कोशीको कथा : प्रकृतिमा राजनीतिको प्रवेश

२०७४ भदौ ६ मंगलबार १३:५०:०० मा प्रकाशित

कोशी हाम्रा आफन्त हुन् । हामीलाई दुःख पनि दिने र खुशी पनि पार्ने । सनकी राज्यको चरित्र छ ‘कोशी’को, अनाहकमा दण्डित गर्ने अनि जनताको समुन्नतिको दायित्व पनि निर्वाह गर्ने खालको । प्रख्यात भारतीय आंचलिक साहित्यकार फणिस्वर नाथ रेणुले कोशीको प्रपातलाई ‘ऋण जल धन जल’ भन्ने उपमा दिँदै एक चर्चित पुस्तक नै लेखेका छन् । मेरा पैतृकहरूको कोशी सम्बन्ध पनि ‘ऋण जल धन जल’ कै रहेको छ । मेरा हजूरबुबाका पैतृकहरू उ बेलाको धनधान्यले परिपूर्ण ‘चेंगहा’ गाउँ कोशीमा जल समाधी लिएपछि आजको कंचनपुरमा बसार्इँ सरी आएका हुन् । भनिन्छ, चेंगहा अहिलेको सुनसरी मधुवनको पश्चिममा थियो, अब किंवदन्ति भएको त्यो मुकाम समुन्द्रमा श्रीकृष्णको द्वारका झंै जल समाधीस्थ    छ । यसपछि नयाँ बसाईका लागि कंचनपुरको खोजी भएको हो, जुन त्यस बखतको अग्लो तथा सुरक्षित ठाउँको रूपमा खोजिएको थियो । मेरो पिताजीको उमेर ८५ बर्ष नाघेको छ । अहिलेको बाढी हेरेर भन्नु भो – बाजेहरूले सुरक्षित भन्ठानेर खोजेको यो गाउँ पनि निरापद रहेन । कोशीले आफुबारे नयाँ रूपमा सोच्न सबैलाई बाध्य पारेको छ ।

कोशीबारे म पनि सोचमग्न भएको छु । बिराटनगर विमान स्थल समुन्द्र सतहबाट २ सय ३६ फिटको उचाईमा छ । जनकपुर देखि पूर्वको सिरहा, सप्तरी र सुनसरीको मैदानी भाग बिराटनगरकै समान उचाई मै रहेको छ । अहिले तराईका लगभग सबै जिल्लाहरू समान रूपमा बाढीबाट आक्रान्त छन् । राजनीति अप्रभावित भै मात्र प्राविधिक दृष्टिबाट हेर्ने हो भने मुलुकका सबै ठूला नदीहरू जो तराईका जिल्लाहरू भै बग्दछन् त्यसको तल्लो तटीय बहावको क्षेत्र बाढीबाट प्रभावित रहेको छ । तर, यहाँ म खासगरी कोशी क्षेत्रको वारेमा केन्द्रीत भै संक्षिप्त चर्चा गर्न चाहन्छु । 

यो क्षेत्र अहिले बाढीबाट बढी प्रभावित रहेकोले चर्चामा छ । साथै बाढीको यस दुष्प्रभावले मुलुकको अन्तर्देशीय भूराजनीतिलाई समेत चर्चामा तानेको छ । हुँदाहँुदा नेपालका परराष्ट्र मन्त्रीले समेत भारत नियन्त्रित कोशी बैरेजका सबै ढोकाहरू नखोलिएको कारणले सप्तरी जिल्ला डुबानमा परेको गुनासो भारतीय राजदूत समक्ष गरेको समाचार छ । राष्ट्रपति महोदयाले पनि भारत भ्रमणमा जान लागेका प्रधानमंत्रीलाई यस्तै सन्देश दिनु भएको छ । यो हो प्रकृतिमा राजनीतिको प्रवेश ।

सातवटा नदीको संगम कोशीको उपल्लो क्षेत्र अत्यन्त ठूलो एवं फराक छ । अर्को शब्दमा कोशीको जलाधार क्षेत्रले मुलुकको अन्य कुनैपनि नदीको तुलनामा धेरै जिल्लाहरूलाई समेटेको छ । काठमाडौं पूर्वका केही उत्तरी हिमाली जिल्लाहरू, मध्य पहाडी जिल्लाहरू र भित्री मधेसका जिल्लाहरू समेत हुदै कोशी तल्तिर झरेको छ । यो भन्दा ठूलो जलाधार क्षेत्र नेपालको अन्य कुनै पनि नदीको छैन ।

