‘देउरालीको फूल’ लिएर आए युवराज

२०७६ बैशाख २९ आइतबार १५:५८:०० मा प्रकाशित

काठमाडौं । कवि तथा गीतकार युवराज अधिकारीको ‘देउरालीको फूल’ शीर्षकको गीति अल्वम सार्वजनिक भएको छ ।

सुपरिचित र लोकप्रिय गायकका स्वरमा सजिएका युवराज अधिकारीका ६ वटा गीतहरुमा चर्चित संगीतकार सुरेश अधिकारीले संगीत भरेका छन् । सदाबहार गायक दीप श्रेष्ठ र युवा पुस्ताका लोकप्रिय गायकहरु रामकृष्ण ढकाल,स्वरुपराज आचार्य तथा प्रमोद खरेलले अधिकारीका गीतलाई आफ्नो स्वरमा जीवन्त बनाएका छन् ।

आफैं पनि साहित्य सिर्जनामा रमाउने पूर्व प्रधानमन्त्री झलनाथ खनालले मुख्य अतिथिका हैसियतमा अधिकारीको गीति अल्वम लोकार्पण गरेका थिए । शनिबार साँझको एक भव्य समारोहमा प्रशिध्द गीतकार तथा चलचित्र निर्देशक यादव खरेल सहितका अतिथिले मुख्य अतिथिसँगै अल्वम लोकार्पण गरेका थिए ।

युवराज अधिकारीका यी गीतमध्ये केही त सुन्दर शैलीमा छायांकन पनि गरिएका छन् । वरिष्ठ संचारकर्मी भूषण दाहालको निर्देशनमा छायांकन भएका यी गीत समकालीन गीति संसारमा मन पराईने संगीत सामग्रीका रुपमा आएको कार्यक्रमका वक्ताहरुले टिप्पणी गरेका थिए ।

गीतकार युवराज अधिकारी पहिलो पटक गीतकारको परिचयमा उदाएका भने होईनन् । उनी विद्यार्थी जीवनदेखि नै साहित्य सिर्जनामा तन्मयसाथ लागेका थिए । कविता उनको प्रारम्भिक यात्रा थियो भने जन्मस्थल इलामबाट अध्ययनको सिलसिलामा काठमाडौं पसेपछि उनले कवितासँगै गीति रचनामा पनि आफूलाई एकाग्र गर्दै लगेका थिए । लामो समयको लगावपछि उनले आफ्ना गीतमध्ये अव्वल दर्जाका गीतलाई यसपटक सार्वजनिक गरेका हुन् । 

लोकार्पण समारोहमा युवराजले भने– ‘म यतिमै सन्तुष्ट भएर विश्राम लिने छैन,भविष्यमा अझ सुन्दर गीतहरु स्रोता र दर्शकहरुमाझ लिएर आउने छु ।’
लोकार्पण समारोहमा गीतकार यादव खरेलले युवराजका गीत सुनेर आफू आशावादी भएको अनुभव सुनाउँदै गीति सिर्जनाबाट विश्राम नलिन सुझाव पनि दिएका थिए । 

मुख्य अतिथि खनालले युवराजको गीत आफूलाई निकै मन परेको बताउँदै भविष्यमा अझ सुन्दर र मीठा गीत लेख्न सुझाव दिएका थिए । 
दीप श्रेष्ठ,रामकृष्ण ढकाल र प्रमोद खरेलले लोकार्पण समारोहमै पनि गीत सुनाएर सहभागीलाई रोमञ्चित तुल्याएका थिए ।

ताजा खबर