कमाउने मौका गुमायो नेवानिले, भारतीय एयरलायन्स नाफा कमाउँदै

२०७६ जेठ ३ शुक्रबार १२:०४:०० मा प्रकाशित

काठमाडौं  । नयाँ गन्तव्यको अभावमा अरबौंको जहाजको न्यून प्रयोग गर्दै आएको नेपाल वायुसेवा निगम (नेवानि) ले नयाँदिल्ली उडानमा आधिपत्य जमाउने अवसर गुमाएको थाहा भएको छ ।

भारतीय निजी कम्पनी जेट एयरवेजले आर्थिक रुपले धराशायी भइ हरेक गन्तव्यको उडान रद्द गरेको थियो । नेपालमा नयाँदिल्लीबाट दैनिक तीन र मुम्बईबाट दैनिक दुई फ्लाइट संचालन गर्दै प्रशस्त नाफा कमाएको जेट एयरवेजले नेपालमा उडान भर्न छोडेसँगै दिल्ली र मुम्बई क्षेत्रको टिकटको भाउ आकाशिएको बताईन्छ ।

माग अधिक रहेको कारण त्यस क्षेत्रमा उडान गर्ने नेवानि, एयर इन्डिया र इन्डिगोको सबै फ्लाइट पूर्ण क्षमतामा उड्ने गरेको थियो । यद्यपि पछिल्लो समय यात्रुहरुले सधैं टिकट नपाएको गुनासो गर्दै आएका थिए ।

यसअघि सातामा ११ उडान भर्दै आएको नेवानिले हाल नयाँदिल्लीको लागि सातामा १४ उडान भर्दै आएको छ । चर्को मागकाबीच दैनिक तीन देखि चार उडान सम्भव भएपनि नेवानिने यस अवसरको उपयोग गर्न नसकेको बुझिएको छ ।

एयर इन्डिया पनि पछिल्लो समय आर्थिक संकटमा परेको कारण उसको उडान थप्ने सम्भावना नरहेको थाहा भएको छ । त्यस्तै नेवानिले यस्तो अवसरको उपयोग नगरेको बुझेर भारतको निजी क्षेत्रका बजेट एयरलायन्स इन्डिगोले भने आक्रामक नीतिका साथ दैनिक तीन उडान भर्ने तालिका सार्वजनिक गरेको छ ।

आगामी जुन २० देखि दैनिक २ उडान र जुलाई ४ देखि दैनिक ३ उडान भर्न लागेको इन्डिगोले नेपालमा रहेको आम्दानी गर्नसक्ने सम्भावनालाई आफ्नो पक्षमा पार्ने देखिएको छ । भारतको आन्तरिक उडानमा अब्बल रहेको इन्डिगोले नयाँदिल्लीलाई गन्तव्य बनाए पनि भारतका अन्य शहरमा पुग्नको लागि नेपालमा रहेका यात्रुलाई विकल्प दिइ मुनाफा कमाउने योजना अनुसार उडान थपेको बुझिएको छ ।

नेवानिले भने यति नजिकको सुगम गन्तव्यमा उडान भर्न चासो नदेखाएको कारण यो अवसर गुमेको छ । चीन, कोरिया तथा साउदी अरबको लागि उडान अनुमति पाउने मिति निश्चित नभएको अवस्थामा नेवानिले नयाँदिल्ली तथा मुम्बईमा ध्यान दिन सक्नुपर्ने यस क्षेत्रका जानकारहरु बताउँछन् ।

पछिल्लोसमय नयाँदिल्ली उडानबाट नेवानिले प्रशस्तै मुनाफा कमाइरहेको थाहा भएको छ । उक्त क्षेत्रमा उडान गर्दा नेवानिले ४० प्रतिशत जति नाफा कमाइरहेको बताइन्छ । यतिका बावजुद नेवानिले कर्मचारी संचय कोष र नागरिक लगानी कोषको नियमित किस्ता तिर्न सक्ने गरी आम्दानी भने गर्न सकिरहेको छैन । यसको मूल कारण जहाजहरु पूर्ण क्षमतामा नउड्नु नै रहेको थाहा भएको छ ।

१५ वर्षको अवधिमा तिर्नेगरी ऋण लिएको नेवानिले हरेक तीन महिनामा किस्ता तिर्नुपर्ने भएपनि आफ्नै आम्दानीले त्यो दायित्व पुरा गर्न भने सकेको छैन । त्यसको लागि पर्यटन मन्त्रालयले नेवानिलाई ३ अर्ब रुपैयाँ ऋण दिएको छ ।

यहि परिप्रेक्ष्यमा लामोसमयको अन्तरालपछि नेवानिले अन्ततः जापान उडान गर्ने पक्का भएको छ ।

आगामी जुलाई ४ मा जापानको लागि एयरबस कम्पनीको ए–३३० वाईडबडी जहाजले नेपालबाट यात्रु लिएर ओसाकाको लागि उड्ने तालिका सार्वजनिक गरिसकेको छ । यसको लागि ट्राभल एजेन्टहरुले ग्लोबल डिस्ट्रीब्युसन सिस्टम (जीडीएस) मार्फत् उक्त फ्लाइटको सिटहरु धमाधम बुकिङ गर्न थालेका छन् ।

लामो दुरीकै लागि भनेर दुईवटा वाइडबडी जहाज ल्याएसँगै नेवानिसँग अन्तर्राष्ट्रिय उडानको लागि कुल पाँच वटा जहाज भएको छ । जसमध्ये एउटा बोइङ ७५७ भने ग्राउन्डेड नै छ । जापानमा नियमित उडान भर्न थालेपछि नेवानिका जहाजहरु बढि व्यस्त हुने पक्का रहेको छ ।

हाललाई साताको तीन उडान मात्र भर्ने भएकोले नेवानिको जहाजहरुको लागि गन्तव्यको अभाव अझै रहने बुझिएको छ ।

जानकारहरुका अनुसार वाइडबडी जहाज कम्तिमा १५ घण्टा भन्दा दैनिक उडान भरेमा मात्र नाफा कमाउन सक्ने क्षमतामा पुग्नेछन् । सोही कारण अन्य गन्तव्य पाउनुअघिसम्म मात्र भएपनि नेवानिले नयाँदिल्ली र मुम्बई क्षेत्रको लागि अझै उडान थप्नु उपयुक्त हुने देखिएको छ ।

 

ताजा खबर