तस्विरमा यस्तो छ जिरी

२०७६ बैशाख २७ शुक्रबार १२:०६:०० मा प्रकाशित

दोलखा जिल्लाको सदरमुकाम चरिकोटबाट ५६ कि.मी. पूर्वमा रहेको जिरी बजार (उपत्यका) सगरमाथा प्रवेशद्वार हो। समुद्र सतहबाट १९५१ मी. को उचाईमा रहेको जिरी मनोरम प्राकृतिक सौन्दर्यले भरिएको छ। यसलाई नेपालको स्विजरल्याण्ड पनि भन्ने गरिन्छ।

जिरी काठमाडौंबाट टाढा भए पनि यसको विकास लोभलाग्दो छ। स्विजरल्याण्ड सरकारले जिरीको भू–बनौट आफ्नो जस्तै लागेर यसको विकासमा लामो समयदेखि सहयोग गर्दै आएको छ । २०१४ सालदेखि स्वीस सरकारको सहयोगमा जिरी बहुउद्देशीय विकास परियोजना प्रारम्भ भएको हो। परियोजनाले कृषि सडक, शिक्षा तथा ग्रामीण विकासमा सहयोग गररिहेको छ । स्वीस सरकारको सहयोगमा जिरीमा स्तरीय अस्पताल, भौतिक सुविधासम्पन्न विद्यालय, सबैका घरमा गोठ तथा चर्पी बनेका छन् ।

स्वीस सरकारको सहयोगमा वृक्षारोपण भएपछि यहाँका सबै डाँडा सल्लाका रुखका कारण हरिया छन् । धेरै डाँडामा चियाखेती गरिएको छ। चिया बगानका कारण पनि जिरीको सौन्दर्य बढेको छ । यहाँ उत्पादित अर्थोडक्स चिया विश्वप्रसिद्ध छ । स्थानीय चीज कारखानामा उत्पादित चीजले राम्रो बजार लिएको छ । जर्मनी र नेपालीको संयुक्त लगानीमा सञ्चालित लामा प्रजनन केन्द्र पनि रहेका कारण यो क्षेत्र कृषि पर्यटनका लागि पनि राम्रो क्षेत्र हो ।

शेर्पा जातिको बसोबास रहेको जिरीमा राम्रा होटल तथा लज छन् । विद्यालय, कलेजका विद्यार्थी, नवविवाहित जोडी तथा ट्रेकिङ गर्न रुचाउनेहरूका लागि जिरी महत्वपूर्ण क्षेत्र मानिन्छ । चैत–वैशाखमा गुराँसले राताम्य हुने बाटो पुस–माघमा हिउँले पुरिन्छ । शरद ऋृतु मौसम भने जिरी घुम्ने उपयुक्त समय हो ।

ताजा खबर