अख्तियारका पूर्व प्रमुख बस्न्यातको सम्पत्तिको स्रोत खोज्दै सरकार

२०७६ बैशाख २३ सोमबार १७:०२:०० मा प्रकाशित

काठमाडौं । बालुवाटारको जग्गा प्रकरणपछि चर्चामा आएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातको सम्पत्ति कति छ भनेर थाहा पाउन एउटा अनुसन्धान टोली नै आवश्यक पर्ने देखिन्छ । उमेरले आफ्नी साख्यै बहिनीभन्दा कान्छो देखिने नागरिकता प्रमाण पत्र र आयातित शैक्षिक प्रमाण पत्रको कारण विवादमा आईरहने बस्न्यातले आर्जन गरेको अकूत सम्पत्तिको स्रोत खोज्न सरकारको एउटा निकायले विशेष अनुसन्धान टोली नै बनाउन लागेको बुझिएको छ ।

६ रोपनी कम्पाउन्डमा घर

जानकार सूत्रका अनुसार, काठमाडौंको बत्तिसपुतलीमा ६ रोपनी क्षेत्रफलमा स्वीमीङपुल सहितको सुविधा जुटाएर बसेका छन् बस्न्यात । उनको भव्य बंगलामा कुनै सम्राटको भन्दा सुविधाहरुको कमी नरहेको बताईन्छ । 

म्यानपावर व्यवसायी भीम रोकाको नाममा लाजिम्पाटस्थित ग्याङजोङ होटल तीनवर्ष अघि दुई अर्ब १३ करोडमा खरिद गरेका थिए बस्न्यातले । उनको रोयल क्यासिनोमा ३० प्रतिशत शेयर छ । तरुण साप्ताहिकको समाचार अनुसार, नारायणहिटी दरबार संग्राहलयको उत्तरढोकामा रहेको पहिलेको टुकुचे थकाली भएको घरजग्गा पनि बस्न्यातकै स्वामित्वमा छ । 

त्यसैगरी एनसेलले सरकारलाई तिर्नुपर्ने आय कर कम गराउन पर्दापछाडिबाट महत्वपूर्ण भूमिका निर्वाह गरेका बस्न्यातलाई त्यहाँबाट पनि उल्लेख्य लाभ मिलेको समाचार सूत्रले बताएको छ ।

  बस्न्यातको सम्पत्तिको विवरण

१. हाल हिमालय होटल नामकरण गरिएको होटलमा उपराष्टपति नन्दकिशोर पुनका छोरा दीपेश पुन,गृहमन्त्री रामबहादुर थापाका छोरा आशीष थापा र दीप बस्न्यातका छोरा  कमल बस्न्यात सञ्चालक ।
२. काठमाडौं मण्डिखाटारमा ९ रोपनी कम्पाउन्डको घर ।
 .बूढानिलकण्ठको मूल सडकमै जोडिएको आफ्नो ३ दशमलव ५ रोपनीमा त्यति नै जग्गा थपेर होटल खोल्ने योजना ।
४. ललितपुर भैंसेपाटीमा ७ रोपनी जग्गा ।
५. नगरकोटमा ८५ रोपनी जग्गा ।
६. उदयपुरको गाईघाट बजारमै सुविधासम्पन्न घरसहित ३ विगाह जग्गा । मेडिसिटी र चावहिलको ओम अस्पतालमा ठूलो आर्थीक लगानी । 
७. आठ करोड मूल्य पर्ने मर्सिडिज बेञ्ज कार,९० लाखको बिएमडव्ल्यू मोटर साईकल सहितका चारवटा गाडीहरु ।

 साथै नक्शाल ब्याङक्वेट छोरा कमल र ज्वाँईं प्रज्वल अधिकारी र मनोज सुवेदीका नाममा । कर,राजश्व,भन्सार,मालपोत जस्ता कार्यालयमा आफैंले गरेको हालीमुहाली पछि कार्वाहीमा पर्ने सम्भावनालाई बन्द गर्न पनि बस्न्यातले अख्तियारको मुखिया रहँदा सबै दस्तावेज आफू अनुकूल बनाउन कुनै कसर नराखेको जानकार सूत्रहरु बताउँछन् । 

ताजा खबर