प्रकृतिको वरदाननै हो धुम्बा ताल

२०७६ बैशाख २९ आइतबार १३:४१:०० मा प्रकाशित

 जोमसोम बजारको दक्षिणपूर्वमा एउटा झोलुङ्गे पुल छ । पुलबाट कालीगण्डकी तरेपछि बगरैबगर यात्रा अघि बढ्छ । वरिपरि निर्जन डाँडा र कन्दरा । ढुङ्गा, बालुवाबीच फूलेका भुइँफूल । केही पर भेटिन्छ, ठिनी खोला । फड्के तरेर पारि पुग्दा आइपुग्छ, सम्ले गाउँ छिर्ने प्रवेशद्वार ।

तलपट्टि सुसाइरहेको नदी, दन्तेलहर झैँ खुलेका हिमाल, गुम्बा, स्याउ बगान र रैथाने जनजीवन आँखामा सजाउँदै पुगिन्छ, सम्ले गाउँको सिरान । चराहरुको चिरबिर, हावाको मन्द स्पर्श र शान्त वातावरणले यात्रीको थकान बिर्साइदिन्छ । सारा दुःख र तनाव भुलेर मानिस प्रकृतिमा विचरण गर्छ । मुस्ताङ, घरपझोङ गाउँपालिका–५ स्थित धुम्बा ताललाई लक्ष्य बनाउने जो कोहीलाई प्रकृतिले यसरी नै लोभ्याउँछ । झट्ट हेर्दा कुनै विख्यात कलाकारले कुँदेको चित्र झैँ लाग्छ, धुम्बा ताल ।

कञ्चन तालमा हिमाल डुबुल्की मारे झैँ देखिन्छ । उस्तै मनमोहक दृश्य माछा र जलचरको । लाग्छ, ताल क्षेत्र महात्माहरुको तपस्यास्थल हो । धुम्बा ताल प्राकृतिक हिसाबले जति सुन्दर छ, त्यति नै यसको धार्मिक महत्व पनि छ ।

बौद्धमार्गीले तालको पानीलाई भगवान् गौतम बुद्धलाई चढाउने जलका रुपमा लिन्छन् । ताल नजीकै रहेको ऐतिहासिक कुछुप तेरेङ्गा गुम्बामा यही तालको पानी चढाउने गरिन्छ । बौद्ध धर्मावलम्बी तालछेउमा आई ध्यान र पूजाआजासमेत गर्छन् । ताल संरक्षण र व्यवस्थापनको काम त्यही गुम्बाले गर्दै आएको छ । तालमा नागराज देउताको बास रहेको मानिन्छ । पारिवारिक सुख, शान्ति मिल्ने र मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । “धुम्बा ताल हाम्रो पवित्रस्थल हो”, गुम्बाका लामा काजी थकालीले भने, “पछिल्लो समय यो पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ ।”

तालमा विभिन्न प्रजातिका माछा छाडिएको भए पनि मार्न प्रतिबन्ध छ । तालमा नुहाउन, पौडी खेल्न, डुङ्गा चलाउन र छेउछाउमा वस्तुभाउ चराउन पाइँदैन । “धार्मिक आस्था जोडिएका कारणले धुम्बा तालको विशेषता फरक छ”, स्थानीयवासी कुलबहादुर थकालीले भने, “यो तालमा लेउ पनि लाग्दैन ।” तालको सरसफाइ, व्यवस्थापन र माछाको हेरचाहका लागि कर्मचारी खटाइएको छ । ताल घुम्ने विदेशी पर्यटकले रु २० र आन्तरिक पर्यटकले रु १० शुल्क तिर्छन् । त्यहाँ पुग्ने पर्यटकले किनारमा उभिएर, बसेर तस्बीर लिन्छन् । ताललाई पैदलै फन्को मार्छन् ।

आसपासको प्राकृतिक सौन्दर्यबाटपनि पर्यटक मोहित हुन्छन् । तालको पूर्वमा थोरङ्ला र  निलगिरि, पश्चिममा मानामाथि, दक्षिणमा धवलागिरि र टुकुचे हिमाल देखिन्छ । उत्तरपट्टि पर्यटकीय ठिनी गाउँ पर्छ । पर्यटकलाई लक्षित गरेर बगैँचा, विश्रामस्थल, खाजाघरको व्यस्था गरिएको छ । ताल १३० मिटर चौडा, १६० मिटर लामो र १० मिटर गहिरो छ । समुन्द्री सतहदेखि दुई हजार ९०० मिटरको उचाइमा अवस्थित ताललाई ‘मुस्ताङको लुकेको हिरा’ भनेर समेत चिनिन्छ । मुटु आकारको देखिने भएकाले युवायुवतीबीच ‘हर्ट–सेप लेक’ का रुपमा पनि परिचित छ ।

मुस्ताङ सदरमुकाम जोमसोम बजारदेखि पैदल एक घण्टामा धुम्बा ताल पुग्न सकिन्छ । जीप, मोटरसाइकलबाट पनि सजिलै पुग्न सकिन्छ । धुम्बा तालबाट फर्किंदा पर्यटकीय गाउँ ठिनी हुँदै जोमसोम आउन पनि सकिन्छ । पछिल्लो समय पर्यटकको आउजाउ बढेपछि पूर्वाधार निर्माणमा स्थानीयवासीले चासो बढाएका छन् । घरपझोङ गाउँपालिकाले पनि तालमा लगानी थपेको छ । धुम्बा तालको संरक्षण र विकासका लागि गुरुयोजना निर्माणको काम भइरहेको गाउँपालिकाका उपाध्यक्ष शर्मिला गुरुङले बताए ।

“धुम्बा ताल मुस्ताङको पहिचान हो”, उनले भने, “यसलाई धार्मिक एवं पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न जरुरी छ ।” प्राकृतिक छटाले भरिएको हुँदा चलचित्र छायाङ्कनस्थलका रुपमा समेत ताल चिनिन थालेको छ ।

केही वर्षअघि नेपाली चलचित्र ‘जेरी’मा धुम्बा तालको दृश्य समेटिएपछि तालले प्रचार पाएको थियो । गएको जाडोयाममा ताल जमेपछि धुम्बा तालले थप चर्चा कमायो । विसं २०७२ को भूकम्पपछि तालको पानी सुक्दै गए पनि अहिले भने ताल पूर्ववत् अवस्थामा फर्केको छ । रमणीय भूबनोटमा अवस्थित धुम्बा ताललाई स्थानीयवासीले प्रकृतिको वरदान मान्छन् ।

 

ताजा खबर