यसरी नै कोशीको तल्लो प्रवाह पनि उत्तिकै फराक छ । बागमतीदेखि पूर्वका प्रायस सबै नदीहरू कुनै न कुनै रूपमा कोशीको उपल्लो जलाधार क्षेत्रबाट नै निसृत भएको पाईन्छ । लालबकैया, चकनाहा, सिपरी, कोला, लखनदेई, करेह, कमला, त्रिवेणी, धुर्मी, बलान, भुतही बलान, त्रियुगा, खाडो, महुली, सुन्दरी, गंगाजली, पोडा, मरिया, सुनसरी कोशी क्षेत्रका यी नदीहरूको बहावका स्थानहरू बाढीबाट किन बारम्बार प्रभावित भैरहन्छन् ? यी सबै नदीहरूको बाढी अत्यन्त अच्छृंखल र सत्यानासी प्रकृतिको किन छ ? पोहोर साल सप्तरीको तिलाठी बढी चर्चामा रह्यो । तिलाठीको शिक्षाले कुनै सुधार भएन । बरू, यसले दिएको प्राकृतिक सन्देश कथित राष्ट्रवादको मुद्दामा कचल्टियो । अहिले कोशी ब्यारेजको ३६ ढोका मात्र खोलियो, ५६ वटै कपाट किन खोलिएन भनेर सप्तरीको बाढी बिध्वंशको कारण खोजिँदैछ । हुँदहँुदा उद्धार र राहतको प्राथमिकता भारतसँग सन् १९५० को सन्धि, कोशी र गण्डक सम्झौताको माखेसांग्लोमा पुगेको छ ।

यहाँ यी सबै सतही कुरा भन्दा केही तथ्यमा जानु उपयुक्त हुने ठान्दछु । यसर्थ फेरी दोहोर्याउन चाहन्छु । बिराटनगर विमान स्थल समुन्द्र सतहबाट २ सय ३६ फिटको उचाईमा छ । जनकपुर देखि पूर्व सिरहा, सप्तरी र सुनसरीको मैदानी भाग लगभग समान उचाई मै रहेको छ । जबकि, कोशी नदीको मुख्य उद्गम स्थल समुन्द्र सतहबाट १८ हजार फिट अग्लो छ । यहीं यो तथ्य विचारणीय छ कि, कोशीका सबै भँगालाहरू भारतको बिहार राज्यमा प्रवेश गरी अन्तत गंगा नदीमा मिसिन्छ । यो गंगा मईयाको उद्गम स्थल समुन्द्र सतहबाट १० हजार ३ सय फिट अग्लो छ । कोशीको भन्दा कम, स्वभावत कोशीको तल्लो तटीय प्रवाह, जो अन्तत गंगामा मिसिन्छ, उक्त गंगा कोशीको उद्गम स्थलभन्दा ७७०० फिट ओरालो छ । यसर्थ कोशी र यसका सबै सहायक नदीहरू बढी तेजिलो वा गतिमान हुनेमा कुनै शंका रहनु हँुदैन । कोशी नदी पहाडी क्षेत्रहरूबाट तल झर्दै गर्दा यस्को उतारको गति प्रति माईल ७५ फिटको दरले तल झर्दछ ।

भर्खरैको अत्यधिक बर्षा लामो समयपछिको एक अपवाद हो । तर, यस तथ्यलाई ईन्कार गर्न सकिँदैन कि कोशीको जलाधार क्षेत्र वा भनौं यसको हिमालीय प्रवाह क्षेत्रमा प्रायस १७० इंचसम्म बर्षा हुने गर्दछ । यसमा हिम ग्लेशीयरबाट आउने पानीको मात्रा समावेश छैन । कोशीमा हिउँदको महिना चैत्र(बैशाखमा बाढी आउँछ । मानिसहरू छक्क पर्छन् । प्रचण्ड गर्मीले हिमतालहरू पग्लेर आउने बाढी तल तराईको कोशी ब्यारेज भै गुज्रिने यात्रीले हेर्दा अचम्म मानेका हुन्छन् ।

एक अध्ययन अनुसार बर्षा याममा कोशीको जल प्रवाहको गति प्रतिघन्टा १६ माईल हुन्छ । सामान्य अवस्थामा यसको बेग राजबिराज शहरमा कुद्ने रिक्साको गति जस्तो हुन्छ । प्रति घन्टा ३ माईल । आफ्नो यही प्रवाहका कारणले कोशीको जलाधार पहाडी क्षेत्रमा नियन्त्रित रहेपनि भित्री मधेस र तराईमा यो अनियन्त्रित हुन्छ, करिब १५० बर्षको ईतिहासमा कोशीले तल तराईमा पूर्व पश्चिम गरी करिब १२० किमी फराकमा धार परिवर्तन गरेको पाईन्छ । भारत, बिहार प्रदेशमा कोशीका धारहरू १४० किमीको फराकमा स्वच्छन्द विचरण गरेको तथ्यांक छ । म हाई स्कूल पढ्दाको बखत कोशीको मुख्य धार मेरो गाउँ कंचनपुरको पुगनपुग २ किमी पूर्व पथरी भै बग्दथ्यो । जबकि, अहिले सो ठाउँबाट हवाई दुरीको १६ किमी पश्चिम सुनसरीको कुशहालाई छोएर बग्दछ ।

