवसाय गर्दै आएकाहरूले राज्यको न्यायिक निकायबाट भएको आदेश र निर्णयलाई बारम्वार उल्लंघन गरिरहनु भएको छ ।


गुठी संस्थानको सो घरका सटरमा न्यून भाडा तिरेर व्यापार व्यवसाय गर्दै आएकाहरूले खाइपाइ आएको भाग खोसिने भएपछि नै विभिन्न बहाना बनाएर छोड्न अटेर गरिरहेको स्थानीयहरु बताउँछन् ।


गुठीको घर जग्गा कब्जा गरिरहेको पक्ष न्यायिक निकायहरूबाट पराजित भएपछि अहिले राजनीतिक नेतृत्वदेखि उच्च शक्ति केन्द्रमा धाएर आफूलाई नै कायम राख्न दौडधुप गरिरहेका छन् ।


प्रकाश खबर डट कमका अनुसार, अन्यत्र पनि गुठी तथा सरकारी जग्गा नै विभिन्न ब्यक्ति तथा समूहले कब्जा गरेका समाचार सार्वजनिक भइरहेको अवस्थामा राजधानी काठमाडौंको मुटुमा रहेको असनको गुठीको घर जग्गा केही व्यापारीहरूले कब्जा गर्नुले राज्य निरिह रहेको देखिएको छ । यसरी घर जग्गा कब्जा हुँदा गुठी संस्थानलाई वार्षिक ठूलो धनराशी घाटा भएरहेको छ ।

ताजा खबर