पति र पैसा खोस्ने कान्छी पक्राउ

२०७६ बैशाख २७ शुक्रबार ०७:४९:०० मा प्रकाशित

एकजना फिल्म निर्माताले मायाको भोक मेट्न कान्छी त ल्याए, तर तिनैले खोरमा हालिन् । जेठीलाई रिस उठ्यो, उनले ‘कान्छी’ लाई पनि जाकेरै छाडिन् ।

घरकी पत्नीले पुगेन भनेर कान्छी राख्नेहरुले याद गरिराखौँ, ऐन–मौकामा उनै जेठी काम लाग्छिन् । यस्तो देखिएको छ, प्रहरी परिसर टेकुमा । अहिले फिल्म निर्माता सागर ढुंगेल बैंकिङ कसुरको मुद्दा लागेर प्रहरी हिरासतमा छन् । कारक हुन्, कान्छी पत्नी शोभा सिटौला । बानेश्वरमा बुटिक चलाउने जेठी पत्नी सुधालाई छाडेर सात वर्षदेखि ढुंगेल कान्छीसँग बस्दै आएका थिए । तर, कान्छीले खोरमा  हालेपछि जेठी तात्तिइन्, कान्छीका विरुद्ध । अहिले रमाइलो देखिन्छ, टेकु प्रहरी परिसरमा । त्यहाँ पति–पत्नी नै हिरासतमा छन् ।

इटहरीको अधिकारी थरका पतिले विष पिएर आत्महत्या गरेपछि कामको खोजीमा इजरायल जान खोज्दा सागरले शोभालाई भेटेका थिए, दिल्ली एयरपोर्टमा । अवैध बाटो हुँदै इजरायल जाने उनको योजना सफल नभएर भएको पैसाले फिल्ममा पार्टनरसीप गर्ने भनेपछि सम्बन्ध बलियो बन्दै गयो । विराटनगरका सागर काठमाडौंको फिल्मी दुनियाँमा टिक्न नसकेर सिलीगुडीको फिल्म डिष्ट्रिव्युसन र स्थानीय फिल्म निर्माणमा सक्रिय   थिए । अनि, शोभासँग फिल्मी होइन, अर्कै पार्टनरसीप चलाए । सागरका नाति–नातिना भइसकेका छन् भने शोभासँग १८ वर्षका छोरा छन् । सागर पहिला राम्रै कांग्रेस कार्यकर्ता थिए, तर पछिल्लो समय पूर्वराजाको धर्मसापेक्ष अभियानमा सहभागी छन् । 

कान्छी बनेर उनको जीवनमा प्रवेश गरेकी शोभाले सागरसँग विभिन्न समयमा चेक लिएकी थिइन्, छोरा पढाउने नाममा । खातामा पैसा छैन भन्दा पनि फाइनान्समा चेक डिपोजिट राखेर पैसा झिक्छु भन्दै चेक लिएकी हुन् । माया गर्ने कान्छी पत्नीले धोका देलिन् भन्ने त कसले पो सोचिहाल्दो हो ! सागर यस्तैमा परे । ६ महिनाअघि उनले शोभालाई दिएको ३० लाखको चेक फाइनान्समा राखेर पैसा झिक्ने काम गरिनन्, बरु बाउन्स गरेर प्रहरीकहाँ धाइन् । यसो गर्नुको कारण थियो, सिलिगुडीबाट काठमाडौं आएको बेला सागरले जेठी पत्नी भेट्नुको रिस । रिसैरिसमा गत साता आफैँ जाहेरवाली भएर बैंकिङ कसुरमा मुद्दा हालिन् । सागर समातिए । यसपछि जेठी पत्नी पुगिन्, कारण खोज्दै । केही बेर सौतालाई फकाइन्, मिलापत्र गर्नका लागि । तर, कान्छीले मानिनन् ।

त्यसपछि जेठीले महिला सेलमा गएर बहुविवाहको जाहेरी दिइन् । पूर्वमहान्यायाधिवक्ता बाबुराम कुँवरहरुको सहयोगमा ‘न्याय खोज्न’ प्रहरीकहाँ धाइरहेकी शोभा त्यतिबेला अचम्ममा परिन्, जब उनैलाई प्रहरीले समातेर कष्टडीमा हाल्यो । जेठीपत्नीको भनाइ छ, ‘यदि कान्छीले मिलापत्र गरेर पतिलाई हिरसातमुक्त गर्न सहयोग गरेमा बहुविवाह मुद्दा फिर्ता लिने, मन्दिरमा गएर आफ्ना पति सधैंका लागि जिम्मा दिने ।’ शोभा (कान्छी) ले भनेकी छन्, ‘तेरो बूढो तैँ लैजा, मलाई पैसा दे...!’

उता, फिल्म बनाउँदा ऋण लागेर थुप्रै मानिससँग आर्थिक कारोबार गरेकी निर्मात्री प्रज्ञा जोशी अहिले पुर्पक्षका लागि केन्द्रीय कारागार चलान भएकी छन् । आर्थिक लेनदेन भएका मानिसहरुले खोज्दै हिँड्न थालेपछि काठमाडौंबाट भागेर इटहरी बस्न थालेकी प्रज्ञा तीन साताअघि इटहरीबाटै पक्राउ परी काठमाडौं चलान भएकी थिइन् ।  जनआस्था janaaasthanews.com.np को समाचार अनुसार, बैंकिङ कसुर मुद्दामा पाटन उच्च अदालतको बाणिज्य इजलाशले प्रज्ञासँग ४० लाख धरौटी माग गरेको थियो । सो रकम तिर्न नसक्दा उनी पुर्पक्षका लागि केन्द्रीय कारागार चलान भएकी हुन् ।

ताजा खबर