फिल्मी दुनियाँबाट किन टाढिइन् अनुष्का शर्मा ?

२०७६ जेठ २ बिहीबार १२:५३:०० मा प्रकाशित

एजेन्सी । बलिउड नायिका अनुष्का शर्मा पछिल्लो समय फिल्मबाट टाढिँदै गएकी छिन् । भारतीय क्रिकेटर विराट कोहलीसँग बिहे गरेपछि उनी विस्तारै फिल्मी दुनियाँबाट टाढिएको बुझिएको छ ।

यसअघि शाहरुख खानको फिल्म ‘जिरो’ मा काम गरेकी अनुष्का त्यसयता कुनै फिल्ममा अनुबन्धित छैनन् । उनी विवाह पश्चात फिल्म क्षेत्र छोड्न लागेको चर्चा चलिरहँदा उनले यसबारे प्रष्ट पारेकी छिन् ।

उनले आफु पछिल्लो तीन वर्षदेखी फेसनको दुनियाँमा रमाइरहेकोले पछिल्लो समय फिल्म क्षेत्रबाट केहि टाढा भएको बताइन् । उनले बताएअनुसार फेसन क्षेत्रको कार्यतालिका अति नै व्यस्त रहने गरेको छ । सोही कारण फिल्मको लागि आफुसँग अहिले समय नभएको उनले खुलाशा गरेकी छिन् ।

अघिल्लो वर्ष उनले फिल्म ‘परी’, ‘सुइधागा’ र ‘जिरो’ मा काम गरेकी थिइन् । उनले भनिन्, ‘मेरो अघिल्लो वर्षको तीनवटा फिल्ममा मैले एकदम मेहनत गरेको थिएँ । त्यहि कारण तत्कालै अरु फिल्ममा काम गर्न चाहेको छैन । ’

उनी फिल्म क्षेत्रबाट किन टाढिएको भन्ने प्रश्नमा भने उनले आफु अहिले फिल्ममा देखिनको लागि नै फिल्ममा काम गर्नुपर्ने अवस्थामा नरहेको बताएकी छिन् ।

उनले कुराकानीकै क्रममा आफुले अब निर्माताको रुपमा काम गर्ने र अहिले आफुसँग थुप्रै प्रोजेक्ट रहेको बताएकी छिन् । उनको उक्त क्षेत्रमा पनि काम भइरहेको तर कस्तो प्रोजेक्ट भन्ने चाहिं खुलाएकी छैनन् ।

सन् २००८ मा शाहरुख खानको फिल्म ‘रब ने बनादी जोडी’ बाट बलिउडमा पाइला हालेकी अनुष्काले आमिर खान, सलमान खान जस्ता थुप्रै स्टारहरुसँग काम गरिसकेकी छिन् ।

 

ताजा खबर