भारतीय प्रम मोदीलाई खिस्याइन् उर्मीलाले

२०७६ बैशाख ३१ मंगलबार १३:२०:०० मा प्रकाशित

एजेन्सी । भारतमा अहिले चुनावी माहोल व्याप्त छ । छ चरणको चुनावी कार्यक्रम सकिइसकेको भारतमा अब सातौं तथा अन्तिम चरणको चुनाव यहि मे १९ मा हुँदैछ ।

चुनावको माहोल भएकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विभिन्न अन्तर्वार्तामा व्यस्त रहेका छन् । कहिले नायक अक्षय कुमारसँग रमाइलो कुराकानी गरेर होस् वा अन्य अन्तर्वार्ता मोदीको उद्देश्य चुनावमा आफ्नो पार्टीलाई धेरै मत दिलाउन उनको प्रयास केन्द्रित रहेको बुझिन्छ ।

मोदीले यस्तो प्रयास गरिरहँदा गरेका गल्तीलाई समात्दै विपक्षीले भने उनको उछितो काट्ने गरेका छन् । भारतमा चुनावी रणनीति यस्तै हुने गरेको थाहा भएको छ ।

पछिल्लो पटक यस्तै अन्तर्वार्ता दिने क्रममा मोदीले पाकिस्तानको बालाकोटमा गरिएको एयर स्ट्राइकको कुरा गरेका थिए । उनले आक्रमण गरिएको दिन बादल लागेको हुनाले भोलीपल्ट मात्र आक्रमण गर्नुपर्ने सुझाव आएको बताए । यस्तोमा पाकिस्तानी राडारले भारतीय लडाकु विमान आएको थाहा नपाउने भएकाले त्यहि दिन आक्रमण गर्न आफुले सुझाएको बताएका थिए ।

बादलको कारण राडारले विमान आएको थाहा नपाउने भन्ने कुरा गरेका कारण उनी भारतमा ट्रोलको शिकार भए । उनको विरुद्ध #Cloudymodi नामक ह्यासट्याग अभियान नै चलाइएको थियो ।

उक्त आक्रमण गरेर चुनावमा धेरै मत पाउन खोजेका मोदीलाई यसै क्रममा बलिउडकी नायिका उर्मीला मातोंडकरले पनि खिस्याएकी छिन् ।

पछिल्लो समय काँग्रेस आईको तर्फबाट उत्तरी मुम्बईको उम्मेदवार रहेकी उर्मिलाले ट्वीटरमा एक फोटो सार्वजनिक गर्दै मोदीको राडार काण्डलाई लक्षित गर्दै लेखेकी छिन्, ‘सफा आकाशको लागि धन्यवाद भगवान, यसले गर्दा मेरो कुकुर रोमियोले राडारको स्पष्ट सिग्नल पायो । ’ उक्त क्याप्सनको साथ उनले आफ्नो र आफ्नो कुकरको फोटो शेयर गरेकी छिन् ।

उनको उक्त पोष्ट भारतमा भाइरल भएको छ । त्यो सँगै मोदीले अन्य समय दिएका झुट बयानहरु थप सार्वजनिक हुने क्रममा रहेको छ । उक्त पोष्टमा प्रतिक्रिया दिंर्दै यस्ता अन्य कुराहरु पनि बाहिरिएका छन् ।

 

 

ताजा खबर