भूमिगत रुपमा चल्छ पुरस्कार व्यवसाय

२०७६ बैशाख २५ बुधबार ०७:३२:०० मा प्रकाशित

काठमाडौं । नेपालमा पुरस्कार लिनेदिने व्यवसाय नै छ । खासगरी साहित्यिक क्षेत्रमा यस्तो व्यवसाय हुने गरेको बताइन्छ । तर, पछिल्ला वर्षहरुमा पत्रकारहरुले पाउने पुरस्कार विवादास्पद हुन थालेको छ ।

 

खासगरी कतिपय पुरस्कारले दिने पात्र र पुरस्कार दुवैको गरिमा घटाएको टिप्पणी हुने गरेको छ ।

 

सञ्चार मन्त्रालय, प्रेस काउन्सिल, नेपाल पत्रकार महासंघसहित अन्य विभिन्न संस्थाहरुले अनेक रुपरंगका पुरस्कार बाँड्ने गरेका छन् ।

 

यस्ता पुरस्कार पत्रकारको पेसागत क्षमतालाई हेरेर भन्दा डिलिङ–सेटिङकै आधारमा दिने गरिएको आरोप लाग्ने गरेको छ ।

 

यस्तो आरोपलाई कतिपय प्रकरणले पुष्टि पनि गर्ने गरेको छ । पुरस्कारलाई लेनदेनको विषय बनाइनाले यस्तो विवाद आउने गरेको छ ।

 

क्रान्तिकारी, लोकतान्त्रिक जोसुकै छनौट समितिमा आए पनि तथा पुरस्कार छनौट गर्ने पात्र बदलिए पनि प्रवृत्ति भने बदलिएको छैन । सीमित राम्रा मान्छेले पुरस्कार पाए भने उल्टै उसको गरिमा गिर्ने गरेको छ ।

 

हरेक वर्ष पुरस्कार छनौट गर्नेहरु स्वतन्त्र रुपमा नभएर उसले बनिबनाउ सेटिङबाट मान्छेको मूल्यांकन गर्छन् । कुनै न कुनै धन्दा र स्वार्थसँग जोडिएका कारण उनीहरु निश्चित फ्रेमबाट वाहिर निस्कन सक्दैनन्  ।

 

राज्यको एउटा निकायले एकपटक सम्मान या पुरस्कार दिएपछि अर्काे निकायले दोहो¥याउँछ । पुरस्कार, नियुक्ति दाहो¥याएर एकै व्यक्तिलाई दिइन्छ । दिने र लिनेलाई यसमा लाज पनि लाग्दैन । दिने र लिनेहरु एकअर्कालाई बधाइ दिन्छन । खुशी साटासाट गर्छन । स्वाभिमानी, शब्द र कर्मसँग जोडिएका, देशलाई नै हल्लाउने खोजी पत्रकारिता गर्ने पत्रकारहरु कुनामा बसेर व्यंग्य उडाउँछन् ।

 

झण्डै तीन दशकदेखि पत्रकारिता गर्ने सिद्धहस्त पत्रकार राजकुमार रेग्मीले ‘सेटिङ–डिलिङ’ मा दिइने पुरस्कार लिएर बेइज्जतीमात्र हुने भएकाले आफूले त्यस्तो पुरस्कार नलिने घोषणा उहिले नै गरेका छन् ।

 

अर्का सिद्धहस्त श्रमजीवी पत्रकार कुसुम भट्टराईले आफ्नो फेसबुक वालमा लेखेका छन्,  आखिर हामीले पनि २८ वर्षदेखि व्यावसायिक पत्रकारिता गर्दै आएका हौं । ज्ञानेन्द्रको शासनकालमा पक्राउ परेर महेन्द्र पुलिस क्लबमा रात काटेकै हौं । माइतीघरमा मण्डलामा प्रहरीको डण्डा खाएकै हौं ।

 

तर, हामीजस्ता लोकतन्त्रबादी श्रमजीवी पत्रकार राज्यका सुविधाको छेउसम्म पनि पुग्न नसक्ने, तर हिजोका हण्डीधारीहरुको चाहिँ जुनसुकै शासनकालमा मान मनितो हुने चलन कहिलेसम्म ? 

 

कुसुम भट्टराईले उठाएको यो प्रश्न पत्रकारिता क्षेत्रमा मात्र लागू नभएर अन्य सबै क्षेत्रका लागि सान्दर्भिक देखिन्छ ।

झिल्को डटकमका अनुसार, समाजका विभिन्न फाँटमा भूमिगत रुपमा पुरस्कारको विकृत खेती भइरहेको समाचार मिडियामा आउने गरेको छ । तर, मिडिया क्षेत्रमै पुरस्कार व्यवसाय चल्न थालेपछि अन्य फाँटको पुरस्कार व्यवसाय ओझेलमा पर्न थालेको छ ।

ताजा खबर