प्रधानमन्त्री ओलीको ओरालो यात्रा

२०७६ जेठ २ बिहीबार १७:१७:०० मा प्रकाशित

प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको ओरालो यात्रा सुरु भएको छ । जनमतले निकै शक्तिशाली प्रधानमन्त्री बन्न पाएका खड्गप्रसाद शर्मा ओली उकालो यात्रामा उनकै रुची नभएकाले उल्टोतर्फ ओरालो यात्रामा मोडिएका छन् । यो अरु कसैले दाउपेच गरेर बिगारिदिएको यात्रा होइन । उनका आन्तरिक प्रतिष्पर्धी पनि यसका कारण होईनन्, झन् प्रमुख प्रतिपक्ष त हुने कुरै भएन । यो त खड्गप्रसाद शर्मा ओलीकै रुचि अनुसार बनेको परिस्थिति हो, उकालोतिर चढ्नुपर्ने यात्रा यसरी ओरालोतिर मोडिन पुगेको छ । 

सर्वविदितै छ कि ओरालो लागेका खड्गप्रसाद शर्मा ओलीलाई उनी स्वयं बाहेक कसैले खेद्न बाँकी राख्ने छैन । प्रेसलाई नियन्त्रण गरी एकछत्त शासन गर्ने चाहना गर्दा हिजोका शासक पत्रकार सम्मेलन गरेर दरबारबाट बाहिरिका थिए । यो टाढाको इतिहास पनि होईन । प्रेस विरोधी शासक कहिल्यै पनि उकालो यात्रामा अघि बढ्न सक्दैन, उ जति नै हिँडे पनि उसका खुट्टा ओरालैतिरमात्र तानिने छन् । अहिले भैरहेको देखिन्छ यस्तै । 
एउटा मुख्य कारण यो हो कि प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली स्वतन्त्र प्रेस सहन सक्दैनन् । आलोचना, विवेचना, सकारात्मक सुझाव र टिप्पणी उनको कानमा पर्न हुँदैन । केवल स्तुति, कीर्तन र भजनको खैंजडी उनका कानमा घन्किरहनुपर्छ ।

नेपालको स्वतन्त्र प्रेसले यसै गर्नुपथ्र्यो तर उसले आफ्नो जात जनाउन छाडेन । उसले सरकारको कामको आलोचना, विवेचना र टिप्पणी गरिरह्यो, जुन कुरा दुइतिहाई तागत भएका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीलाई पटक्कै मन परेन । मन पर्ने कुरा पनि भएन, किनभने स्तुतिको सानो अंश पनि नभएको आलोचना पनि के को आलोचना । जहाँ सरकारको कीर्तनमा आरति उतारिएको छैन, त्यो कसरी समाचार विश्लेषण अनि केको सम्पादकीय ! यहीँनेर हो पत्रकारिता चिप्लेको अनि सरकार नियन्त्रणकारी ऐन कानून बनाउन वाध्य भएको । नेपाली प्रेसले यो कुरा बुझिदिनुपर्छ । 

एकदलीय कम्युनिष्ट शासनमा ‘रमाईरहेका’ भियतनाम र कम्बोडियाको दर्शन गरेर फर्केका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले विमानस्थलमा आफ्ना सामु परेका पत्रकारसँग आफ्नो सरकारको धारणा प्रष्ट पारिदिएकै छन्– ‘मिडिया काउन्सिल विधेयक त्यतिकै लहडमा ल्याईएको होईन ।’ अब आँ गर्दा अलंकार बुझे भयो । ओलीका जँुघा चले । उनले आफ्ना शीष्य संचारमन्त्रीका उत्तेजक अभिव्यक्तिलाई यिनै भनाईबाट ढाडस दिए र सरकार व्यवसायिक प्रेसलाई आफ्नो अधिनमा राख्न चाहन्छ, विधेयकहरु त्यसकै तयारी हो भनेर बुझे हुन्छ भन्ने स्पष्ट धारणा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली राखिसके । अब यसपछि पनि पत्रकारिता क्षेत्र र समुदायले यो सरकारको ढुंगाको मन पग्लिएला र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उपभोग गरिरहन पाईएला भनेर अझै आशा गरिरहन उपयुक्त छ र !

