रणबीर र आमिरको फिल्म नजुध्ने

२०७६ बैशाख ३० सोमबार १२:०९:०० मा प्रकाशित

एजेन्सी । बलिउडमा सामान्यतया ठुला बजेटका फिल्महरु नजुधाउन सकेसम्म पहिल्यै आफ्नो फिल्मको मिति घोषणा गर्ने चलन रहेको छ ।

फिल्म बन्ने खबरसँगै रिलिज मिति बताएर अन्य फिल्मलाई सकेसम्म उक्त मितिमा नजुधाउन संकेत दिने गरेको बताइन्छ । यद्यपी केहि फिल्म भने विभिन्न कारणले जुध्ने गरेका छन् ।

पछिल्लो समय आफ्नो फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ फ्लप भएपछि अत्तालिएका आमिरले बल्ल आफ्नो आगामी फिल्मको लागि काम थालेका छन् । हलिउड फिल्म ‘फरेष्ट गम्प’ को हिन्दी रिमेक ‘लाल सिंह चड्ढा’ को लागि उनले काम गरिरहेको थाहा भएको छ । यो फिल्म सन् २०२० को क्रिशमसमा रिलिज हुने भनेर यसअघि नै घोषणा भइसकेको छ ।

त्यस्तै निर्देशक लभ रञ्जनले पनि नायक रणबीर कपूर र अजय देवगनलाइ लिएर ‘थ्रीलर’ फिल्म बनाउन लागेका छन् । उक्त फिल्म सोही मितिमा रिलिज हुने घोषणा गरिएपनि हाल आएर रणबीरको फिल्मको मिति परिवर्तन हुने बताइएको छ । फिल्मको नाम अहिलेसम्म घोषणा भइनसकेको उक्त फिल्म आमिरको फिल्मसँग जुधाउनु उपयुक्त नहुने विश्लेषणसँगै मिति परिवर्तन हुन लागेको बताइन्छ ।

फिल्मको मिति परिवर्तन बारेमा रणबीरले, आफ्नो फिल्म दुईवटा फिल्म ‘ब्रम्हास्त्र’ र ‘शमशेरा’ अर्को वर्ष रिलिज हुने बताए । एक वर्षको अवधिमा आफ्नो तीन फिल्म आउनु उपयुक्त नहुने बताउँदै उनले यस्तो हुँदा दर्शकलाई आफ्नो फिल्मप्रति त्यति चाख नहुने बताए । सोही कारण उनले फिल्मको रिलिज मिति अलि पछि सार्न उपयुक्त हुने बताएका छन् ।

त्यस्तै अर्का नायक अजय देवगनले सन् २०२० को क्रिशमसमा हलिउड फिल्म ‘अवतार २’ रिलिज हुने भएकोले आफ्नो फिल्म मात्र नभएर  ‘लाल सिंह चड्ढा’ को मिति सर्नु उपयुक्त हुने बताए । उनको अनुसार ‘अवतार २’ ठुलो फिल्म भएकोले मिति जुधाउन उपयुक्त हुँदैन ।

यसअघि ‘ब्रम्हास्त्र’ यहि वर्षको डिसेम्बरमा रिलिज हुने भनिएपनि सलमान खानको ‘दबंग ३’ सँग जुध्ने भएकोले अर्को वर्षको लागि सारिएको थियो ।

 

ताजा खबर