आफ्नो करियर ओरालो लाग्नुको कारण बताए सुनिल शेट्टीले

२०७६ जेठ १ बुधबार १२:१६:०० मा प्रकाशित

एजेन्सी । कुनैबेला बलिउडमा चर्चित नायकको हैसियत पाइसकेका सुनिल शेट्टी पछिल्लो समय फिल्मी दुनियाँबाट टाढिएका छन् ।

९० को दशकमा बलिउडका थुप्रै फिल्ममा काम गरिसकेको उनले फिल्म ‘बलवान’ बाट बलिउडमा पाइला हालेका थिए । त्यसयता फिल्म ‘मोहरा’ , ‘धडकन’, ‘दिलवाले’ र ‘बोर्डर’ जस्ता थुप्रै सफल फिल्ममा काम गरेका उनले ‘हेराफेरी’ लगायतको फिल्ममा कमेडीयनको रुपमा काम पनि गरे ।

उनले लामो समय बलिउडमा एक्सन हिरोको रुपमा नै काम गरेका थिए । हाल फिल्ममा देखिन छोडेका उनी रेष्टुरेन्ट तथा पबहरुमा लगानी गरेर बसेका छन् ।

उनका समकक्षी नायकहरु अजय देवगन र अक्षय कुमार भने बलिउडमा अझै व्यस्त छन् । समय अनुसार आफ्नो लुक्स र शारिरीक बनोटलाई परिवर्तन गर्न सकेको कारण पनि यि नायकद्वयले बलिउडमा काम पाइरहेको बुझिएको छ ।

यसको विपरित सुनिलले भने त्यसो गरेको पाइँदैन । सोही विषयमा कुरा गर्दै सुनिलले आफ्नो करियर ओरालो लाग्नुको कारण आफु नै भएको बताएका छन् । मनोरञ्जन समाचार प्रसारण गर्ने एक अनलाइनसँग कुरा गर्दै सुनिलले आफुलाई अजय र अक्षयलाई देख्दा गर्व हुने पनि बताए ।  

उनले भने, ‘अक्षय र अजयलाई सलाम गर्न मन लाग्छ । आज उनीहरु जुन स्थानमा छन्, त्यो तारिफ योग्य छ । म पनि यस्तै स्थानमा रहन सकेको भए हुन्थे भन्ने लाग्छ । यसको लागि मलाई कडा मेहनत गर्नुपर्नेछ ।’

उनले थपे, ‘म भावुक छु । मैले कहिल्यै पनि आफ्नो करियरको योजना बनाइन । म खस्किदै जाँदा पनि ठिकै छ भन्दै बसें । कुनै हप्ता आफ्नो फिल्म नचल्दा पनि मैले त्यसको तनाव लिइनँ । म मानसिक रुपमा बलियो छु र मलाई आफुमा भरोसा छ । ’

आफ्नो करियर यस्तै रहेपनी आफ्नो सन्तानको भविष्य राम्रो हुँदै गएकोमा भने सुनिल दंग छन् । उनको छोरी आथीया शेट्टीले सलमान खानको प्रोडक्सनको फिल्म ‘हिरो’ बाट बलिउडमा पाइला हालेकी थिइन् । अहिले पनि उनी अन्य फिल्ममा व्यस्त छिन् ।

त्यस्तै उनको छोरा अहान शेट्टी पनि साजिद नाडियडवाला र मिलन लुथ्रियासँग काम गरिरहेका छन् । सन्तानको अहिलेको प्रगती देखेर सुनिल भन्छन्, ‘मेरा सन्तानले राम्रो गरिरहेका छन्, यहाँ भन्दा बढि के नै अपेक्षा गर्न सकिन्छ र ।’

 

ताजा खबर