अर्को पनि तथ्य छ, सन् १८१० भन्दा पहिला कोशी चतराबाट तल आउना साथ दक्षिणतिर प्रवाहित नभै सोझै पूर्वतिर बग्ने गर्दथ्यो । यदि त्यो धार कायम नै रहेको भए आज कोशी ईटहरीको मुख्य बजार हुँदै संभवत कन्काईमा मिसिने थियो र पूर्वांचलको नक्सा नै अर्कै अकल्पनीय बन्ने थियो । सन् १८१० पछि मात्र कोशीले चतराबाट दक्षिणको बाटो समात्यो, फलत कोशी आज यहाँ छ । मेरो छिमेकी भएको छ ।

आफ्नो प्रवाहसँगै बालुवा बगाएर ल्याउने र समतल मैदानमा थुपार्ने चरित्रका कारणले कोशी संसारकै नदीहरूमा अद्वीतीय रहेको छ । कोशीको गंगा प्रवेशको बिन्दुमा बर्षेनी सतह उँचो हुँदै जाने कारणबाट नेपाली क्षेत्रमा कोशीको धार परिवर्तन भैरहन्छ । केही बर्ष पहिले बंगलादेश प्रवेशको नजिक गंगाले बगाएर लगेको बालुवा थुप्रेर यौटा टापु नै निर्माण भएको बडो चर्चा हुने गथ्र्यो ‘न्यू मुरल्याण्ड‘ नामाकरण गरिएको थियो । प्रायस सबै हिमाली नदीहरूको बालुवा, ढुंगा तथा माटो बगाउने यही बिशेषताका कारणले उक्त टापू बन्न गएको हो ।

पिपलको पात संझिनुस् वा चौरीको पुच्छरको कल्पना गर्नु ः माथी र तल सानो डाँढ र तल मसिनो हुँदै जाने, अनि पेटको भाग चाहीँ दुबैतिरबाट अर्धचन्द्राकार झंै छ कोशीको प्रवाह । कोशीको बालुवा, ढुंगा गिट्टी तथा माटो बगाउने उही चरित्रका कारणले मूल कोशी र यसबाट निसृत हुने सबै सहायक नदीहरूको भू सतह माथी उठ्दै गएर नदीले संग्रह गरी बगाउने जल भण्डारण बाहिर फालिने प्रवृति अब प्रकट हुन थालेको छ ।
जो कोहीलाई यदि सप्तरीको कोशी खण्डको सामान्य ज्ञान पनि छ भन्ने उसले सजिलै बुझ्नसक्छ कि यस पटकको सप्तरीको डुबानमा कोशीको ऋणात्मक योगदान नगण्य छ । गोबरगाढा र थोरै एकाध ठाउँको अपवाद बाहेक । सप्तरीको डुबान वा बाढीको मूल कारण त कोशीका सबै सहायक नदीहरूको भूसतह बढेर जानु हो । मैले माथि चर्चा गरेको कोशीको पानी ढलोको प्रबल बेगलाई त भगवान ईन्द्र बाहेक अरू कसैले नियन्त्रण गर्न सक्दैन । हामीले गर्ने त अब हरेक बर्ष अवश्यंभावी बाढीबाट हुने क्षतिको नियन्त्रण र उद्धारको तयारी मात्र हो । कोशीको मुहानमा यदि नपखालिने कुनै बस्तु फ्याँकि दिने हो भन्ने केही घंटा मै कोशी बैरेजमा आईपुग्ने कोशीको तल्लो बहावको तेजलाई बुझ्नेले यस तथ्यमा असहमत हुने ठाउँ छैन ।

प्रधानमंत्री वा अरू कसैले भारतसँग छलफल गर्ने भनेको कोशी बैरेजको ढोका खोलिएन भन्ने लम्फू बिषय भन्दा भारतले एकतर्फि रूपमा निर्माण गर्दै लगेको बाँधको बिषय हो । जल प्रकोपको सूचना आदान प्रदान र दुबै पक्षबाट समान दायित्वका साथ सचेतता अपनाउने विधी निर्माणको बिषय हो । कोशी र अन्य अन्तर्सीमा नदीहरूको नयाँ सन्दर्भमा नयाँ जल उपभोगको बिषय हो । बाढी ब्यवस्थापनको द्विपक्षीय हितको बिषय हो ।
(यो ज्ञानवर्धक विश्लेषण हामीले लेखकको फेसबूकबाट साभार गरेका हौं)
 

ताजा खबर