मिडिया काउन्सिल विधेयकका अन्तर वस्तुहरु सर्सरती अध्ययन गरे थाहा हुन्छ,सरकार प्रेस स्वतन्त्रताको रक्षा कसरी गर्न चाहन्छ । संक्षेपमा बुझ्दा सरकार प्रेसको यसरी रक्षा गर्न चाहन्छ कि प्रेसको गर्धन सँधै सरकारको काखीमुनी सुरक्षित रहोस्,चल्मलाउन नपाओस् । चाटेको हो कि काटेको हो भन्ने कुरा कसैले पत्तै नपाउने गरी यो सरकार स्वतन्त्र प्रेसको रक्षा गर्न आतुर देखिन्छ । एक उच्च सूत्रले सुनाए अनुसार, संचारमन्त्रीले कानून मन्त्रालयका कर्मचारीलाई चेतावनी सहित भनिसकेका छन्, आमसंचार विधेयकको कमा र फूलस्टप पनि चलाउन मनाही छ,कुनै पनि शब्द तलमाथि हुन गयो भने उनको जागिर जानेवाला छ । यहाँ सजिलै बुझ्न सकिन्छ उनलाई जागिर दिने प्रधानमन्त्री चाहेजस्तै ऐन ल्याउन आतुर छन् ।

यहाँ एउटा स्मरणीय तीतो प्रसंग पनि छ । त्यो हो पत्रकारहरुको अति दलीयकरण । पत्रकारको पहिचान र अस्तित्व कमजोर बनाउने काम अरु कसैबाट भन्दा स्वयं पत्रकारहरुबाटै भएको छ । यो जति नै अप्रिय र तीतो लागे पनि यथार्थ यही नै हो । आज सरकार यही हतियार प्रयोग गर्दै सबै विरोध र आलोचनाका आवाज दवाएर अघि बढ्ने दाउमा देखिन्छ । सत्तारुढ दलसँग निकट पत्रकार संगठनहरु आज किन शान्त देखिन्छन्, यही कुरा मात्र विश्लेषण गरे पनि पुग्छ ।

पेशागत छाता संगठन नेपाल पत्रकार महासंघमा पनि यसको प्रत्यक्ष प्रभाव देख्न सकिन्छ,यो भोलिका दिनमा बढ्दै जाने सम्भावनालाई नकार्न सकिँदैन । महासंघको खुट्टा लुलो नहोस् भनेर कामना गरिरहनु छुट्टै कुरा हो तर प्रेसमाथि नियन्त्रण र अनावश्यक दवाव बनाईराख्ने सरकारको चाहना रोक्न अहिलेकै आवाजले सम्भव छ त ? यो विचारणीय कुरा हो ।

प्रेसलाई आफ्ना विरुध्द उतारेर सरकारले पत्रकारहरुलाई विभाजित गरिरहेको अवस्थामा पत्रकार महासंघले आफ्नो अभिभावकीय भूमिकालाई बलियो बनाउन आवश्यक देखिन्छ । होइन भने दलीय आस्थामा विभाजित पत्रकारहरुलाई विभिन्न तरिकाले उपयोग गरेर सरकारले आफ्नो एजेन्डा पूरा गरिछाड्ने संकेतहरु देखापरिरहेका छन् । पत्रकारहरुले बेलैमा सचेत हुनुपरेको छ । महासंघले सबै किसिमका प्रभावहरुबाट अलग्ग रही अभिभावकीय भूमिका निर्वाह गर्ने दायित्व पूरा गरोस्,शुभकामना ।

ताजा खबर