स्थानीयलाई व्यावसायिक बनाउन होमस्टे तालीम

२०७६ बैशाख ३१ मंगलबार १०:२६:०० मा प्रकाशित

गलेश्वर, ३१ वैशाख । पश्चिम म्याग्दीको मङ्गला गाउँपालिका–१ पूर्णगाउँमा उद्यमशीलता विकास एवं होमस्टे (घरबास) तालीम शुरु भएको छ । मङ्गला गाउँपालिकाको आयोजना र म्याग्दी उद्योग वाणिज्य सङ्घको समन्वयमा शनिबारदेखि पूर्णगाउँमा १० दिने तालीम सञ्चालन गरिएको हो ।

आगामी जेठ ५ गतेसम्म सञ्चालन हुने तालीममा कुहुँ र पूर्णगाउँका २० जनाको सहभागिता रहेको छ । तालीमको प्रशिक्षकद्वय भुपेन्द्र कार्की र सौरव सापकोटाले सहजीकरण गर्ने आयोजकले जनाएका छन् ।

तालीम उद्घाटन गर्दै उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवालले होमस्टेले स्थानीयवासीलाई रोजगारी सिर्जना गर्नुका साथै आर्थिकरूपमा आत्मनिर्भर बनाउन सहयोग पु¥याउने बताए । उनले होमस्टे सञ्चालनले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने बताउँदै आर्थिकरूपमा आत्मनिर्भर बन्न उद्यमशीलमैत्री बन्नुपर्नेमा जोड दिए ।

गाउँपालिका उपाध्यक्ष सिर्जना केसीले पर्यटकीयस्थल टोड्केमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर होमस्टेमार्फत स्थानीयवासीहरुलाई आर्थिकरूपमा आत्मनिर्भर बनाउन तालीम आयोजना गरिएको बताए । पर्यटकीयस्थलको रूपमा परिचित टोड्के र बराङ्जाको झाँक्रीपानीमा होमस्टे सञ्चालनका लागि तालीम चलाइएको बताउँदै उनले गण्डकी प्रदेश सरकारले होमस्टे सञ्चालनका लागि रु २० लाख बजेट अनुदान उपलब्ध गराएको जानकारी दिए ।
 

ताजा खबर