टोर्नाडोको नाम जुराउन नसकेर वैज्ञानिकको पसिना छुट्यो

२०७६ बैशाख २५ बुधबार ०७:३८:०० मा प्रकाशित

काठमाडौँ,२५ वैशाख । गत चैत १७ गते बारा, पर्सामा आएको टोर्नाडोको नेपाली नाम जुटाउन विज्ञलाई सकस परेको छ । 

टोर्नाडो आएको एक महिना बितिसक्दा पनि त्यसको नाम राख्न विज्ञले सकेका छैनन् । के नाम राख्ने भन्ने विषयमा ठ्याक्कै नाम जुराउन गाह्रो भइरहेको नाम राख्ने कसरतमा रहेका विज्ञहरूले बताउनुभयो ।

टोर्नाडोको अवस्था मूल्याङ्कन तथा वास्तविक तथ्य पत्ता लगाउन अनुसन्धान गर्न गएको टोलीले समेत सही नाम हालसम्म जुटाउन नसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

“टोलीले रिपोर्ट बुझाएको छैन, त्यसका आधारमा नाम राखिन्छ,” विभागका महानिर्देशक सरजुकुमार वैद्यले थप्नुभयो, “रिपोर्ट आएपछि नामको पनि टुङ्गो लाग्ला ।” 

आउँदो हप्ताभित्र रिपोर्ट आफूसमक्ष आउने र सुझाएका नामबारे छलफल गरी टोर्नाडोको नेपाली नाम राखिने उहाँले बताउनुभयो । टोलीले भने टोर्नाडोको असर तथा त्यसका विविध पक्षमा गरिएको अध्ययन लगभग अन्तिम चरणमा पुगेको जनाएको छ ।

विभाग सहित टोर्नाडो पत्ता लगाउने कार्यमा संलग्न स्मल अर्थ नेपाल, इसिमोड तथा प्राविधिक सहितको टोलीले टोर्नाडो आएको स्थानको स्थलगत अध्ययन गरेको थियो । 

“नामहरू आएका छन् तर यही नाम भनेर तोकिएको छैन”, टोलीकी संयोजक डा.अर्चना श्रेष्ठले थप्नुभयो, “मन्त्रालयले पनि नेपाली शब्दकोषमा समायोजन गर्न सकिने र सुहाउँदो नाम चाहिन्छ भनेकाले गृहकार्य भइरहेको छ ।” 

उहाँका अनुसार नेपालमा यसअघि कहिले पनि नआएको हुनाले यो इतिहास हो । त्यसैले पनि नेपालको मौलिकता झल्कने नाम जरुरी हुन्छ । 
टोलीमा सहभागि विज्ञहरूका अनुसार तराईको भेगमा चल्ने भाषा तथा विपत्तिमा राखिने नामसँग जोडेर समेत नामको खोजी भइरहेको छ । महाहुण्डरी, घुम्र हुण्डरी, बवण्डर लगायत नाम सुझाव सङ्कलनबाट आएको विज्ञहरुले बताए । स्मल अर्थ नेपालमा अध्येता नामीहाङ किराँतले आफूहरूको तर्फबाट दिइने रिपोर्ट दिइसकेको उल्लेख गर्नुभयो । “अब ड्रोनको तस्बिर तथा भू–उपग्रहका तस्बिर विश्लेषणको काम विभागले गरिरहेको छ,” किराँतले थप्नुभयो, “नामबारे भने विभागले नै टुङ्गो लगाउँछ ।”

वैशाखभित्र अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने तयारी रहेको उहाँको भनाइ थियो । चितवन राष्ट्रिय निकुञ्ज हुँदै गएको टोर्नाडोको भू–उपग्रहबाट उपलब्ध तस्बिरबाट मात्र अध्ययन भएको छ । 

संरक्षित जङ्गल भएका कारण त्यो क्षेत्रमा जान कठिन रहेको अर्का अध्येता पियुष दाहालले बताउनुभयो । पोखरामा उत्पन्न भएर चितवन पर्सा हुँदै टोर्नाडोले बारामा उग्र विनास गरेको थियो । सो क्रममा २९ जनाले ज्यान गुमाएका थिए ।

नेपालकै इतिहासमा पहिलो पटक आएको टोर्नाडोको नाम त्यतिकै राख्न नसकिने वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठ बताउनुहुन्छ । “हचुवाका भरमा नाम राखिनुहुन्न, यसका हरेक अवयवको सम्बोधन हुनेगरी नाम राख्नुपर्छ,” श्रेष्ठले थप्नुभयो, “सुझावमा परेका नाम त्यति सन्तोषजनक छैनन् ।” पृथ्वी, पानी, हावा, बादल, असिना, चट्याङ आदिको उच्च रूप नै टोर्नाडो हो । 

उहाँका अनुसार नामकै विशेष पहल भएका छैनन् । भुमरी वा हुण्डरीमा हावाको मात्रा बढी हुने तर टोर्नाडोमा आकाश हुँदै तल झर्ने बादल, असिना, पानीको आद्रता, हुरीको उच्चकोटीको स्वरूप रहने गर्छ । 

नेपाली भाषा तथा स्थानीय भाषाविज्ञसँगै मौसम विज्ञको संयुक्त पहल नाम राख्नका लागि हुनुपर्ने उहाँले सुझाउनुभयो । घरी टेडोमेडो र घरी चक्रका रूपमा अघि बढेको टोर्नाडोको तुलनात्मक अध्ययन सुरु गरिएको जानकारी उहाँले दिनुभयो । 

गोरखापत्र दैनिकका अनुसार, टोर्नाडोले बाराको फेटा गाउँपालिकामा बढी क्षति गरेको थियो । ढलानको घर, पिलर नभएको गारोले बनेको घर र कच्ची घर मिसिएको वस्ती भएकाले बढी क्षति भएको विज्ञहरूले बताउनुभयो । प्रारम्भिक अनुमान अनुसार टोर्नाडोले ९० किलोमिटर लामो बाटो बनाएको छ ।

ताजा खबर